सञ्जय तुल्श्यान, निर्देशक, टेक्निकल एशोसियट्स सर्भिस
नेपालका अस्पताल तथा स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन कसरी गरिरहेका छन् ?
समग्रमा भन्नु पर्दा नेपालका अधिकांश अस्पताल तथा स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन निकै खराब तरिकाले गरिरहेका छन्, हेलचेक्र्याईं नै गरेका छन् भन्दा पनि फरक नपर्ला। एकाध संस्थाका बाहेक अधिकांशको फोहोर व्यवस्थापन निकै नै अव्यवस्थित छ। रोगको निदान गर्नुपर्ने अस्पताल तथा स्वास्थ्य संस्थाले नै जथाभावी फोहोर फालेर जोखिम निम्त्याइरहेको जस्तो देखिन्छ। अन्य फोहोरको तुलनामा स्वास्थ्यका फोहोर झन् खतरनाक र जोखिमयुक्त हुन्छन्।
किन यस्तो हेलचेक्र्याईं भैरहेको होला ?
पहिलो कुरा त यसमा अस्पतालहरु आफैँ दोषी देखिन्छन्। उनीहरुले अस्पतालको फोहोर वैज्ञानिक तवरले व्यवस्थापन गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बुझ पचाएको जस्तो देखिन्छ। दोस्रो कुरा सरकारले कारवाही नगरेर पनि हो। नियम बनाइएको छ, तर पालना नगर्ने संस्थालाई कारवाही नै नगरी चुप लागेर बस्दा समस्या विकराल बन्दै गएको हो। नीतिनियम मात्र भएर हुँदैन, त्यसको कार्यान्वयन पनि हुनुपर्यो। सरकारले नियम पालना गर्न कडाई नगरी फोहोर व्यवस्थापनमा भएको हेलचेक्र्याईंको समाधान हुन्न।
कसरी व्यवस्थित गर्न सकिएला त अस्पतालको फोहोर ?
पहिलो कुरा त अस्पतालले सरकारी नियमको पूर्ण पालना गर्नुपर्छ। नियमअनुसार र वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेको अस्पतालवाट निस्कने फोहोरलाई छुट्ट्याएर जोखिममुक्त बनाउने हो। अस्पताल तथा स्वास्थ्य संस्थाको फोहोर दुई थरिका हुन्छन्। एकथरि संक्रामक र अर्को असंक्रामक वा सामान्य फोहोर। अस्पतालाट संक्रामक फोहोर १० देखि १५ प्रतिशत निस्कने गर्छ। तर यहाँ अस्पतालहरुले सबै फोहोर एकै ठाँउमा मिसाउँदा शतप्रतिशत फोहोर नै संक्रामक र घातक हुने गर्दछ। अस्पतालको फोहोरलाई व्यवस्थित बनाउन पहिला दुईथरि फोहोरलाई छुट्ट्याउनु ९सेग्रिगेसन गर्नु० पर्छ। यो नै मुख्य कुरा हो। त्यसपछि अटोक्लेभ वा इन्सिनेटरमा राखेर वैज्ञानिक ढंगले डिस्पोज गर्ने हो।
महँगो होला नि त यस्तो व्यवस्थापन र ?
करोडौँ खर्च गरेर अस्पताल निर्माण गरिरहेको अवस्थामा केही लाख रुपियाँ लगानी गरेर फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नु त्यति महंगो होइन। पहिलो कुरा फोहोरको सेग्रिगेसन नै महत्वपूर्ण हो। सेग्रिगेसनका २ भाग छन्। जसमा सुईका लागि छुट्टै र फोहोरका लागि छुट्टै व्यवस्था गर्नुपर्छ। तर यो त्यति महंगो हुँदैंन। फोहोरलाई छुट्ट्याउन अस्पतालमा विभिन्न रंगका बाल्टिन राखिन्छ। त्यसका लागि त्यति धेरै रकम खर्चिनुपर्छ भन्ने छैन। त्यसपछि फाहोरलाई अटोक्लेभमा राखेर जोखिममुक्त बनाउने र इन्सिनेटरले जलाउने हो। यी दुई मेसिनलाई केही खर्च लाग्न सक्छ। तर यो शुरुवाती अवस्थामा मात्र लाग्ने खर्च हो। सेग्रिगेसन पछि फोहोरको परिमाण पनि कम हुन्छ। जम्मा १० देखि १५ प्रतिशत फोहोर मात्र संक्रामक हुन्छ। अरु त महानगरपालिकाको सहयोगमा पनि व्यवस्थापन गर्न सकिन्छ। पाँच सय बेडको अस्पतालको फोहोर व्यवस्थापनका लागि १० लाख जति खर्च लाग्छ। सय बेडलाई तीन लाखजति पर्छ। करोडौँ खर्च गरेर अस्पताल बनाउनेले यति थोरै रकम खर्च गर्न किन डराउने ?
साना अस्पतालले त यी मेसिन खरिद गरेर सञ्चालन गर्न नसक्लान् नि ?
अहिले केही ठुला अस्पतालले आफैँ मेसिन राखेर फोहोर व्यवस्थापन गर्ने तयारी गरेका देखिन्छन्। नेपालमा साना अस्पताल धेरै भएकाले सबैले मेसिन खरीद गरेर जनशक्ति राख्न समस्या पर्ने देखिएको पक्कै हो। यसका लागि सरकारले एउटा केन्द्रीयस्तरको व्यवस्थापन प्लान्ट राख्नुपर्छ। यो विषयमा सरकारले तयारी पनि गरिरहेको छ। यस्तो सेन्टरले निश्चित रकम लिएर ट्रिटमेन्टको काम गर्छ। जसले गर्दा धेरै अस्पतालको फोहोर व्यवस्थापन हुन्छ।। तर अस्पतालले आन्तरिक रुपमा सेग्रिगेसनको काम भने छुटाउनुहुन्न।
सेन्ट्रल ट्रिटमेन्ट प्लान्ट एकातिर अस्पताल अर्कोतिर हुँदा समस्या हुन्न र ?
हुँदैंन। किनभने यस्तो ट्रिटमेन्ट प्लान्टले फोहोर व्यवस्थापन मात्र होइन, अस्पतालवाट फोहोर ढुवानी पनि गर्नेगर्छन। तर यसका लागि निश्चित रकम तिर्नुपर्ने हुन्छ। निजी अस्पताल एसोसियसन पनि यो कुरामा सकारात्मक नै छ। फोहोरलाई प्रतिकिलोका आधारमा शुल्क राखेर व्यवस्थापन गर्न सकिन्छ। सामान्यतया एउटा बेडबाट ० दशमलव ५ केजी फोहोर निस्कन्छ। त्यसमध्ये पनि संक्रामक फोहोर त निकै कम हुन्छ। संक्रामक फोहोर थोरै हुने भएकाले सानो अटोक्लेभ राखेर अस्पताल आफैँले पनि व्यवस्थापन गर्न सक्छन्।