काठमाडौं– नेपालमा बुधबारदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा खोप अभियान शुभारम्भ गरेका थिए।
बुधबारदेखि काठमाडौं उपत्यका सहित ६६ जिल्लाका करिब १२० वटा खोप केन्द्रबाट खोप अभियान सुरु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १२ हजार व्यक्तिलाई खोप लगाउने लक्ष्य रहेको जनाएको छ।
प्रधानमन्त्री ओलीले खोप अभियान शुभारम्भ गरेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारी, डा अनुप बास्तोलाले पहिला खोप लगाएका थिए।
यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि प्रधानमन्त्री ओलीले खोप अभियान शुभारम्भ भएको घोषणा गरेपछि खोप लगाइन सुरु गरिएको थियो । टिचिङ अस्पतालका निर्देशक डा दिनेश काफ्लेले कोभिड विरुद्धको खोप लगाएका थिए
बुधबारदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी तथा एम्बुलेन्स र शवबाहनका चालकहरुलाई खोप दिइएको छ।
खोप अभियानमा उत्साहका साथ सहभागी भएका चिकित्सकहरुले खोप लगाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।