काठमाडौं- सिन्धुलीकी २१ वर्षीया मैया सारु मगरको ढाड उनको उमेर १४ वर्ष हुँदादेखि विस्तारै बांगिन थाल्यो। त्यो बेला उनले खासै याद गरिनन्। तर ढाड बांगिने क्रम रोकिएन। ढाड बांगिदै कुप्रो पर्न थाल्यो। ढाड कुप्रिने मात्र नभई उनलाई दुखाइ हुन थाल्यो। विस्तारै दुखाइ बढ्दै गयो। कहिलेकाँही त सास फेर्न पनि समस्या हुन थाल्यो उनलाई।
केही साताअघि उनको ढाड खप्नै नसक्ने गरी दुख्न थाल्यो। उनलाई हिड्न समस्या हुन थाल्यो। दुखाइ सहन नसकेपछि उनी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगिन्। सेन्टरमा उनको परीक्षण भयो।
त्यसपछि उनलाई अस्पतालमा भर्ना गरियो। ट्रमा सेन्टरका सिनियर कन्सलटेन्ट अर्थोपेडिक सर्जन तथा स्पाइन सर्जन डा राजेश चौधरीको नेतृत्वमा मैयाको उपचार सुरु भयो। उनको शल्यक्रिया करिब आठ घण्टा चल्यो।
मैयाको शल्यक्रियाको नेतृत्व गरेका चौधरीले उनको उपचार प्रक्रिया निकै जटिल भएपनि सफल भएको बताए। ‘यो शल्यक्रिया सकिन करिब ८ घण्टा लाग्यो। यो सामान्य खालको शल्यक्रिया थिएन। यसमा जोखिम धेरै थिए।’
डा चौधरीका अनुसार मैयाको शल्यक्रियामा पक्षघात हुन सक्ने र ज्यानै जान सक्ने समेत जटिलता थिए। 'सोमबार भएको मैयाको जटिल शल्यक्रिया सफल भयो। यो शल्यक्रियामा बांगिएका, घुमेका हड्डीहरु विभिन्न रडद्धारा सिधा गरिएको छ। यो सामान्य खालको शल्यक्रिया होइन,' डा चौधरीले भने।
सानो उमेरदेखि बांगिएको ढाड ठिक हुने भएपछि मैयाले खुशी व्यक्त गरिन्। ‘१४ वर्षको उमेरमा साथीहरुले देखाएपछि ढाड बांगिएको थाहा पाएँ। अहिले मेरो अपरेसन भयो। म एकदम खुशी छु।’ हाल मैयाको स्वास्थ्य अवस्था सामान्य छ। यद्यपि शल्यक्रियाको करिब दुई सातासम्म भने उनलाई दुखाइ हुने डा चौधरीले बताए। उनका अनुसार मैयाले अब तीन महिनासम्म निहुरिने, झुक्ने, भारी सामान उचाल्नेलगायतका काम गर्न मिल्दैन।
राष्ट्रिय ट्रमा सेन्टरमा यस खालको जटिल शल्यक्रिया भएको यो पहिलो पटक भएको डा चौधरीको भनाइ छ।उनले भने, ‘मुख्य त यसमा पोस्ट अपरेटिभ केयर नै हो। अपरेसनपछि बिरामीको निकै हेरचाह गर्नुपर्छ। तीन महिनासम्म सावधानीपूर्वक हेरचाह गरियो भने केही समस्या हुँदैन।’
स्कोलिओसिस भनेको कुप्रिने रोग हो। यसमा ढाड अर्थात् मेरुदण्ड बांगिन्छ। सुरुवाती चरणमै यो समस्या पत्ता लगाउन सके उपचार पनि सहज हुने उनले बताए। ‘जति ढाड बांगिदै गयो मान्छे उति नै कुप्रिँदै जान्छ। त्यसैले जति छिटो उपचार हुन्छ, ढाडको बांगिने क्रम रोक्न सकिन्छ,’ उनले भने। यस किसिमको समस्या लिएर आउने बिरामीको उपचार अब ट्रमा सेन्टरमै गर्न सकिने उनले बताए।