काठमाडौं– स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा समेत नक्कली परिचय दिँदै अनेक धन्दा हुने गरेको पाइएको छ। लाइसेन्स नै नलिई बिरामी जाँच गर्नेदेखि डाक्टर बन्नका लागि गलत प्रक्रिया अपनाएका घटनाहरु बाहिरिने गरेका छन्।
पछिल्लो समय वास्तविक लाइसेन्स भएका डाक्टरलाई समेत थाहै नदिई लाइसेन्स नम्बर र नामको समेत दुरुपयोग हुने गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको एउटा अनुसन्धानबाट खुलेको छ। यही शैली अपनाएर नक्कली डाक्टरको छद्म भेषमा सक्कली काम गर्ने व्यक्ति हुन्, अर्घाखाँचीको मालारानी गाउँपालिका–८ जितेन्द्र पन्थी।
३६ वर्षीय नक्कली डाक्टर जितेन्द्र पन्थी अहिले भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत काठमाडौंले लिखतसम्बन्धी कसुरमा पन्थीलाई जेल चलान गरेको हो।
नक्कली कागजपत्र बनाएर पन्थीले आफूलाई डाक्टर भएको दाबी गर्दै आएका थिए। पन्थीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत फागुन २ गते काठमाडौं महानगरपालिका–३ कान्ती संगमटोलबाट पक्राउ गरेको थियो।
पन्थी पक्राउ परेपछि नक्कली डाक्टरलाई सक्कली डाक्टर नै हो भनेर अधिवक्ता उषा थपलियाले प्रमाणित गरेको पाइएको थियो। नक्कली डाक्टरको कागजातलाई सक्कल भनेर प्रमाणित गरेको पाइएपछि सिआइबीले अधिवक्ता थपलियालाई समेत पक्राउ गरेको थियो। पक्राउ परेका थपलियालाई जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले २ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
‘पन्थीले लाइसेन्स लिएका छैनन्। तर स्वास्थ्य सेवा दिने भनेर आफैंले अस्पताल दर्ता गरेपछि बिना लाइसेन्स काम गर्ने उनको योजना देखिन्छ’
डाक्टरको कागजात, परिचयपत्र लगायत बनाउने कार्यमा संलग्न भएको आरोप थप दुई जना पनि पक्राउ परेका थिए। डाक्टरको नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा ज्ञानबहादुर विश्वकर्मा र संजित महर्जनलाई पक्राउ गरिएको थियो। विश्वकर्मालाई १ लाख ५ हजार र महर्जनलाई २ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश जिल्ला अदालत काठमाडौंले गरेको छ।
डाक्टरले लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्र (लाइसेन्स)को लागि नक्कली डाक्टर बनेर सिफारिस गरेपछि पन्थी पक्राउ परेका थिए। नेपाल मेडिकल काउन्सिलबाट डाक्टरको स्थायी दर्ता प्रमाणपत्र लिँदा काउन्सिलमा दर्ता भएका चिकित्कसले दस्तखत गरी सिफारिस लिनुपर्ने प्रक्रिया छ।
डाक्टर कृष्ण रिजालले स्थायी दर्ता प्रमाणपत्रका लागि भरेको फारममा गत असोज ६ गते डाक्टर जितेन्द्र शर्माले दस्तखत गरी सिफारिस गरेका थिए। आफ्नो डाक्टर दर्ता नम्बर २३६४ लेखी जितेन्द्रले कृष्णको सिफारिस गरेका थिए।
अनुसन्धानको क्रममा डाक्टरको लाइसेन्स नै नभएका जितेन्द्र पन्थीले जितेन्द्र शर्माको नाममा कृष्णको लाइसेन्सका लागि सिफारिस गरेको पाइएको थियो। साथीभाई र समाजमा आफूलाई प्रतिष्ठित देखाउन नक्कली डाक्टर बनेरै भए पनि सिफारिस गरेको पन्थीको बयान छ।
किर्गिस्तानबाट एमबिबिएस उत्तिर्ण, लाइसेन्स नै नलिई स्वास्थ्य सेवा दिने भन्दै अस्पताल दर्ता
पुर्पक्षका लागि थुनामा पठाइएका पन्थीले जललावाद स्टेट मेडिकल युनिभर्सिटी, किर्गिस्तानबाट सन् २०१८ मा एमबिबिएस उत्तिर्ण गरेको तर नेपाल मेडिकल काउन्सिलबाट अहिलेसम्म लाइसेन्स नलिइएको अनुसन्धानबाट खुलेको थियो।
किर्गिस्तानबाट एमिबिबिएस उत्तिर्ण गरेपछि पन्थी २ वर्ष अघि नेपाल फर्किएका थिए। कृष्ण रिजालले लाइसेन्स लिने बेला पन्थीले आफू समेत डाक्टर भएको र मेडिकल काउन्सिलबाट लाइसेन्स समेत प्राप्त गरेको भन्दै दर्ता नम्बर २३६४ राखी जितेन्द्र शर्माको नामबाट सिफारिस गरेका थिए।
उक्त दर्ता नम्बर भने जोतिन्द्र शर्माको नाममा रहेको अनुसन्धानबाट खुलेको थियो। पन्थीले लाइसेन्सका लागि सिफारिस गरेका रिजाल उनका घरबेटी हुन्।
डाक्टरको लाइसेन्स नै नलिई स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै पन्थीले एउटा अस्पताल कम्पनी रजिष्ट्रार कार्यालयमा समेत दर्ता गरेको सिआइबीको अनुसन्धानमा खुलेको छ।
‘पन्थीले लाइसेन्स लिएका छैनन्। तर स्वास्थ्य सेवा दिने भनेर आफैंले अस्पताल दर्ता गरेपछि बिना लाइसेन्स काम गर्ने उनको योजना देखिन्छ’ सिआइबी स्रोत भन्छ।
पन्थीले दिन्थे वीर अस्पतालको चिकित्सक भएको परिचय
पन्थीले किर्गिस्थानबाट एमबिबिएस उत्तिर्ण गरको बताए पनि नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स नै नलिई डाक्टरको परिचयपत्र बनाउनेदेखि स्ट्याम्पसम्म बनाएर काम गर्ने गरको पाइएको छ।
पन्थीले आफू वीर अस्पातलको चिकित्सक भएको परिचय दिने गरेको अनुसन्धामा खुलेको छ। अर्का प्रतिवादी संजित महर्जनले सञ्चालन गरको पसलमा २ वर्षदेखि पन्थी आउने गरेको र वीर अस्पातलको चिकित्सक भएको भनेर परिचय दिने गरको महर्जनले बयान दिएका छन्।
महर्जनले भनेका छन्, ‘सुरुदेखि नै पन्थी म कहाँ आउँदा वीर अस्पतालको चिकित्सक रहेको कार्ड भिरेर आउने गरेका थिए। आफ्नो परिचय दिँदा समेत वीरको चिकित्सक भएको बताउँथे।’
वीरको चिकित्सकको परिचय बनाउन आउँदा समेत पेन ड्राइभमा वीर अस्पतालको लेटर प्याड, परिचयपत्र लिएर आउने गरेको महर्जनको भनाइ छ। पन्थीले आफू वीरको चिकित्सक भएको बताएपछि उनैले भने बमोजिमको लेटर प्याडदेखि स्ट्याम्पसम्म महर्जन र अर्का प्रतिवादी ज्ञानबहादुर विश्वकर्माले बनाएको बताएका छन्।
‘पन्थीले वीर अस्पतालको डाक्टर भएको परिचय देखाएको तर डकुमेन्ट बनाउनका लागि वीर अस्पतालको पत्र माग गर्दा सबै कर्मचारी नेपाल मेडिकल काउन्सिलको चुनावमा व्यस्त भएको बताए पछि मैले डकुमेन्ट बनाइदिएको हुँ’ महर्जनको बयानमा उल्लेख छ।