काठमाडौं- २०७७ साल वैशाख ३० गते। यो त्यही समय हो, जहाँबाट स्वास्थ्यकर्मीलाई कोरोना भाइरस देखिने शिलशिला सुरु भएको थियो।
आजभन्दा करिब आठ महिनाअघि नेपालमा पहिलो पटक स्वास्थ्यकर्मी संक्रमित भए। वैशाख ३० गते कपिलवस्तुको तौलिहवास्थित एक अस्पतालमा कार्यरत नर्समा पहिलो पटक कोरोना पुष्टि भएको थियो।
त्यसको भोलिपल्टै वैशाख ३१ गते पनि नर्समै कोरोना भेटियो। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना देखिएको थियो। त्यो बेला कोरोनाको संक्रमण मात्र २१ जिल्लामा पुगेको थियो।
नेपालमा पहिलो संक्रमित माघ १० गते भेटिएको थियो। त्यसको करिब तीन महिनापछि नै नेपालमा स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए।
सन् २०२० नेपालको लागि मात्र नभई पुरा विश्वका लागि निकै चुनौतीपूर्ण रह्यो। कोरोना विरुद्धको यो लडाईंमा कयौं स्वास्थ्यकर्मी संक्रमित भए। कयौं स्वास्थ्यकर्मीलाई हामीले गुमायौं पनि।
विभिन्न सुरक्षात्मक सावधानी अपनाउँदा अपनाउँदै पनि देशभरका स्वास्थ्यकर्मी नै असुरक्षित देखिन्छन्। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मी पनि अछुतो रहन सकेनन्।
११ महिनाको यस अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार नाघेको छ। जसमध्ये ७ हजार ६ सय ४० जना स्वास्थ्यकर्मी मात्र छन्। यो दौरान मुलुकले आठ जना स्वास्थ्यकर्मी समेत गुमाउनु पर्यो।
तर, कति चिकित्सक, कति नर्स अनि कति पारामेडिक्स संक्रमित भए भन्ने तथ्यांकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केलाउन आवश्यक ठानेको छैन। मन्त्रालयले एकमुष्ट रुपमै स्वास्थ्यकर्मीको तथ्यांकलाई अध्यावधिक गर्दै आएको छ।
कोरोना संक्रमितको उपचारमा खटिँदा स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुँदै गए। एकै दिन धेरैको संख्यामा स्वास्थ्यकर्मी संक्रमित हुँदा स्वास्थ्य सेवा बन्द नै भएका कयौं उदाहरण हामी सामु छन्।
काठमाडौंमै रहेका विभिन्न ठूला अस्पतालहरुमा स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित हुँदा सेवा प्रवाहमा असर पुग्यो। कतिपय अस्पतालमा त सेवा समेत बन्द गर्ने बाध्यात्मक स्थिति सिर्जना भयो।
विज्ञहरुको तर्क थियो, ‘काम गर्ने शैली र व्यवस्थापन चुस्त नहुँदा नै स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुँदै गए।’
काठमाडौं उपत्यकामै धेरै स्वास्थ्यकर्मी संक्रमित
पुस १५ को तथ्यांक अनुसार काठमाडौं उपत्यकामा मात्र १ लाख २० हजार ८ सय ६६ जना व्यक्ति संक्रमित भए। जसमध्ये ४ हजार ४२ जना त स्वास्थ्यकर्मी मात्र छन्।
कुल संक्रमित स्वास्थ्यकर्मीमध्ये काठमाडौं उपत्यकाकै आधा बढी स्वास्थ्यकर्मी छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै २ हजार ७ सय १ जना स्वास्थ्यकर्मी संक्रमित भए। जसमध्ये दुई जना स्वास्थ्यकर्मीको मृत्यु पनि भयो।
सबैभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित हुने सूचीको दोस्रो नम्बरमा ललितपुर छ। ललितपुरमा ७ सय ८८ र भक्तपुरमा ५ सय ५३ जना स्वास्थ्यकर्मी संक्रमित भए।
काठमाडौंमा २, बाँके, कैलाली, मोरङ, पाल्पा, रुपन्देही र सुर्खेतमा १÷१ जना स्वास्थ्यकर्मीको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।
कुन जिल्लामा कति स्वास्थ्यकर्मी संक्रमित?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७३ जिल्लाका ७ हजार ६ सय ४० जना स्वास्थ्यकर्मी संक्रमित भए। मन्त्रालयका अनुसार मुस्ताङ, डोल्पा र हुम्लाका कुनै पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन्। माथि उल्लेख भए अनुसार सबैभन्दा धेरै काठमाडौं उपत्यकामै बढी स्वास्थ्यकर्मी संक्रमित भए।
अछाममा ५९, अर्घाखाँचीमा २२, बागलुङमा १४, बैतडीमा ५, बझाङमा २०, बाजुरामा १३, बाँकेमा १ सय ६०, बारामा ५१, बर्दियामा ४९, भक्तपुरमा ५ सय ५३, चितवनमा ४ सय ५०, डडेल्धुरामा ८, दैलेखमा १७, दाङमा ६३, दार्चुलामा ६, धादिङमा २३, धनकुटामा ५, धनुषामा ७६, दोलखामा १०, डोटीमा ४, गोरखामा ४, गुल्मीमा १३, इलाममा २५, जाजरकोटमा ८, झापामा ७०, जुम्लामा ७५, कैलालीमा ८१, कालिकोटमा ३, कञ्चनपुरमा ३३, कपिलवस्तुमा ७७, कास्कीमा १ सय ९ जना स्वास्थ्यकर्मी संक्रमित भए।
यस्तै, काठमाडौंमा २ हजार ७ सय १, काभ्रेमा १ सय ८८, खोटाङमा १, ललितपुरमा ७ सय ८८, लमजुङमा १०, महोत्तरीमा २७, मकवानपुरमा ३५, मनाङमा ५, मोरङमा ३ सय ८७, म्याग्दीमा २, नवलपरासी पूर्वमा १९, नवलपरासी पश्चिममा २६, नुवाकोटमा १३, ओखलढुंगामा २, पाँचथरमा ६, पाल्पामा ८३ जना स्वास्थ्यकर्मी संक्रमित भए।
स्वास्थ्यकर्मी संक्रमित हुने जिल्लाहरुमा पर्वतमा १५, पर्सामा १ सय ६३, प्यूठानमा ३५, रामेछापमा १३, रसुवामा १०, रौतहटमा १८, रोल्पामा २, रुकुम पूर्वमा १, रुकुम पश्चिममा ३, रुपन्देहीमा १ सय १९, सल्यानमा ४, सप्तरीमा २१, संखुवासभामा ९, सर्लाहीमा २६, सिन्धुलीमा ४४, सिन्धुपाल्चोकमा ३२, सिरहामा ३०, सोलुखुम्बुमा २, सुनसरीमा ४ सय ६०, स्याङजामा ५, तनहुँमा १९, ताप्लेजुङमा ३ र उदयपुरमा ७ जना छन्।
चुनौतीपूर्ण र शोकमय सन् २०२० : डा लोचन कार्की
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की सन् २०२० स्वास्थ्य क्षेत्रका लागि निकै चुनौतीपूर्ण भएको बताउँछन्। डा कार्की सन् २०२० लाई ‘कोभिड वर्ष’ को नाम दिन्छन्।
चुनौतीसँगै अवसरहरु भएपनि अवसरको सदुपयोग भने गर्न नसकिएको उनी बताँछन्। उनको भाषामा भन्नुपर्दा सरकारले अवसरलाई चिन्न सकेन अनि सदुपयोग पनि गर्न सकेन।
उनी भन्छन्, ‘चुनौतीसँग सँगै अवसर पनि थियो। तर सरकारले ती अवसरहरुलाई जसरी सदुपयोग गर्न सक्थ्यो, गर्न सकेन।’
कोरोनाका कारण थुप्रै स्वास्थ्यकर्मीलाई गुमाउनु परेकाले यो वर्ष शोकमय वर्ष समेत भएको उनको भनाइ छ।
यो वर्षबाट सिक्दै सरकार अघि बढ्नुपर्ने र स्वास्थ्यकर्मीको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने उनी बताउँछन्।
‘कोभिडबाट सरकार सिक्दै अघि बढ्नुपर्छ’, उनले भने, ‘स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउनुपर्छ। उनीहरुको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्छ। मनोबल बढाउनुपर्छ।’
सरकारले आफ्नो कमजोरी सुधार गर्नुपर्छ : डा बाबुराम मरासिनी
कोरोना महामारीपछि अस्पालले दिने सेवा र प्रक्रिया व्यवस्थित र परिवर्तन नहुँदा धेरै स्वास्थ्यकर्मी संक्रमित भएको विज्ञहरुको तर्क छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीका अनुसार कोरोना महामारी र लकडाउनपछि अस्पतालले दिने सेवामा परिवर्तन हुनुपर्ने थियो। तर त्यसो हुन सकेन।
उनले भने, ‘मैले पहिलेदेखि भन्दै आएको थिए कोरोना महामारीपछि अस्पतालले दिने सेवा र शैलीमा परिवर्तन हुनुपर्छ। त्यही कारण यति धेरै संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित हुन पुगे र हामीले गुमायौं पनि।’
स्थानीय, प्रादेशिक र संघीय सरकारबीच समन्वय नहुँदा कोरोनाको व्यवस्थापन प्रभावकारी हुन नसकेको उनी बताउँछन्। नेपालको जनसंख्याको अनुपात अनुसार कोरोना संक्रमितको संख्या धेरै भएको उनले बताए।
उनी भन्छन्, ‘६/७ करोड जनसंख्या भएको थाइल्याण्डमा जम्मा संक्रमित करिब ४ हजार छ। हाम्रो साढे दुई लाख संक्रमित कट्नु साह्रै धेरै हो। प्रति दस हजार जनसंख्यामा यो हे¥यौं भने अति उच्च हुन्छ।’
सरकारले पिसिआर गर्नुपर्नेमा आरडिटी परीक्षण गर्दा पनि संक्रमितको संख्या बढेको उनको भनाई छ। क्वारेन्टाइन र आइसोलेसन पनि सरकारले व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको उनले बताए।
उनले भने, ‘आइसोलेसन र क्वारेन्टाइन साह्रै भद्रगोल भो। पिसिआर गर्ने ठाउँमा आरडिटी ग¥यो। तीनका सरकारबीच समन्वय राम्रो भएन। त्यही भएर कोरोनाको व्यवस्थापन पनि राम्रोसँग हुन सकेन।’
सरकारले आफुले गरेका कामहरुको विश्लेषण गरेर हेर्न आवश्यक रहेको उनले बताए। उनका अनुसार सरकार आफैंले एक पटक किन हामीले राम्रो गर्न सकेनौ भनेर प्रश्न गर्न जरुरी छ।
‘किन हामीले राम्रो गर्न सकेनौं? कस्तौ ग¥यौं? कहाँ के कमजोरी छन्? के के सुधार गर्नुपर्छ भनेर समिति बनाई काम गर्नुपर्छ’, उनले भने।
सरकारले अहिले आफ्ना कमजोरीहरु सुधार गर्न सके भविष्यमा निम्तने यस किसिमको महामारीबाट जोगिन ठुलो मद्दत हुने उनको भनाइ छ।