काठमाडौं- एक सातासम्म पनि खोकी निको नभएपछि वीरगञ्जका ३० वर्षीय एक युवा नारायणी अस्पतालमा पुगे। उनको कोरोना परीक्षण भयो र पुष्टि पनि।
उनको फोक्सोमा कडा खालको निमोनिया नै भइसकेको थियो। कडा खालको निमोनिया देखिएपछि ती युवा काठमाडौंको एक अस्पतालमा हाल उपचाररत छन्।
ट्राभल हिस्ट्री बुझ्दा उनी करिब दुई साता अघि भारतको कोलकत्ताबाट नेपाल आएका थिए। भारतबाट आए लगत्तै खोकी लाग्ने समस्याले उनलाई सताउन थाल्यो। खोकी निको नभएपछि मात्र उनी वीरगञ्जको नारायणी अस्पतालमा पुगेका थिए।
उनी मात्र होइन भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमणसँगै त्यसका कारण कडा खालको निमोनिया पनि देखिएको छ। नारायणी अस्पतालका डा निरज सिंहले भारतबाट आउने नेपालीहरुमा यस किसिमको समस्या देखिने गरेको बताए।
भारतमा देखिन थालेको कोरोना संक्रमण नयाँ प्रजातिको हो वा पुरानै हो भन्ने यकिन भइसकेको छैन। तर भारतबाट नेपाल आउनेहरुमा पनि कडा खालको निमोनिया देखिनुले पनि यो नयाँ भाइरस भित्रिएको हो की भन्ने उनको आशंका छ।
उनले भने, ‘भारतमा नयाँ प्रजातिको कोरोना संक्रमण हो वा होइन तर यसरी भारतबाटै आएका नेपालीहरुमा कडा निमोनिया देखिनु नयाँ भाइरस नेपालमा भित्रिन लागेको हो कि भन्ने हामीलाई लागेको छ।’
डा सिंहका अनुसार अहिले भारतीय सिमा नाकामा रहेको वीरगञ्ज लगायतका क्षेत्रमा कोरोना संक्रमणको दर कम नै छ। तर, भारतमा संक्रमण बढ्दै जाँदा होलीपछि भारतको संक्रमण नेपालमा प्रवेश गर्ने जोखिम उच्च भएको उनले बताए। भारतमा देखिएको कोरोना संक्रमण नेपालमा प्रवेश गर्न नदिन सरकारले होली पर्वलाई लक्षित गरी सिमा नाकामा विशेष स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उनको जोड छ।
‘होलीको माहोलले भारतसँग सिमा जोडिएका जिल्लाहरुमा संक्रमण बढ्न सक्छ जस्तो लाग्छ,’ उनले भने, ‘भारतमा देखिएको संक्रमण नेपालमा भित्रिन नदिन सरकारले होली पर्वलाई लक्षित गरी सिमा नाकामा कडाइ गर्नुपर्छ। शंकास्पद व्यक्तिलाई नेपाल भित्रिएपछि क्वारेन्टाइनमा राख्नुपर्छ।’
सुदूरपश्चिम प्रदेशमा पनि भारतबाट नेपाल फर्कनेको संख्या बढ्दै गएपछि नाकामा निगरानी बढाउन सुरु गरिएको छ।
उपत्यकाका अस्पतालमा भर्ना भएका संक्रमितमा पनि कडा खालको नियमोनिया देखिएको बताइएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलका अनुसार केही दिन अघि काठमाडौंको एक होटलमा ५० जनाको जमघट हुँदा त्यहाँ सहभागि भएकामध्ये ४० जनाले पिसिआर परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको थियो। संक्रमण देखिएकामध्ये ७ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए।
'५ घण्टा एउटा जमघटनमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन,' उनले भने, 'यसले कोरोना भाइरसको संक्रमण फरक ढंगले हुँदैछ की भन्ने आशंका बढाएको छ। यो भाइरस कति संक्रामक किसिमको होला भनेर चिन्ता लिन जरुरी छ।'
बढ्दै संक्रमितको संख्या
छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको जोखिम विस्तारै बढ्दै गएको पुष्टि गर्छ। जोखिम मात्र होइन, संक्रमितको संख्या पनि विस्तारै बढ्दो क्रममा छ।
पछिल्लो नौ दिनमा मात्र ८ सय ७९ कोरोना संक्रमित थपिएका छन्। हाल दैनिकजसो १ सयको हाराहारीमा संक्रमित भेटिन थालेको छ। सोमबार मात्रै १ सय ५० जनामा कोरोना संक्रमण फेला परेको छ।
चैत १ मा ५३, चैत २ मा ७९, चैत ३ मा ११४, चैत ४ मा ९४, चैतमा ५ मा १०७, चैत ६ मा १२५, चैत ७ मा ७९ र चैत ८ मा ७७ जना कोरोना संक्रमित भेटिएका छन्।
विज्ञ भन्छन्– नेपालमा फेरि पनि महामारी फैलिन सक्छ, बलियो तयारी चाहिन्छ
नेपालमा फेरि पनि कोरोनाले महामारीको रुप लिनेसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन्। भारतमा संक्रमणको दर बढ्दै जाँदा नेपाल पनि यसबाट अछुतो रहन नसक्ने उनीहरुको तर्क छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी भन्छन् ‘यो सरुवा रोग हो। भारत र नेपालको सिमाना खुला छ। जसका कारण दैनिक आउने क्रम बढी नै हुन्छ। त्यसैले अहिले त उच्च जोखिम छ।’
सरकारले भारतसँगको खुला सिमा नाका क्षेत्रमा कडा रुपले निगरानी गर्नुपर्ने उनले बताए। सरकारको फितलो तयारीले पुनः महामारी फैलिने हो की भन्ने उनले चिन्ता व्यक्त गरे।
उनले भने, ‘सिमा नाकामा डाक्टर सहितको टोली राख्नुपर्छ। आइसोलेनसमा राख्न दिने अधिकार डाक्टरलाई दिनुपर्छ।’
संक्रामक रोग नियन्त्रण ऐन संशोधन गर्न उनको सुझाव छ। समय सापेक्ष र आवश्यकता अनुसार ऐन संशोधन गर्नुपर्नेमा उनको जोड छ। उनका अनुसार जिल्लाहरुमा रहेका प्रयोगशालाहरुलाई पुनः सक्रिय बनाउनुपर्छ।
क्वारेन्टाइनलाई प्रभावकारी रुपमा लागू गर्न सके पनि संक्रमणको जोखिम धेरै हदसम्म कम हुने उनले बताए।
जोखिम नियन्त्रणका लागि सरकारको तयारी
भारतमा संक्रमणको दर बढ्न थालेपछि भारतका विभिन्न प्रान्त तथा केही सहरहरुमा लकडाउन तथा रात्रीकालीन कफ्र्यु लगाउन थालिएको छ। तर ती प्रान्तमा रहेका नेपालीहरु स्वदेश फर्किदा उनीहरुसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जोखिम पनि उत्तिकै छ।
जोखिमलाई कम गर्न सिमा नाकामा निगरानी बढाउने निर्णय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताए। भारतबाट नेपालमा कोरोना नफैलियोस् भनेर सिमा नाकाहरुमा ज्वरो तथा एन्टिजेन परीक्षण गरिने उनले बताए।
उनले भने, ‘नेपाल प्रवेश गर्ने नाकाहरुमा पहिले खटाएका कर्मचारीहरु छन्। सम्भव हुने ठाउँसम्म कोभिड परीक्षण गर्दा पोजेटिभ आए उहाँहरुको अवस्था अनुसार स्वास्थ्य संस्थामा राख्ने व्यवस्था गरेका छौँ।’
एन्टिजेटन पोजेटिभ आएका व्यक्तिहरुलाई उपचार र आवश्यक व्यवस्थापनका लागि नजिककैको अस्पतालमा व्यवस्थापन गर्न पनि निर्देशन दिइसकेको उनले बताए। मन्त्रालयले जोखिमलाई मध्यनजर गरी बाहिरबाट नेपाल भित्रनेहरुलाई १० दिन क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेको छ।
अवस्था हेरेर अन्य तयारीहरु थालिने उनले बताए। अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको उनले जानकारी दिए।
उनले जोखिम फेरि पनि बढ्न सक्ने भन्दै मास्क लगाउने, साबुन पानीले हात धुने तथा भौतिक दुरी कायम राख्न सबैलाई आग्रह गरे।
डा बास्तोला पनि अहिले कम संक्रमित देखिएको भन्दै निर्धक्क भएर हिँड्न नहुने बताउँछन्।
'अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी निर्धक्क हिडिरहेका छौं र जोखिम कम हुँदै गएको महसुस गरेका छौँ, त्यसले जोखिम झनै बढाउन सक्छ,' उनले भने, 'पछिल्लो समय युरोपेली देश मात्र होइन छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको नयाँ अध्याय सुरु भएको छ भन्दा फरक नपर्ला। त्यस्तै असर नेपालमा पनि पर्न सक्छ। त्यसकारण समयमा नै सचेत हुन आवश्यक छ।'