काठमाडौं - ‘अब औषधि घरमा, १२ प्रतिशतसम्म डिस्काउन्ट’, ‘औषधि अब १० प्रतिशत छुटमा’। औषधिको यस किसिमको विज्ञापन फेसबुक, इस्टाग्राम लगायत सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भेटिन्छन्, त्यो पनि भारी छुटका साथमा।
अनलाइनबाट औषधि बिक्रि वितरणमा एक किसिमको होडबाजी नै चलेको छ। यस किसिमको अनलाइनबाट हुने औषधिको बिक्रि वितरण गैरकानूनी हो। औषधि ऐन २०३५ मा अनलाइन औषधि बिक्रि वितरण बारे कुनै पनि कानूनी व्यवस्था छैन।
गैरकानूनी रुपमा अनलाइनबाट औषधिको बिक्रि वितरण हुने क्रम बढीरहँदा विभागले यसलाई रोक्न सकेको छैन। न त नियमन गर्न सकेको छ।
औषधि ऐनमा अनलाइन फार्मेसी वा औषधि बिक्रि वितरण बारे कुनै स्पष्ट कानूनी व्यवस्था नभएकाले यसको नियमन हुन नसकेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए।
उनी भन्छन्, ‘अनलाइन सम्बन्धी स्पष्ट कानूनी व्यवस्था औषधि ऐनमा छैन। कसैले विभागमा औषधि पसल दर्ता गरेको छ र उनीहरुले आफ्नो सेवा विस्तारका लागि अनलाइन लिन पाउने भन्ने हो। तर त्यो पनि प्रचलित नियम अनुसार दर्ता भएर विद्युतीय कारोबार ऐन अन्तर्गत गर्ने हो।’
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने अनलाइन फार्मेसीलाई बढावा दिएको देखिँदैन। अनलाइनबाट औषधिको बिक्रि वितरण हुँदा यसले फार्मेसी पेशामा विकृति बढाउनुका साथै जनस्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ।
कपितय नियन्त्रित औषधिहरु पनि प्रभावित हुने तथा एन्टीबायोटिकको दुरुपयोप हुने जस्ता विकृति बढ्न सक्ने केसी बताउँछन्।
‘अनलाइनबाट औषधि बिक्रि वितरण हुँदा यस किसिमको विकृति बढ्न सक्छ। गत हप्ता मात्र भारतमा धेरै अनलाइन फार्मेसी बन्द भए। अन्तर्राष्ट्रिय अभ्यसालाई हेर्दा अनलाइनलाई त्यति बढावा दिएको देखिदैन’ उनले भने।
अनलाइनबाट औषधि बिक्रि वितरण गर्ने क्रम बढ्न थालेपछि विभाग बल्ल यस विषयमा सोच्दैछ। सम्बन्धित निकायसँग छलफल गरेर कदम चालिने केसी बताउँछन्।
उनले भने, ‘हामीले पनि यस विषयमा सोच्दैछांै। हाम्रो ऐनमा अनलाइनको कुरा नै छैन। कुराहरु उठिरहेका छन्। सम्बन्धित निकायसँग बसेर छलफल गर्दैछौ।’
अनलाइनबाट हुने औषधि बिक्रि वितरणलाई नियन्त्रण गर्ने की व्यवस्थित भन्नेमा विभाग एक किसिमको अन्यौल पनि छ।
केसी भन्छन्, ‘यसलाई नियन्त्रण गर्ने या व्यवस्थित भन्ने दुई महत्वपूर्ण विषय छन्। प्रेसक्रिप्सन, उनीहरुको फरम्याटस, ट्रान्जिक्सन सबै हेरेर मात्र भयो भने मात्र गर्न मिल्छ। अन्तर्राष्ट्रिय रुपमा अनलाईन फार्मेसीलाई त्यति प्रोत्साहन गरेको देखिदैन। यो विषयमा छलफल हुँदैछ।’