काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले गम्भीर खालका बिरामीका लागि अत्यावश्यक मानिएको ‘क’ वर्गको एम्बुलेन्स खरिद गर्दैछ। सेन्टरले बिरामीका लागि चाहिने अत्यावश्यक सुविधा भएको ‘क’ वर्गको एम्बुलेन्स खरिद गर्न लागेको हो।
माघको दोस्रो साताबाट नेपाल आइपुग्ने गरी खरिद प्रक्रिया अघि बढाइएको सेन्टरका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए। खरिद गर्न लागेको उक्त एम्बुलेन्सको मूल्य करिब ९० लाख रुपैयाँ पर्ने उनले जानकारी दिए।
उनले भने, ‘एम्बुलेन्स भन्सारमा आइसक्यो। माघको दोस्रो हप्तासम्म हामीले एम्बुलेन्स सञ्चालनमा ल्याउने गरी खरिद प्रक्रियामा छौं।’
दुई वटा ‘क’ वर्गको एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको निर्देशक पौडेलले बताए। यसका लागि आफुहरुसँग भएको ‘ख’ वर्गको एम्बुलेन्सलाई स्तरोन्नति गर्ने उनको योजना छ। यो सँगै राष्ट्रिय ट्रमा सेन्टरमा एम्बुलेन्सको संख्या तीन पुग्नेछ। जसमध्ये एउटा ‘ग’ वर्गको एम्बुलेन्स छ।
उनले भने, ‘भेन्टिलेटरमा भएका बिरामीलाई अर्को अस्पतालमा सार्न एउटा राम्रो एम्बुलेन्स हामीसँग छैन। अस्पतालको भेन्टिलेटर खोलेर एम्बुलेन्सको भेन्टिलेटरमा राख्ने कुरा हेर्दा सानो लाग्छ। तर यसले ठूलो महत्व राख्छ।’
‘क’ वर्गको एम्बुलेन्समा एक जना पारामेडिक्स हुनुपर्ने एम्बुलेन्स सञ्चालिका निर्देशिकामा उल्लेख छ।
एम्बुलेन्सको आवश्यक पर्ने २० प्रतिशत बिरामीहरुलाई पारामेडिक्स तथा स्वास्थ्यकर्मीको सहायता चाहिने डा पौडेलले बताए। उनका अनुसार बाँकी ८० प्रतिशत बिरामीलाई अस्पताल पुग्नसम्म मात्र एम्बुलेन्सको आवश्यक पर्छ।
सरकारी अस्पतालहरुमा ‘क’ वर्गको एम्बुलेन्स सञ्चालन गर्न सके गम्भीर खालका बिरामीलाई धेरै सहज हुने उनको भनाइ छ।
निर्देशिका अनुसार ‘क’ वर्गको एम्बुलेन्समा राष्ट्रिय आकस्मिक उपचार समन्वय समितिले तोकेको ढाँचामा बाहिर देखिने गरी कम्तीमा दुई तिहाइ भाग रातो, दायाँ बायाँको भाग हरियो र पहेलो रङको प्याटर्नबक्स शैली वा चेसबोड शैलीको हुनुपर्छ।
‘क’ वर्गको एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग गर्ने औषधि, उपकरण र जनशक्ति हुनुपर्ने निर्देशिकाले उल्लेख गरेको छ। ‘क’ वर्गको एम्बुलेन्स चालकले स्वास्थ्य सम्बन्धी आधारभूत तालिम लिएको समेत हुनुपर्छ।
अत्यावश्यक सेवा–सुविधा भएका एम्बुलेन्सलाई ‘क’ वर्गमा, आधारभूत सुविधा भएको एम्बुलेन्सलाई ‘ख’ र सामान्य सुविधा नभएको एम्बुलेन्सलाई ‘ग’ वर्गमा राखिएको छ।
‘क’ वर्गको एम्बुलेन्स मुटुका रोगी र जोखिममा रहेका बिरामीका लागि आवश्यक हुन्छ। ‘ख’ वर्गको मध्यम जोखिममा रहेका बिरामीका लागि र कम जोखिममा रहेका बिरामीका लागि ‘ग’ वर्गको एम्बुलेन्स प्रयोग गर्न सकिन्छ।