काठमाडौं - सेती प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा शुरू भएको छ । विगत डेढ महिनादेखि कैलाली अस्पतालमा सेवा दिँदै आइरहेका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा. ज्ञानेन्द्र जोशीको नेतृत्वमा अस्पतालमा सेवा शुरु गरिएको हो ।
गत शुक्रबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ४५ वर्षीया महिलाको डाक्टर जोशीको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको जनाइएको छ । कञ्चनपुरकी ४५ वर्षीया विष्नादेवी साउदको रुखबाट लडेका कारण घाँटीको हड्डी भाँचिएर नसा च्यापिएको थियो ।
उनको पछाडी काँटेर नशामा किल्ला लगाएर हड्डी र नसा सिधा पारिएको डाक्टर जोशीले बताए । उनले भने ‘महिलाको शल्यक्रिया नभएको भए उनी हिडन पनि सक्थेनन।’
उनले अहिले महिलालाई हिड्ने बनाएको बताए । कैलाली अस्पतालमा सेवा दिँदै आएका जोशीले एक हप्तादेखि सेतीमा पनि सेवा दिन शुरु गरेका थिए । उनी सुदूरपश्चिम प्रदेशमा आएदेखि हालसम्म १४ जनाको हाडजोर्नी तथा मेरुदण्डको सफल शल्यक्रिया गरिसकेका छन ।
उनले घाँटीदेखि पुच्छरसम्मको मेरुदण्डको शल्यक्रिया गरिने बताए । डाक्टर जोशीले भने ‘मुख्यतः सेती प्रादेशिक अस्पतालमा जनशक्ति, आवश्यक उपकरण अभाव समस्या रहेको छ ।’
उनले अस्पतालले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्न प्रयास गरिरहेको प्रतिक्रिया दिएको बताए । उनले भने ‘शल्यक्रिया गर्दा आवश्यक पर्ने सामाग्री काठमाडौंबाट ल्याउनुपर्ने बाँध्यता रहेको छ ।’
डेढ महिनाअघि यस प्रदेशका मानिस हाडजोर्नी तथा मेरुदण्डको समस्या भए काठमाण्डौं, भारतका विभिन्न सहरहरुमा धाउनुपर्ने बाँध्यता रहेको थियो । डाक्टर जोशीले भने ‘अब अस्पताल, प्रदेश सरकारले पनि सेवालाई थप गुणस्तर बनाउन तर्फ ध्यान दिनुपर्छ ।’ उनले उपचार अभावका कारण यहाँका मानिस अन्यत्र पठाउनुपर्ने बाँध्यताको सृजना कतैबाट नहुनुपर्ने बताए ।