काठमाडौं - गत वैशाखमा उदयपुरकी ११ महिनाकी बालिकालाई उपचारका लागि कान्ति बाल अस्पतालमा ल्याइयो। कोरोना भाइरसको संक्रमणकाे शंका लागेकाले ती बालिकालाई आइसोलेसनमा राखियो। पिसिआर परीक्षणका लागि टेकु पठाइयो।
त्यो बेला कोरोनाको हटस्पट मानिएका जिल्लामध्ये उदयपुर थियो।
अस्पताललाई जे कुराको डर थियो, त्यही भयो। टेकुमा गरिएको पिसिआर परीक्षणले ती बालिकामा कोरोना पोजेटिभ देखायो।
त्यसपछि अस्पतालको माहोल एकाएक तनावपूर्ण हुन पुग्यो। त्यो बेला दिनको करिब दुई बज्दै थियो। उपचारमा खटिएका चिकित्सक, नर्सहरु नै डराउन थाले। आत्तिन थाले।
अस्पतालका सबै कर्मचारी डराइरहेको समयमा अस्पतालको अभिभावको भूमिकामा रहेका निर्देशक डा कृष्णप्रसाद पौडेलले आफूमा डर देखाउनु झन् खतरा हुन्थ्यो। त्यसैले डा पौडेलले त्यतिबेला आफ्नो डरलाई मनभित्रै दबाए। अनि सबैलाई हौसला प्रदान गर्दै काममा जुट्न प्रेरणा दिन थाले।
महोल निकै तनावपूर्ण नै थियो। त्यो माहोल कति तनावपूर्ण थियो भन्ने कुरा निर्देशक डा पौडेल त्यसलाई शब्दमा बयान गर्न सक्दैनन्। किनकी कान्तिमा त्यो बेलासम्म कुनै पनि संक्रमित भेटिएको थिएन।
तर, नेपालमा थोरै संख्यामा संक्रमित भेटिएको र लकडाउनको समयमा अस्पतालमा ती बालिका नै पहिलो संक्रमित भेटिएकी थिइन्।
निर्देशक पौडेल भन्छन्, ‘ती बालिका पोजेटिभ भन्ना साथ यहाँ धेरै जना आतंकित भए। केही स्वास्थ्यकर्मीलाई त मनोपरामर्श नै दिनुपर्ने भयो।’
त्यो समय कान्ति बाल अस्पतालमा कोरोना संक्रमित बालबालिकाको उपचार हुँदैनथ्यो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र नेपाल एपिएफ अस्पतालले मात्र कोरोनाको उपचार गर्दथे। सरकारले पनि संक्रमित भेटिए उपचारका लागि ती अस्पतालमा पठाउनु भनेको थियो।
बालिकामा कोरोना पुष्टि भएपछि निर्देशक डा पौडेलले नेपाल एम्बुलेन्स सेवालाई खबर गरे। ती बालिकालाई उपचारका लागि नेपाल एपिएफ अस्पतालमा पठाउनु पर्ने भयो।
दिउँसो दुई बजेतिर पुष्टि भएको केसलाई व्यवस्थापन गर्दा साँझको सात बजिसकेको थियो।
व्यवस्थापनका क्रममा खटिएका ५ घण्टाको त्यो तनावपूर्ण घटना सम्झदै उनी भन्छन्, ‘ती बालिका नै कान्तिमा भेटिएको पहिलो संक्रमित थियो। त्यही भएर एम्बुलेन्सलाई खबर गर्दा, कर्मचारीलाई शान्त पर्दा र अस्पताल पठाउँदा नै साँझको सात बजिसेको थियो। अहो! त्यो समय। एकातिर बालिकाको व्यवस्थापन गर्नुपर्ने, अर्कोतर्फ हाम्रै कर्मचारीको डरलाई हटाउँदै भरोसा दिलाउनु पर्ने। निकै तनाव भएको थियो।’
उनी फेरी थप्छन्, ‘त्यो बेला तनावपूर्ण वातावरण व्यवस्थापन गर्न निकै समस्या थियो। तर त्यो आतंकपूर्ण वातावरणबाट हामी अहिले मुक्त हुँदैछौ। विस्तारै सहज पनि भइसक्यो।’
रिफर गरेको पहिलो केस वैशाखमा भएपनि कान्ति बाल अस्पतालमा संक्रमितको उपचार हुन थालेको भने भदौ महिनाबाट हो।
अस्पतालको पुराना संरचनाले समस्या, बिरामी बुझ्दैनन्
कोरोना विरुद्धको यो लडाईमा जुदिरहँदा डा पौडेलले एउटा कुराको अनुभव गरे, ‘कोभिड जस्ता महामारी ल्याउन सक्ने संक्रामक रोगका लागि यी भवनहरु उपयुक्त रहेनछन्।’
यस्ता संक्रामक रोगको उपचारका लागि कोठा अनुसारको छुट्टै शौचालय, राम्रोसँग हावाको आवातजावत हुन सक्ने, बिरामी मैत्री खालको भवनको आवश्यक पर्छ। तर अस्पतालको भवन निर्माण गर्दा यी कुनै पनि कुरालाई ध्यान नदिइएको उनी बताउँछन्।
अस्पतालको पुरानो भौतिक संरचनाकै कारण कोभिड र नन् कोभिडका बिरामीलाई एकै ठाउँमा उपचार गर्दा उनले कयौँ समस्याको सामना गर्नुपर्यो।
अस्पतालको पुरानो संरचना भएकै कारण शंकास्पद, कोभिड र नन् कोभिडका लागि विभिन्न सूचनाहरु टाँसे पनि बिरामीहरुले बुझ्न नसकेको उनी सुनाउँछन्।
भन्छन्, ‘वार्डको छेउभन्दा शौचालयहरु टाढा छन्। त्यही भएर यो कोभिड शंकास्पद र कोभिडले प्रयोग गर्ने भनेर शौचालयको ढोकामै लेखेका छौँ। कतिले पढ्न सक्नु भएन। पढ्न सक्नेले बिचार नै गर्दैनन्।’
भीड व्यवस्थापन गर्नु डा पौडेलका लागि अर्को ठुलो चुनौती हो। बिरामीसँगै आउने भिजिटर्सले गर्दा भीड व्यवस्थापन गर्न नसकिएको उनी बताउँछन्।
भीडलाई व्यवस्थापन गर्न अस्पतालले गेटमा माइकिङ गर्ने, एक जना बिरामीको लागि एक जना कुरुवा मात्र जान आग्रह गर्ने, पासको व्यवस्था सबै भए। तर यी सबै प्रभावकारी हुन सकेन। बच्चा बिरामी भएपछि बिरामीसँगै सबै परिवार नै आउने गरेको उनी बताउँछन्।
‘बच्चा बिरामी भएपछि अभिभावकको सेन्टिमेन्ट अर्कै हुने रहेछ’ उनी भन्छन्, ‘एक जना बस्नै मान्दैनन्। भिजिटर्सलाई नियन्त्रण गर्नु सबैभन्दा ठुलो चुनौती भयो।’
यी चुनौतीका बावजुद पनि कान्ति बाल अस्पतालले हालसम्म ७० जना संक्रमित बालबालिकाको उपचार गरेको छ।
अस्पताल सिल अनि बन्द गर्नु परेन
कान्ति बाल अस्पतालमा हालसम्म १ सय ३१ जना स्वास्थ्यकर्मीहरु संक्रमित भए। यो विगत नौ महिनादेखिको तथ्यांक हो। तर एकै पटक धेरै जना स्वास्थ्यकर्मी भने संक्रमित भएनन्। हालसम्म यो अस्पतालले कुनै पनि सेवा सिल अनि बन्द नै गर्नु परेको छैन।
एकै पटक धेरै स्वास्थ्यकर्मी संक्रमित नभएकै कारण अस्पतालको कुनै पनि सेवा हालसम्म सिल गर्नु नपरेको पौडेलको भनाई छ। पिपिईको सही प्रयोग, डफिङ, डिस्पोज गर्ने तरिका, ड्युटी गर्दा अपनाउनुपर्ने तरिका बारे सबै स्वास्थ्यकर्मीलाई तालिम दिइएको उनी बताउँछन्।
उनी भन्छन्, ‘यी तालिम दिइएकाले पनि एकै पटक धेरै जना स्वास्थ्यकर्मी संक्रमित हुनु भएन। त्यही भएर कुनै सेवा बन्द र सिल नै गर्नु परेन। तर ड्युटी मिलाउन चाँही समस्या नै भयो।’
कोरोनामा खटिएका स्वास्थ्यकर्मी सबैको कोरोना बीमा निशुल्क गरिएको, आवश्यक रुपमा पिपिई उपलब्ध गराइएको निर्देशक पौडेलले बताए।
कर्मचारीको ड्युटी मिलाउन सकस
कान्तिमा कोरोना पोजेटिभ नआउँदासम्म कर्मचारीलाई ड्युटीमा खटाउनु निर्देशक पौडेललाई कुनै समस्या थिएन।
सबै जना आफ्नो नियमित कार्य तालिका अनुसार ड्युटी गर्थे अनि घर जान्थे। तर पोजेटिभ देखिन थालेपछि कर्मचारीको ड्युटी नियमितभन्दा फरक तरिकाले व्यवस्थापन गर्नु पर्ने भयो। जुन त्यति सहज थिएन। हतपत्त कोही पनि कोरोनाको उपचारका लागि जान तयार हुन्थेनन्।
ड्युटी मिलाउनकै लागि अस्पतालमा कर्मचारीको आलोपालोको व्यवस्था भयो। बिरामीको उपचारपछि १० दिन क्वारेन्टाइन बस्नुपर्ने लागू भए। विस्तारै संक्रमितको संख्या घट्दै गएपनि क्वारेन्टाइनको अवधि १० दिनबाट पाँच दिनमा पुर्याइएको छ।
उनले भने, ‘कसलाई कताबाट सुरु गर्ने? को डाक्टर ड्युटीमा बस्ने को नबस्ने? कसले राउण्ड गर्ने? भन्ने मिलाउन समस्या थियो।’
चुनौतीमा पनि अवसर
जहाँ समस्या, त्यहाँ समाधान भनेझैँ, जहाँ चुनौती त्यहाँ अवसर पनि हुन्छ। चुनौतीलाई अवसरमा बदल्न सक्ने क्षमता कमै व्यक्तिमा हुन्छ। ती नै व्यक्तिमध्ये डा पौडेल पनि पर्छन, जो चुनौतीमा पनि अवसर खोज्छन्।
चैतमा सरकारले लकडाउन गरेसँगै कान्तिले पनि कोरोनाको व्यवस्थापनका लागि तयारी थालेको थियो। सुरुमा त कसरी सुरु गर्ने? कताबाट सुरु गर्ने भन्ने अलमलमा पनि उनी परे।
उपचार लिन पुगेका शंकास्पद बिरामीलाई अस्पतालले स्पेशल क्याबिनमा राख्न थाल्यो। प्रत्येक कोठामा जोडिएको बाथरुम भएकाले उनीहरुले शंकास्पद बिरामीका लागि स्पेशल क्याबिनमा राख्न थालेको उनी बताउँछन्।
सुरुवाती दिनमा विस्तारै शंकास्पद बिरामीको चाप बढ्न थाल्यो। स्पेशल क्याबिनले मात्र बिरामीको चाप थेग्न सकेन। त्यसपछि अस्पतालले आइसोेलेसन वार्डमा राख्न सुरु गर्यो। त्यो बेला ड्युटी गर्ने नर्स सहित कर्मचारीहरुलाई प्रोत्साहित गर्न निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ।
‘हामी बिरामीको सेवा गर्न भनेर अस्पतालमा जागिर खाएका छौँ’, उनले भने, ‘महामारीको बेलामा नै त होनी बिरामीको सेवा गर्ने। जोखिम छदैछ, तर बचावटको उपाय अपनाएर गरिरहेका छौँ। यो अवसर पनि हो हाम्रो लागि।’
कान्तिमा कोरोना संक्रमित बालबालिकाको कसरी उपचार हुन्छ?
कान्ति बाल अस्पतालमा सेवा लिन जाने बालबालिकाले सिधै उपचार पाउँदैनन्। कोरोनाको शंकास्पद रहेका बालबालिकाहरुलाई पहिले छुट्टै वार्डमा राखिन्छ।
दैनिक १० देखि १२ जना शंकास्पद बालबालिकाहरु यो वार्डमा भर्ना हुन्छन्। त्यही वार्डबाट उनीहरुको पिसिआर परीक्षणका लागि नमूना संकलन गरिन्छ।
नेगेटिभ आए उनीहरु सम्बन्धित विभागमा उपचारका लागि जान्छन् भने पोजेटिभ आउनेहरु आवश्यकता अनुसार आइसोलेसन वा आइसियुमा भर्ना हुन्छन्।
तर पिसिआर गर्नु नपर्ने र शंकाको घेरामा नरहेकाले बालबालिकाले भने सिधै उपचार पाउने निर्देशक पौडेल बताउँछन्। स्वास्थ्यकर्मीहरुलाई पनि अस्पतालको यही तालिका अनुसार खटाइएको छ।
संक्रमितको उपचारका लागि कोभिड वार्डको नमरल लेभर वानको लागि २४ शय्या, पोजेटिभको जटिल खालका संक्रमितका लागि आठ शय्या गरी ३२ शय्याको व्यवस्था गरिएको छ। अस्पतालले यति मात्र नभई बिरामीको चाप बढ्न सक्ने भन्दै ४० शय्याको छुट्टै अब्जरभेसन भनी छुट्याएको छ। तर यो अस्पतालले यो शय्या प्रयोग गर्नु परेन।
उनी भन्छन्, ‘बिरामीको चाप बढ्न सक्ने भन्दै हामीले अब्जरभेसन भनेर ४० बेडको तयारी अवस्थामा राख्यौँ। तर प्रयोग गर्नु परेन।’
अस्पताल भर्ना हुने सबै बिरामीलाई आइसियुको आवश्यकता नपर्न सक्छ। तर धेरैलाई अक्सिजन र मनिटरिङको आवश्यकता भने पर्न सक्छ। त्यसको लागि चाहिने भनेको हाइ डिपेन्डेन्सी युनिट नै हो। जुन सेवा थप्ने तयारीमा कान्ति बाल अस्पताल पनि छ। यो २५ शय्याको हुनेछ।