काठमाडौं - फार्मेसी पसलको धनी र औषधिको बिक्रि वितरण गर्ने फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायी एकै हुने वा फरक भन्ने विषयको विवाद अझै सुल्झिएको छैन।
औषधिको बिक्रि वितरण अनधिकृत व्यक्तिबाट भइरहेको भन्दै नेपाल फार्मेसी परिषदले फार्मेसीको धनी र फर्मासिस्ट, फार्मेसी सहायक तथा व्यवसायी एकै हुनुपर्ने भन्दै औषधि व्यवस्था विभागलाई पत्र लेखेको पनि एक महिना पुग्न लागेको छ। तर यो विषयमा विभागले हालसम्म कुनै निर्णय गर्न सकेको छैन।
धेरैले औषधि ऐन अनुसार धनी र फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायी फरक नहुँदा औषधिको बिक्रि वितरणमा समस्या आइरहेको बताउँदै आइरहेका छन्। केहीले फार्मेसी पसलको धनी फरक व्यक्ति र औषधि बिक्रि वितरण गर्ने फरक हुनुपर्ने आवाज पनि उठाइरहेका छन्।
नेपाल औषधि व्यवसायी संघले कुनै पनि हालतमा धनी र व्यवसायी एकै व्यक्ति हुन नदिने बताएको छ। संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले फार्मेसी पसलको धनी र व्यवसायी एकै हुने विषयको विपक्षमा रहेको बताएका छन्।
नेपाल फर्मास्युटिकल्स एशोसिएसनका महासचिव ललितमोहन पन्तले धनी र व्यवसायी एक हुने निर्णय विभागले नगरे आन्दोलनको घोषणा गर्न बाध्य हुने बताए। फार्मेसी पेशामा बढ्दो विकृति रोक्न विभागले ठोस कदम चाल्नुपर्नेमा उनको जोड छ।
फार्मेसी पेशामा देखिएको यो विवाद कसरी समाधान गर्ने? स्वास्थ्यखबरले औषधि व्यवस्था विभाग, नेपाल औषधि व्यवसायी संघ र नेपाल फर्मास्युटिकल्स एसोसिएसनका प्रतिनिधिसँग जानकारी दिने प्रयास गरेको छ। उनीहरुले व्यक्त गरेको धारणा उनीहरुकै शब्दमा:
यो विषयमा छलफल हुँदैछ
सन्तोष केसी
वरिष्ठ औषधि व्यवस्थापक, औषधि व्यवस्था विभाग
फार्मेसी सञ्चालन गर्न धनी र व्यवसायी एकै हुनुपर्छ भनेर हामीलाई नेपाल फार्मेसी परिषदले पत्र पनि बुझाएको छ। यो विषयमा हामी छलफल गर्दैछौं। औषधि ऐनमा धनी र व्यवसायी बारे स्पष्ट व्यवस्था छैन। किनभने फर्म दर्ता गर्नुपर्ने र व्यक्ति या फर्म भनिएको छ। त्यो भर्दाको अनुसूची हेर्यौं भने धनीको नाम अनि व्यवसायीको नाम पनि भनेको छ। भन्नुको अर्थ, त्यहाँ पनि धनी र व्यवसायी एउटै हुनुपर्छ भनेर स्पष्ट रुपमा लेखेन।
धेरै अगाडि हाम्रो अभ्यास के थियो भने साझेदारीमा धनी र व्यवसायी एउटै भएर मात्र फार्मेसी सञ्चालन गर्न दिएका थियांै। कसैले साझेदारीमा फर्म गर्यो भने त्यो अवसर त उहाँहरुलाई हुन्छ नै। त्यो हिसाबले गर्न पाउँछन्। तर पछिल्लो समयमा धनी र व्यवसायी फरक हुँदा व्यवसायी उपस्थित नभएको, अनधिकृत व्यक्तिको उपस्थिति लगायत विकृति देखियो। विभागले गरेको पसल अनुगमनमा समेत व्यवसायी अनुपस्थित हुनु मुख्य समस्याको रुपमा छ। यही विकृतिलाई न्यूनीकरण गर्न फार्मेसी परिषदले पनि सल्लाह दिएको छ। हामी छलफलमै छौं। ठोस रुपमा कुनै निर्णय भइसकेको छैन। केही दिनमा हामी निर्णय लिन्छौं।
कुनै पनि हालतमा धनी र व्यवसायी एक हुन दिँदैनौ
मृगेन्द्र मेहर श्रेष्ठ
अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ
व्यवसाय र धनी एउटै हुनै सक्दैन। किनभने मसँग लगानी गर्ने क्षमता छ भने मैले त्यो व्यवसायबाट हात धुन मिल्छ की मिल्दैन? मैले प्लेन किने भने मैले प्लेन पाइलटको नाममा गर्ने भन्ने हुन्छ र? मिल्दै मिल्दैन नी।
अहिले जुन साथीहरुले यो कुरा उठाइरहनु भएको छ, उहाँहरुले यो कुरा बुझ्नु नै भएको छैन। हामी ४७ वर्षदेखि जनताहरुलाई यही व्यवसाय गरेर औषधि उपलब्ध गराइरहेका छौं। अहिले केही २÷४ जनाले यो कुरा उठाउनु त्यति जायज भएन। जसले यो कुरा उठाइरहनु भएको छ, उनीहरु चाँही आफु पसल नबस्ने अनि अरुलाई राखेर धनी व्यवसायी एकै हुनुपर्छ भनीरहेका छन्। त्यो जायज पनि छैन, त्यो समय सान्दर्भिक पनि छैन र औषधि ऐनले पनि दिएको छैन।
ज–जसले यो कुरा उठाइरहेका छन् नी, उहाँहरुले धनी र व्यवसायी एकै भएर पसल खोलेर देखाउनुपर्यो। मन्दिर मैले बनाउने अनि पुजारीको नाममा मन्दिर मैले गर्ने त? यो त हुनै सक्दैन। हामी नेपाल औषधि व्यवसायी संघ यसको विपक्षमा छौं। हामी यो हुनै दिँदैनौ।
यदी फार्मेसी पसलमा धनी र व्यवसायी दुवै छैनन् भने त्यस्ता पसलहरु बन्द हुनैपर्छ। संघले त्यस्ता पसल बन्द गर्न सहयोग पनि गर्छ। ती पसलहरु दर्ता नभएकाहरु हुन्। त्यस्ता पसलहरु बन्द हुनुपर्छ भन्ने हाम्रो पनि मत छ। तर जुन अहिले फर्मासिस्ट साथीले आफ्नो प्रमाण पत्र बिक्रि गर्ने अनि अन्तै जागिर खाने त्यसपछि धनी र व्यवसायी एकै हुनुपर्छ भनेर पनि हुन्छ? यदी आफैँ पसल खोलेर आफैँ फार्मेसी सञ्चालन गर्नुहुन्छ भने खोल्नुस् न हामीले कहाँ रोकेका छौं र?
औषधि पसल खोल्न तालिम लिएका व्यवसायी की फर्मासिस्ट चाहियो। अनधिकृत व्यक्तिले चलाएको छ भने बन्द पनि हुनुपर्छ। यो हाम्रो पनि मान्यता हो। तर फार्मेसी सञ्चालन गर्न धनी र व्यवसायी एकै हुनुपर्छ भन्ने जुन कुरा छ, यो तर्क गलत छ। यो हुनु हुँदैन र हामी मान्दैनौं। यस्ता कुरालाई संघले विरोध गर्छ।
औषधि ऐनले फार्मेसी सञ्चालन गर्न कि तालिम लिएको व्यक्ति हुनुपर्छ की फर्मासिस्ट हुनुपर्छ भनेर किटान नै गरेको छ। ऐनले व्यवसायी र धनी एउटै व्यक्ति हुनुपर्छ भनेर कहाँ बालेको छ र? फर्मासिस्ट साथीहरुले निकालेको कुरा हो यो। यो कुरा निकालेर उहाँहरुले अप्ठ्यारो पार्ने काम गर्नु हुँदैन। त्यसैले औषधि व्यवसायी संघलाई मान्य हुँदैन र हामी गर्न पनि दिँदैनौ। यो बोल्ने बित्तिकै हुने कुरा हो र? यसमा कुनै विवाद छैन। यो स्पष्ट छ। यो मुद्दा पहिले पनि उठेको थियो। उठिरहन्छ। तर यो हुँदैन।
विभागले सही निर्णय नलिए आन्दोलन गर्छौं
ललित मोहन पन्त
महासचिव, नेपाल फर्मास्युटिकल्स एसोसिएसन
फार्मेसी पसलमा धनी र व्यवसायी एकै हुनुपर्ने वा फरक भन्ने विषयको विवादको उपाय भनेको औषधि व्यवस्था विभागले आफ्नो निर्णय सच्याउने हो। विभागले निर्णय सच्याउदैन भने कानूनी उपचार खोज्नुपर्ने हुन्छ। हामी आफ्नो हकहितको सुरक्षाका लागि आन्दोलनको बाटो पनि अपनाउन सक्छांै। यसका विभिन्न बाटोहरु छन्। तर सबैभन्दा सहज उपाय भनेको विभागले धनी र व्यवसायी फरक हुन पाउने भनेर गरेको निर्णय सच्याउनु नै हो।
अहिलेको अवस्थामा हामी विभागसँग समन्वयकारी भूमिका निर्वाह गर्न तयार छौं। विभागले गर्ने निर्णय हाम्रो लागि निकै महत्वपूर्ण हुन्छ। तर नभएको अवस्थामा हामी विकल्प विहीन पनि छैनौं। धनी र व्यवसायी फरक हुँदा धेरै विकृतिहरु बढीरहेका छन्। यो केही व्यापारीहरुका लागि कमाई खाने भाँडो जस्तो पनि भयो।
पहिलो कदम भनेको विभागले सही निर्णय गर्नुपर्छ। आन्दोलनमा जान हामीलाई बाध्य नपारियोस्। हाम्रो यो रहर होइन। त्यसैले फार्मेसी पेशालाई मर्यादित र व्यवस्थित बनाउन विभागले धनी र व्यवसायी एकै हुने निर्णय गर्नु नै पर्छ। फार्मेसी पेशामा बढ्दो विकृति रोक्ने दायित्व र जिम्मेवारी विभागको काँधमा छ।