काठमाडौं - काठमाडौंकी २७ वर्षीया ममता (नाम परिवर्तन) असोज पहिलो साता कोरोना संक्रमित भइन्। अस्पतालको आइसोलेसन वार्डमा उपचार गराएकी ममतालाई अक्सिजन वा भेन्टिलेटरको आवश्यकता भने परेको थिएन। निरन्तरको उपचारपछि उनी निको भइन्। तर स्वास्थ्य अवस्था पहिले जस्तो छैन। उनी आफैं अस्वस्थ महसुस गर्छिन्।
ममतालाई श्वास फेर्न गाह्रो हुन्छ। छाती दुख्छ। सानो काम गर्दा पनि शरीर गल्ने, थकाई लाग्ने हुन्छ। यतिसम्मकी लगातार सिढीँ चढ्न पनि मुश्किल पर्छ। छिनमै स्वाँ–स्वाँ भइहाल्छिन्।
छातीमा केही समस्या छ की भन्ने डरले उनले दुई पटकसम्म भिडियो एक्स–रे पनि गराइन्। तर केही समस्या देखिएन। उनी भन्छिन्, ‘मलाई श्वास फेर्न एकदमै गाह्रो हुन्छ। छाती पनि दुख्छ। छातीमा केही असर परेको छ की भनेर दुई पटक एक्स–रे गरें। तर केही समस्या देखिएन।’
उनी पहिले जसरी लगातार व्यायाम गर्न पनि सक्दिनन्। शरीरमा शक्ति नभएजस्तो, कमजोर महसुस गर्छिन्। ‘अहिले सानो काम गर्ने बित्तिकै शरीर गलिहाल्छ। आफूलाई पहिलेकै जस्तो स्वस्थ छु जस्तो लाग्दैन। आफ्नो शरीर आफैंलाई भारी हुन्छ,’ उनले भनिन्।
के हो पोस्ट कोभिड कम्प्लिकेसन र किन हुन्छ?
कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिकेसन भनिन्छ। नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्या देखिने गरेका छन्।
त्रिवि शिक्षण अस्पतालका कोभिड–१९ संयोजक एवं छाती रोग विशेषज्ञ डा सन्तकुमार दास कोरोना भाइरसले फोक्सोका कोषिकाहरुमा क्षति गर्ने भएकाले पोस्ट कोभिडको समस्या देखिने गरेको बताउँछन्।
अक्सिजन धेरै चाहिएका, ढिला अस्पताल पुगेका, भेन्टिलेटरको आवश्यकता परेका व्यक्तिमा फोक्सोका कोषिकाहरु बढी खराब हुने गरेको उनले बताए। त्यही खराब भएका कोषिकाहरु निको हुन समय लाग्ने भएकाले पोस्ट कोभिड कम्प्लिकेसन देखिएको उनी बताउँछन्।
त्रिवि शिक्षण अस्पतालमा कोरोना निको भइसकेका व्यक्तिमा देखिने गरेका विशेषगरी दुई समस्या छन्। एक, कोरोनाले गराउने निमोनिया। दोस्रो, फोक्सोको भाग सुकेर जाने।
कोरोना निको भएको करिब एक महिनासम्म यी दुई समस्या बढी देखिने गरेको डा दास बताउँछन्। उनी भन्छन्, ‘मकहाँ आउने धेरैजसो बिरामी भनेको पोस्ट कोभिड फाइब्रोसिस नै हो। कोभिडले गराउने निमोनिया विस्तारै ठिक भएर जान्छ। फाइब्रोसिस भनेको फोक्सोको भाग सुकेर जाने हो।’ कोरोना निको भएर पनि अक्सिजन लगाइराख्नुपर्ने व्यक्तिमा नै यी दुई समस्या बढी देखिएको उनले बताए।
पोस्ट कोभिडपछि लामो समयसम्म अक्सिजन लिनुपर्ने, श्वासप्रश्वासमा समस्या, हिँडडुल गर्न गाह्रो हुने, लामो समयसम्म खोकी रहने जस्ता समस्या देखिएको उनले बताए। तीन जना व्यक्तिमा त झन् पोस्ट कोभिड कार्डियोमायोप्याथी अर्थात् मुटु कमजोर हुने समस्या समेत देखिएको उनले सुनाए।
अक्सिजनको व्यवस्था र श्वासप्रश्वासको काम गर्ने फोक्सोमै कोरोनाले असर गर्ने भएकाले दीर्घकालीन समस्या देखिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा अनुप बास्तोला बताउँछन्।
शरीरमा अक्सिजनको कमी भएपछि श्वासप्रश्वास बढेको जस्तो हुने, थकाई धेरै लाग्ने, मुटुको चाल बढ्ने, एकाग्रता हुन नसक्ने जस्ता समस्या देखिने गरेको उनले बताए। उनले भने, ‘अक्सिजनको व्यवस्था गर्ने काम फोक्सोको हो। तर फोक्सोमै असर गरेपछि शरीरमा यस किसिमको समस्या देखिन्छ।’
शुक्रराज अस्पतालबाट निको भएर जाने व्यक्तिहरुमा पनि पोस्ट कोभिड समस्या देखिएको छ। शुक्रराज अस्पतालबाट निको भएर गएका संक्रमितमा यस किसिमका समस्या देखिने गरेका छन्ः
– खोकी लाग्ने
– छाती दुख्ने
– थकान हुने
– श्वासप्रश्वासमा समस्या
– मांसपेसीहरु दुख्ने
– मुटु धकधक हुने
– गन्ध तथा स्वाद थाहा नपाउने
– शरीर झम्झमाउने
– निद्रा नलाग्ने
– आत्तिने, डराउने
– एकाग्रता हुन नसक्ने
– केहीमा कपाल झर्ने
शुक्रराज अस्पतालमा यी समस्या देखिएका धेरैजसो बिरामी सिकिस्त खालका, अक्सिजन, आइसियु तथा भेन्टिलेटरको आवश्यक परेका संक्रमित छन्।
सिकिस्त भएर भर्ना भएका संक्रमितहरुमा निको भइसकेपछि पनि श्वासप्रश्वास सम्बन्धी समस्या अहिलेसम्म देखिएको उनको अनुभव छ। यतिसम्मकी उनीहरुलाई हिँडडुल गर्न पनि समस्या हुने गरेको उनी सुनाउँछन्।
डा बास्तोला भन्छन्, ‘केही व्यक्तिहरुलाई निको भइसकेपछि पनि आफ्ना दैनिक क्रियाकलाप गर्न गाह्रो हुने गरेको पाएको छु। पहिले दौडने, व्यायाम गर्नेहरुमा अहिले अलि समस्या छ। विशेषगरी आइसियुमा भर्ना भएका र निमोनिया भएकाहरुमा बढी समस्या देखिएको छ।’
केही वृद्ध व्यक्तिहरुमा त झन् मुटु फेल हुने समस्या पनि देखिएको उनले बताए। निमोनिया भएर डिस्चार्ज भएका केही व्यक्तिलाई त अहिलेसम्म पनि अक्सिजनको आवश्यकता परेको उनले बताए। उनले भने, ‘निमोेनिया भएर डिस्चार्ज भएका व्यक्तिहरुमा छाती दुख्ने लगायत समस्या अझै पनि छ। केहीलाई त अहिलेसम्म पनि अक्सिजन चाहिएको अवस्था छ।’
निको भएर जाने धेरैजसो व्यक्तिहरु सम्पर्कमा नआउने भएकाले कति व्यक्तिलाई यो समस्या देखियो भन्नेबारे यकिन तथ्यांक राख्न नसकिएको उनले बताए। लक्षणविहीन संक्रमितमा कुनै समस्या नदेखिए पनि मध्यम र गम्भीर खालका बिरामीमा मात्र समस्या देखिने गरेको उनले बताए।
कोरोना भाइरसले फोक्सोमा संक्रमण गरेपछि फोक्सोले गर्ने काममा ह्रास आउने उनले बताए। फोक्सो सुन्नियो या रक्तनलीमा रगत जम्यो भने रगतको राम्रोसँग शरीरमा पूर्ति हुन पाउँदैन।
डा बास्तोला यो समस्यालाई यसरी स्पष्ट पार्छन्, ‘निमोनिया भइसकेपछि फोक्सोले राम्रोसँग अक्सिजन साटासाट गर्न सकेन भने शरीर र मस्तिष्कमा अक्सिजनको कमी हुन्छ। शरीरमा अक्सिजन आवश्यक परेपछि मस्तिष्कले श्वासप्रश्वासको दर बढाउँछ। श्वासप्रश्वासको दर बढेपछि शरीरमा स्वाँ–स्वाँ हुने, खानामा अरुचि हुने, थकान लाग्ने जस्ता समस्या हुन्छ।’
कोरोनाले फोक्सोका कोषिकाहरु मरेका कारण, अक्सिजन साटासाट हुन नपाउँदा, राम्रोसँग रगत प्रवाह नहुँदा यस्ता समस्या देखिने उनले बताए।
भाइरसले बिगारिसकेको फोक्सो उपचारले केही हदसम्म ठिक हुन सके पनि पूर्ण रुपमा नहुन सक्छ। डा बास्तोलाका अनुसार गम्भीर खालका संक्रमितमा उपचारको भूमिका भनेको अवस्था थप बिग्रन नदिनु हो। स्वस्थ र युवामा भन्दा वृद्धवृद्धा र दीर्घ रोगीहरुमा कोरोना भाइरसले समस्या झन् गम्भीर बनाइदिने गरेको डा बास्तोला बताउँछन्।
उनी भन्छन्, ‘युवाहरुमा देखिएका यी विभिन्न समस्या सुधार हुने भए पनि वृद्धवृद्धा र दीर्घ रोगीहरु अक्सिजनको भर पर्नुपर्ने हुनसक्छ।’
कति समयसम्म रहन्छ, पोस्ट कोभिड कम्प्लिकेसन
पोस्ट कोभिड कम्प्लिकेसनको अवधि व्यक्तिको अवस्था अनुसार देखिएको छ। यसमा यकिन रुपमा यति समय नै लाग्छ भन्न नसकिए पनि चिकित्सकहरुले आफ्नो अनुभवका आधारमा भन्ने गरेका छन्।
छाती दुख्ने तथा भारी हुने, खोकी लाग्ने, मुटु ढुकढुक गर्ने जस्ता समस्या धेरैमा तीन महिनासम्म हुने डा दासको अनुभव छ। तर श्वास फेर्न गाह्रो हुने समस्या भने ५/६ महिनासम्म लम्बिएको उनले पाएका छन्। पोस्ट कोभिडपछि फाइब्रोसिस (फोक्सो सुकेर जाने) भइसकेका व्यक्तिहरु पनि ६/७ महिनापछि सुधार हुने गरेको उनले बताए।
कोरोनाले फोक्सो बिगारिसकेको हुने भएकाले पोस्ट कोभिडपछि निमोनिया, अन्य भाइरसले संक्रमण गर्ने जोखिम धेरै हुने उनले बताए। यस्तो अवस्थामा अन्य संक्रमण भइहाले गम्भीर स्वास्थ्य समस्या निम्तन सक्ने भएकाले सचेत रहन उनको आग्रह छ।
उनी भन्छन्, ‘पोस्ट कोभिड कम्प्लिकेसन भएका व्यक्तिहरु विशेषगरी फोक्सोको समस्या देखिएकाहरुले निमोनिया र इन्फ्लुएन्जाको खोप अनिवार्य रुपमा लगाउनुपर्छ।’
केही देशमा पोस्ट कोभिडपछि कम्प्लिकेसन एक वर्षसम्म पनि देखिएको डा दासले बताए। उनले भने, ‘तर मैले यहाँ ४/५ महिनासम्म रिकभर भएको देख्छु। फोक्सोमा सुकेका दागहरु रहिरहे पनि बिरामी रिकभर भएको पाएको छु।’
कोरोना निको भइसकेका व्यक्तिहरुले आफूखुसीभन्दा पनि चिकित्सकको सल्लाह अनुसार व्यायामहरु गर्न उनको सुझाव छ। ‘नियमित व्यायाम गर्नुपर्छ। तर आफ्नो फोक्सोको अवस्था हेरेर मात्र गर्नुपर्छ। कुन लेभल कति समयसम्म व्यायाम गर्ने चिकित्सकको सल्लाह अनुसार गर्नुपर्छ। नभए समस्या आउन सक्छ,’ उनले भने। कोरोना संक्रमित भइसकेपछि मांसपेसीहरु कमजोर हुने भएकाले पोषणयुक्त खानपानमा ध्यान दिन पनि उनको आग्रह छ।
पोस्ट कोभिडपछि हुने हृदयघातको लक्षण देखिए, छाती धेरै नै दुखाइ भए, खुट्टा सुन्निए, अचाक्ली टाउको दुखे तत्काल चिकित्सकको परामर्शमा जानुपर्छ। तर हल्का थकाइ लागे, कपाल झरे, कमजोरी महसुस भए सामान्य रुपमा लिन डा बास्तोलाको सुझाव छ।
कोरोना निको भइसकेका व्यक्ति निरन्तर चिकित्सकको सम्पर्कमा रहन आग्रह गर्दै उनी भन्छन्, ‘आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिनुपर्छ। अस्पतालमा बस्दा भएका सुधार र घरमा जाँदा हुनुपर्ने सुधार चिकित्सकले भने अनुसार भयो/भएन व्यक्तिले विचार गर्नैपर्छ। चिकित्सकले फलोअपका लागि बोलाएको दिनमा जानैपर्छ।’
बालबालिकामा एमआइएस–सी
मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम अर्थात् कोभिडपछि बालबालिकामा देखिने एक जटिल अवस्था हो। वैज्ञानिकहरुले यसलाई ‘एमआइस–सी’ को नाम दिएका छन्।
मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोमले कोभिड विरुद्ध बन्ने एन्टिबडीले शरीरमा निम्त्याउने जटिलतालाई बुझाउँछ। यसले मुटु, मिर्गौला, रक्त प्रणाली, पेट लगायत शरीरका विभिन्न प्रणालीमा असर गर्ने कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउँछन्।
यो समस्या भएका बालबालिकामा १ सय ४ डिग्री फरेनहाइटको उच्च ज्वरो आउने, मुटुको धमनी सुन्निन सक्ने, कडा खालको निमोनिया भएर अक्सिजन आवश्यक पर्ने, मिर्गौलामा समस्या देखिन सक्ने, रगतमा प्लेटलेट घट्ने, हेमोग्लोबिन घट्न सक्ने उनले बताए।
कस्ता खालका बालबालिका यसको जोखिममा हुन्छन् भन्ने यकिन नभएको भन्दै उनी भन्छन्, ‘यो समस्या जुनसुकै बच्चामा पनि हुनसक्छ, जसलाई पहिले कोरोना भएको छ।’
कान्ति बाल अस्पतालले माघसम्म यो समस्या भएका २० जना बालबालिकाको उपचार गरेको छ। जसमध्ये एक जनाको मृत्यु भएको छ।
लामो समय उच्च ज्वरो आए, पखाला लागे, पेट दुखे, ओठ र जिब्रो रातो भए, उल्टी गरे, खान मन नगरे तत्काल चिकित्ससँग परामर्श गन उनको सुझाव छ । ‘अस्पताल आउने कुनै बालबालिकालाई ज्वरो सँगसँगै झाडाबान्ता छ भने हामी यो समस्या छ की भनेर पनि शंका गरिहाल्छौं,’ उनले भने।
कोरोना संक्रमित भइसकेका अभिभावक बढी चनाखो हुनुपर्नेमा डा अग्रवाल जोड दिन्छन्। घरपरिवारमा कसैलाई कोरोना देखिएको एक डेढ महिनामा बालबालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिए तत्काल चिकित्सकको सल्लाह लिन उनको सुझाव छ।
उनी भन्छन्, ‘कसैको घरमा कोरोना देखिएको छ र स–साना बालबालिका छन् भने अभिभावक चनाखो हुनुपर्छ।’ उनका अनुसार यो समस्या १९ वर्ष मुनिका बालबालिकामा हुने भए पनि एमआइएस–सी समस्या लिएर आउने बालबालिका ८ देखि १० वर्ष माथिका छन्। कान्तिमा हाल यो लक्षण भएका बालबालिका नआए पनि गएको दुई साताअघिसम्म प्रत्येक दिन दुई जना शकांस्पद बालबालिका भर्ना हुने गर्थे।
सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का अनुसार बालबालिकामा मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम एक यस्तो जटिल अवस्था हो, जसमा शरीरका विभिन्न अंगहरु मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, छाला, आँखा र ग्यास्ट्रोस्टाइनल अगंहरु सुन्निन सक्छ। यसको यकिन कारण नभए पनि यो समस्या भएका बालबालिकामा कोभिड भाइरस पाइएको सिडिसीले उल्लेख गरेको छ।
लक्षण
– उच्च ज्वरो आउनु
– पेट दुख्नु
– बान्ता हुनु
– पखाला लाग्नु
– घाँटी दुख्नु
– थकान महसुस हुनु
– ओठ र जिब्रो रातो हुनु
– खान मन नलाग्नु
– आँखा रातो हुनु
– पिसाबमा रगत देखिनु
यसमा देखिने आपतकालीन चेतावनीका लक्षण पनि विभिन्न छन्। जस्तैः
– श्वासप्रश्वासमा कठिनाइ हुनु
– छातीमा दुखाइ बढ्नु
– ओठ तथा अनुहार निलो हुनु
– गम्भीर खालका पेटको दुखाइ हुनु
अधिकांश बालबालिका अवस्था गम्भीर भएपछि मात्र अस्पताल आउने गरेको उनको अनुभव छ। त्यस्ता बालबालिकाको मृत्यु हुनसक्ने जोखिम धेरै हुने उनले बताए।
सुरुवाती चरणमै निदान गर्न सके यो समस्याले निम्त्याउने जटिलताबाट बालबालिकालाई बचाउन सकिने डा अग्रवालले बताए।