काठमाडौं उपत्यका सहित देशभरका अस्पतालहरुमा नन् कोभिडका बिरामीहरुको चाप बढ्न थालेको छ। तर कोरोनाका गम्भीर खालका बिरामीको संख्या भने उस्तै छ। आइसियु र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या बढ्दो छ। कोभिड र नन् कोभिडका उपचार हुने अस्पतालमा यी दुई बिरामीको उपचार व्यवस्थित तरिकाले गर्नु अहिलेको अवस्थामा चुनौतीपूर्ण नै छ।
कोभिड र नन् कोभिडका बिरामीको एउटै अस्पतालमा उपचार हुनेमध्ये एक हो, सानेपास्थित स्टार अस्पताल। अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर ल्याब पनि छ। यस अस्पतालमा कोभिडसँगै नन् कोभिडका बिरामीको व्यवस्थापन के कसरी भइरहेका छन्, आगामी योजनाहरु के के छन्, लगायत विषयमा अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीसँग स्वास्थ्यखबरका लागि कमला गुरुङले गरेको कुराकानीः
– स्टार अस्पतालमा अहिले कोभिड–१९ बिरामीको उपचारको व्यवस्थापन कसरी भइरहेको छ?
हामीले कोभिड र नन् कोभिड दुवै बिरामीको उपचार गरिरहेका छौँ। कोभिड र नन् कोभिड बिरामीको उपचारका लागि छुट्टै व्यवस्था गरिएको छ। कोभिड र नन् कोभिड बिरामी छिर्ने प्रवेशद्धार समेत यहाँ छुट्टै छ। कोभिडका लागि २० प्रतिशत शय्या छुट्याउने सरकारको निर्णयपछि हामीले सुरु गरेका हौँ। पछि माग बढ्दै गएपछि क्षमतालाई बढाउँदै लग्यौँ। अहिले स्टार अस्पतालमा कोभिडको उपचारका लागि ५० शय्या छुट्याएका छौँ।
– कोभिडको जस्तै नन् कोभिड बिरामीका लागि कति शय्या छुट्याउनु भएको छ?
अहिले यस अस्पतालमा पिसिआर परीक्षण गर्नेको संख्या ह्वात्तै घटेको छ। मानिसहरुले परीक्षण गर्न पनि छाड्दै छन्। कुनै बेला थेग्न नसक्ने बिरामीको चाप अहिले कम छ। तर आइसियुमा भर्ना हुने गम्भीर खालका बिरामीहरु भने बढ्न थालेका छन्। कोभिड र नन् कोभिड बिरामीका लागि हामीले ५०/५० शय्या छुट्याएका छौँ। तर सबै प्रयोग भने गरिएको छैन। नेपालमा कोरोनाको सेकेण्ड वेभ (दोस्रो लहर) आयो भने हामी तयारी अवस्थामा छौ। कोभिड र नन् कोभिड भनेर हामी कहिले पनि भेदभाव गरेका छैनौँ। सबै बिरामी उत्तिकै प्राथमिकतामा पर्छन्।
– स्टार अस्पताल आफैँले पिसिआर परीक्षण गर्दै आएको छ। ल्याब तिर तपाईहरु कसरी जानुभयो?
पहिला हामीले सरकारले संकलन गरेका नमूनाहरुको मात्र परीक्षण गर्ने गरेका थियौ। पछि हामीले आफैँ संकलन गरेर पिसिआर परीक्षण गर्न थाल्यौँ। यो अस्पतालमा पनि कोरोना संक्रमितहरु आउन थालेपछि हामीले यसको आवश्यकता महसुस गरेका थियौँ। सरकारी प्रयोगशालामा हामीले नमूना परीक्षणका लागि पठाउँदा धेरै समय लाग्थ्यो। लामो समय कुर्नुपथ्र्यो।
अस्पतालमा आएका बिरामीहरु कुन कोभिडका हुन्, कुन नन् कोभिडका भनेर छुट्याउन अप्ठ्यारो भयो। बिरामी र स्वास्थ्यकर्मी दुवै जोखिममा हुने भए। ल्याब स्थापनाका लागि हामीसँग आवश्यक जनशक्ति पनि थियो। हामीसँग आवश्यक जनशक्ति छ भने किन ल्याब सुरु नगर्ने? आवश्यकता र माग दुवै भएकाले हामीले अस्पतालमा ल्याब सुरु गरेका हौँ। हामीले अस्पतालमा ल्याब सुरु गरेपछि बिरामीको पिसिआर रिपोर्ट आउन लामो समय कुनु पर्दैन।
– एक दिनमा तपाईहरुले कति पिसिआर गर्न सक्नु हुन्छ? दैनिक पिसिआर क्षमता कति हो?
एउटा पिसिआर मेसिनबाट हामीले ल्याब सुरु गरेका थियौँ। हाल हामीसँग चार वटा पिसिआर मेसिन उपलब्ध छ। एक दिनमा दुई हजार बढी पिसिआर गर्न सक्ने हामीसँग क्षमता छ।
– अहिले पिसिआर परीक्षण गर्नेको संख्या घट्दो क्रममा छ। पहिला कति पिसिआर हुन्थ्यो र अहिले दैनिक कति पिसिआर हुने गर्छ?
हामीले ल्याब सुरु गर्दा दैनिक २ सय देखि ३/४ सयको हाराहारीमा पिसिआर हुन्थ्यो। बीचमा कोरोना बढेको समयमा दैनिक १२ सय सम्म पुगेको थियो। कहिले त १८ सय नमूना पनि परीक्षण हुने गथ्र्यो। तर पेन्डिङ चाँही कहिले भएन। हामीले दिनरात कर्मचारीलाई खटाएर भएपनि रिपोर्ट समयमै दियौ। अहिले करिब ३/४ सयको हाराहारीमा पिसिआर परीक्षण हुन्छ। अहिले त्यो पनि घट्दो क्रममा छ।
– धेरैजसो संक्रमितहरु अहिले होम आइसोलेसनमै बस्ने गरेका छन्। पहिले कोभिड र नन् कोभिडका बिरामीको चाप कति हुन्थ्यो र अहिले त्यो चापको अवस्था के छ?
पहिला कोभिडको बिरामीको चाप यति हुन्थ्यो की हामीलाई थेग्नै समस्या हुन्थ्यो। कति दिन त होल्डिङ एरिया पुरै भरिन्थे। इमरजेन्सीमा पनि कोभिडकै बिरामीले भरिन्थे। कुनै बेला त कोभिडकै बिरामीले भरिएर हामीले अन्य अस्पतालमै भनसुन गरी पठायौँ। अहिले बिरामीको चाप घट्दो छ। पहिले जस्तो चाप अहिले छैन।
कोभिड महामारीको बेलामा नन् कोभिडका बिरामी दुई प्रतिशत पनि थिएन। अहिले नन् कोभिडका बिरामीको संख्या करिब करिब ४० प्रतिशत जति आउँछन्।
– कतिपय बिरामीहरु अस्पताल आउन पनि डराउँथे। त्यो बेला बिरामीको सहजताका लागि तपाईहरुले नयाँ केही व्यवस्था गर्नु भएको थियो?
कोभिडका बिरामीको सहजताका लागि नयाँ व्यवस्था पनि गरेका थियौँ। हामीले ‘हाउसपिटल’ भन्ने सेवा सुरु गर्यौँ। ‘हाउसपिटल’ अर्थात् घरमै बसेर पनि अस्पतालको सेवा लिन सकिने।
ओपिडी सेवाहरु बन्द भएको बेला बिरामीहरु प्रभावित भए। तर हामीले ओपिडी सेवालाई कहिले पनि प्रभावित हुन दिएनौँ। हामीले यो बेला टेली कन्सल्टेशन निशुल्क गरेका थियौँ।
रगत परीक्षण लगायत अन्य परीक्षण गर्नुपर्ने बिरामीका लागि हामीले अस्पतालको टिम घर घरमै पठायौँ। यही टिमलाई परिचालन गर्दै हामीले घर घरमै स्वाब संकलन गर्न पनि सक्यौँ। मानिसहरु त्यो घरबाट बाहिर निस्कन डराउँथे। त्यही कारण हामीले घर घरमा परीक्षण तथा स्वाब संकलनका लागि टोली परिचालन गर्न थाल्यौ, यही सेवा नै ‘हाउसपिटल’ हो।
यो सेवा विशेषगरी हामीले माइल्ड खालका लक्षण भएका संक्रमितका लागि सुरु गरेका थियौँ। ताकी सामान्य खालका लक्षण भएका संक्रमितहरुले गर्दा अस्पतालको शय्यामा चाप कम हुन सकोस्। सामान्य खालका लक्षण भएका संक्रमितहरु घरमै उपचार पाउने भएपछि अस्पतालको आइसियुमा चाप कम हुन्छ। चाप कम भएपछि गम्भीर खालका संक्रमितले आइसियुमा उपचार पाउन पनि सहज हुन्छ। यो सेवा अहिले पनि जारी छ। तर यो सेवा लिने बिरामीको संख्या अहिले कम छ।
केही अस्पतालहरुले सिसिटिभीको निगरानीबाट बिरामीको उपचार गर्ने गर्थे। तर हामीले सुरक्षा सतर्कताको उपाय अपनाउँदै नर्सहरुले नै बिरामीको रक्तचाप नाप्ने र उपचार गर्ने गर्थे।
– पोष्ट कोभिडपछिका यहाँहरुको योजना के के छन्?
अब पोष्ट कोभिड हुन्छ जस्तो त लाग्दैन। अब कोभिडसँगै जीउन सिक्नुपर्छ की जस्तो लाग्छ। भ्याक्सिन आएपछिको वातावरण अलि फरक भने हुन्छ होला। तर पनि हामी अहिले पनि तयारी अवस्थामा नै छौँ।
मानिसहरु अहिले कोरोनासँग डराउन कम भएका छन्। त्यही भएर हुन सक्छ, यहाँ नन् कोभिडका बिरामीहरुको चाप पनि बढ्दो छ। ग्यास्ट्रोइन्टेस्टाइनल (जिआई डिजिज) रोगहरुको उपचार हाम्रो बढी प्राथमिकतामा छ। जिआई सेन्टरको रुपमा पनि स्टार अस्पतालको विकास हुँदैछ।
अर्थोपेडिक र ज्वोइन्ट सेन्टरहरु पनि हाम्रो प्राथमिकतामा छ। न्यूरो साइन्सको हब बनाउने पनि हाम्रो लक्ष्य छ। यो सँगै स्त्रीरोग, बाल रोग र युरोलोजी सेवाहरु हाम्रो प्राथमिकतामा छ।