काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा आइतबार मध्यान्ह दुई जना कोभिड–१९ का बिरामी आए। उनीहरु दुवैलाई कोभिड आइसोलेसनमा भर्ना गरियो।
त्यही क्रममा कोभिडका अर्को बिरामी पनि भर्ना गर्नुपर्ने भन्दै आकस्मिक कक्षमा आए। उनको परीक्षण भयो र उनलाई पनि कोभिड आइसोलेसनमै भर्ना गरियो।
करिब एक घण्टाको क्रममा कोभिड वार्डमा भर्ना गर्नुपर्ने तीन जना बिरामी अस्पताल पुगे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा नन कोभिडका बिरामीको उपचार सेवा पनि सुरु गर्न निर्देशन दिएको छ।
अस्पतालले आइतबारदेखि नन कोभिडका बिरामीका लागि आवश्यक ३२ शय्या छुट्याएको छ। यसअघि यी सबै शय्या कोभिड बिरामीका लागि थिए।
नन कोभिडका लागि शय्या छुट्याए पनि अस्पतालमा कोभिडका बिरामीको चाप भने अझै घटेको छैन।
आइतबार पनि एकपछि अर्को गर्दै कोरोना संक्रमित उपचारका लागि अस्पताल आएपछि संक्रमितको व्यवस्थापनमा समस्या देखियो।
कोभिड संक्रमितको व्यवस्थापनमा समस्या देखिएपछि डा अनुप बाँस्तोला अस्पतालका निर्देशक डा सागरराज राजभण्डारीको कार्यकक्षमा पुगे। डा बाँस्तोला त्यही योद्दा हुन्, जो कोरोना विरुद्धको लडाईमा सुरुदेखि नै होमिएका छन्।
निर्देशक राजभण्डारीलाई उनी भन्दै थिए, ‘आइसियुका केही संक्रमितलाई आइसोलेसनमा सिफ्ट गर्न थालेको इमरजेन्सीमा अर्को नयाँ संक्रमित आए। अब राख्नलाई ठाउँ छैन। के गर्ने?’
डा बाँस्तोला वार्डमा बिरामी हेर्दा हेर्दै निर्देशकको कोठामा पुगेका थिए। उनी निलो ड्रेसमै थिए। उनको अनुहार केही हतास देखिन्थ्यो।
उनले फेरी निर्देशक राजभण्डारीलाई भने, ‘तलको वार्ड (नन कोभिडका लागि छुट्याएको) अहिले नै सञ्चालन गर्न अप्ठ्यारो होला जस्तो छ। के गर्ने ?’
‘सञ्चालनमा त ल्याउनै पर्यो डाक्टरसाब’, निर्देशक राजभण्डारी भन्छन्।
डा बाँस्तोला र निर्देशक राजभण्डारी एकछिन त अलमलमै परे। उनीहरुको छलफल र कुरा सुन्दा थाहा हुन्थ्यो, नन कोभिडका लागि शय्या छुट्याउँदा कोभिडको बिरामीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ।
महामारीको सुरुवातदेखि नै कोरोनाको उपचार गर्दै आएको शुक्रराज अस्पताललाई अहिले आएर कोभिडको व्यवस्थापन गर्नु किन समस्या भयो ?
यसको एउटै कारण थियो, ‘कोभिडको चाप रहँदै नन कोभिड बिरामीका लागि पनि सेवा सुरु गर्नु।’
कोभिड बाहेकका नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि शुक्रराज अस्पतालले पनि आइतबारदेखि नन कोभिड बिरामीको उपचार सुरु गर्यो। तर आइतबार अस्पतालको माहोल हेर्दा लाग्छ, नन कोभिड बिरामीको उपचार गर्न शुक्रराज अस्पताल अहिले नै तयार छैनन्।
यस अस्पतालमा अझै पनि कोरोनाका बिरामीहरु उपचारका लागि आइरहेका छन्। स्वास्थ्यखबरको टोलीले अस्पताल परिसरमा भएका गतिविधिलाई करिब डेढ घण्टा नियालेको थियो। डेढ घण्टामा मात्र आइसोलेसनमा भर्ना गर्नुपर्ने कोरोनाका तीन संक्रमित थपिएका थिए। अस्पतालमा अझै पनि कोरोनाका १६ जना बिरामी उपचाररत छन्।
नन कोभिडको उपचार सुरु गर्ने भएपछि शुक्रराज अस्पतालले ३२ शय्या यसको लागि मात्र छुट्याएको छ। कोभिड आइसोलेसनका लागि ५ र आइसियुका लागि २२ गरी २७ शय्या कोभिडका लागि व्यवस्था गरिएको छ।
डा बाँस्तोला र निर्देशक राजभण्डारीका छलफल अझै टुंगिएको थिएन।
डा बाँस्तोला भन्दै थिए, ‘तलबाट तीन जना आइसोलेसनमा पठाए। आइसियुमा पाँच जना तल सार्न लागेका छौं। धेरै अक्सिजन नचाहिने बिरामीलाई आइसियुमा किन राख्ने ? बिरामी आत्तिएर रुन थालिसके।’
डा बाँस्तोलाको कुरा नसकिँदै निर्देशक राजभण्डारीले उल्टै प्रश्न गरे, ‘कसो गरौं त डाक्टरसाब? के गर्दा उत्तम होला त?’
डा बाँस्तोलाले भने,‘यसरी त झनै समस्या पो निम्तिने खतरा देखियो। केही उपाय त निकाल्नै पर्छ।’
निर्देशक राजभण्डारीले कोभिड विशेष अस्पतालको रुपमै सेवा अघि बढाउनेमा जोड नदिएका होइनन्। तर स्वास्थ्य मन्त्रालयको निर्देशन र नन कोभिडको बिरामी मारमा परेको भन्दै सेवा पुनः सुरु गरिएको उनको भनाई छ।
उनले भने, ‘भोलि कोरोनाको सेकेण्ड वेभ आयो र अन्य अस्पतालले लिन मानेन भने के हुन्छ भनेर मैले प्रश्न गर्दा मन्त्रालयले त्यो बेला हामी छुट्टै निर्देशन दिन्छौं। अहिले नन कोभिडको बिरामी हेर्नुस् भन्ने निर्देशनपछि हामीले नन कोभिडको उपचार सुरु गर्यौं।’
कोभिड र नन कोभिड बिरामीको उपचार एकै ठाउँबाट सुरु गर्नु चुनौतीपूर्ण भएको उनी बताउँछन्। अस्पतालको पुरानो भौतिक संरचनाका कारण पनि दुवै बिरामीलाई एकै ठाउँबाट सेवा दिनु सहज छैन। कोभिड र नन कोभिडलाई एकै ठाउँबाट सेवा दिदा स्वास्थ्यकर्मीबाटै बिरामीमा कोरोना सर्ने संभावना हुने उनले बताए।
‘दुवै बिरामीलाई एकै ठाउँबाट सेवा दिनु चुनौतीपूर्ण छ’, उनले भने, ‘भवन पुरानो छ। बेड बढाउन सकिएको छैन। इमरजेन्सी पनि एउटै छ। तैपनि हामी व्यवस्थापन गर्दैछौं।’
आज नै आइसोलेसन भरिसकेकाले भोलि नयाँ संक्रमित आए भर्ना गर्ने ठाउँ नभएको डा बाँस्तोलाले बताए।
उनले भने, ‘इमरजेन्सीमा आउने बिरामीलाई आइसोलेसनमा राख्नुप¥यो। यदी भोलि आइसियुमा नचाहिने मध्यम खालको बिरामीलाई आइसोलेसनमा राख्नुपर्यो भने कहाँ राख्ने? चुनौती छ।’
कोभिड संक्रमित बिरामीको व्यवस्थापन अझै पनि चुनौतीको विषयको भएको उनी सुनाउँछन्। आइसोलेसन वार्ड भरिदा नयाँ संक्रमितको व्यवस्थापन गर्न समस्या हुने उनले बताए।
नन कोभिड बिरामीको पनि सेवा दिने निर्देशनपछि अस्पतालले आइसियुमा काम गर्ने स्वास्थ्यकर्मीलाई कोभिडमै र आइसोलेसनमा यसअघि काम गर्ने जनशक्तिले नन कोभिड वार्डमा काम गर्ने गरी व्यवस्थापन गरेको अस्पतालले जनाएको छ।
कोरोना संक्रमितको उपचारमा सुरुदेखि नै खटिएको देशकै एक मात्र केन्द्रीय सरुवा रोग अस्पताल भौतिक रुपमा पनि आफैं थला परेको छ।
सरकारले तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउने भनेपनि उक्त घोषणा भाषणमै सीमित भएको निर्देशक राजभण्डारी बताउँछन्। यसका लागि हालसम्म आफुहरुले मन्त्रालयबाट कुनै पनि औपचारिक पत्र नपाएको उनले बताए। उनका अनुसार अस्पताल निर्माणका लागि हालसम्म जग्गा व्यवस्थापनको काम समेत अघि बढेको छैन।
उनी भन्छन्, ‘नयाँ सरुवा रोग अस्पताल बनाउने कुरा भाषणमै सीमित छ। न त हामीले औपचारिक रुपमा कागज पाएका छौं। न त जग्गाको नै व्यवस्थापन हुन सकेको छ।’
भविष्यमा नयाँ कुनै संक्रामक रोग नेपाल भित्रिए त्यस विरुद्ध लड्न अस्पतालको संरचनाले साथ नदिने उनको भनाई छ। तीन वर्षदेखि बिरामीको सोध भर्ना समेत नपाएको उनी गुनासो गर्छन्। अस्पतालमा हाल २ सय ७५ जना कर्मचारीहरु छन्।
कोरोनाको जोखिम अझै पनि कम भइनसकेको भन्दै डा बाँस्तोला सावधानी अपनाउन सबैलाई सुझाउँछन्।