काठमाडौं - रोगसँग जुधिरहेका बिरामीलाई निको बनाएर मुस्कानसहित घर पठाउन पाउँदा नर्सहरु असाध्यै खुशी हुन्छन्। त्यो खुशी र आनन्दलाई उनीहरु शब्दमा बयान गर्न सक्दैनन्।
तर, जब कुनै औषधि नै पत्ता नलागेको नयाँ रोगका बिरामीको सेवामा खटिनु पर्छ तब नर्सहरुमा खुश कम डर बढी पैदा हुन्छ। अझ उक्त नयाँ रोग, सरुवा हो र रोग कसरी सरिरहेको छ भन्ने पत्ता लागिसकेको छैन भने त उनीहरुमा डर झनै बढ्छ। जोखिम पनि उस्तै।
यस्तै डर र त्रासका बीच कोरोना संक्रमितको उपचारमा खटिएकी थिइन्, वीर अस्पतालकी स्टाफ नर्स बबिता चित्रकार।
२७ वर्षीया चित्रकारलाई भदौको तेस्रो साता कोभिड संक्रमितको उपचार गर्ने टिममा पर्दा खुशी कम र डर बढी लागेको थियो। नहुन् पनि किन सारा विश्व समुदाय कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको थियो। स्वास्थ्य सेवामा अब्बल मानिएका विकसित राष्ट्रका स्वास्थ्यकर्मी समेत संक्रमितको उपचारमा खटिन डराइरहेका थिए।
उनलाई पनि त्यो बेला अन्य स्वास्थ्यकर्मी झैँ कोरोना भन्ने बित्तिकै मनमा डर आउनु स्वाभाविक थियो।
‘सुरुमा डर लागेको थियो’ उनले भनिन्, ‘ला केही पो हुने हो की? भन्ने विचार मनमा आयो।’
तर, बिरामीकै सेवामा खटिन नर्सिङ पेशा रोजेकी बबितामा डर भन्दा ठूलो सेवामा खट्ने अठोट थियो। त्यही अठोटले गर्दा उनलाई डरले जित्न दिएन।
उनी भन्छिन्, ‘यही बेलामा त हो नी गर्ने भनेको। हामी नै पछि हट्यौँ भने गर्ने कसले?’
उनले हिम्मत जुटाइन् र खटिइन् संक्रमितको सेवामा।
०००
नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि विभिन्न अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा परिणत गरिदै थियो।
बिरामीको चाप र कोरोनाको जोखिम दैनिक बढ्न थालेपछि सरकारले मुलुककै पुरानो अस्पताल वीरलाई पनि कोभिड अस्पतालको रुपमा परिणत गर्ने निधो गर्यो। सरकारको निर्णयपछि भदौ तेस्रो सातादेखि वीर अस्पतालमा कोरोनाको उपचार सुरु भयो।
संक्रमितको उपचारका लागि अस्पतालले छनोट गरेको टोलीमध्यकै एक हुन्, बबिता।
जीवनको २७ वर्ष पार गरेकी उनले सात वर्ष नर्सिङ क्षेत्रमा बिताएकी छिन्। उनी वीर अस्पतालमा खटिन थालेको पाँच वर्ष भयो। वीर अस्पतालको कोभिड आइसोलेसन र आइसियुमा उनी करिब साढे तीन महिना खटिइन्। हाल उनी नन कोभिड वार्डमा सरुवा भएकी छिन्।
परिवारबाट जागिर छाड्न दबाब
उनी संक्रमितको उपचारमा झण्डै चार महिना जसरी खटिइन्। त्यो सहज भने थिएन। पहिला त आफुलाई सम्झाउनु नै उनको लागि ठुलो चुनौती थियो। त्यसपछि परिवारलाई सम्झाउनु अर्को चुनौती।
किनकी परिवारबाट उनलाई जागिर छाड्न एक किसिमको दबाब थियो। नहुन् पनि किन? परिवारको त्यो डर स्वाभाविक थियो, किनकी कोरोना भन्ने बित्तिकै त्यो बेला सबै डराउने गर्थे।
उनी भन्छिन्, ‘मैले सुरुमा घरमा भने। त्यसपछि सबै जना डराउनुभयो। तिमीलाई गाह्रो हुन्छ, समस्या पर्छ भने जागिर नगर। जोखिम हुन्छ भने नगर घर आऊ भन्नु भएको थियो।’
बिरामीको सेवा गर्ने सपना बोकेकी उनले आफ्नो परिवारलाई पनि सम्झाउन सफल भइन्। उनको अठोटको सामू परिवारको दबाबले पनि घुँडा टेक्नुपर्यो।
‘घरबाट जब जागिर छाड्ने कुरा आयो, त्यसपछि मैले यो बेला हामी नै पछी हट्यौँ भने गर्ने कसले? भनेर उहाँहरुलाई सोधेँ। अनि परिवारमा सबैलाई सम्झाएँ’ उनले भनिन्।
सकसपूर्ण महिनावारी
कोभिड आइसोलेसनमा पिपिई लगाएर उपचारमा खटिनु त्यति सहज छैन, जति हामीलाई सुन्दा लाग्छ। त्यही माथि महिलाहरुका लागि त यो थप चुनौतीपूर्ण देखिन्छ। कारण, महिनावारीको व्यवस्थापन।
आइसोलेसनमा पिपिई लगाएर बिरामीको उपचारमा खटिँदा महिनावारीको व्यवस्थापन गर्न नर्स बबिताका लागि पनि चुनौतीपूर्ण बन्यो।
उनी भन्छिन्, ‘महिनावारी हुँदा एकदमै गाह्रो हुन्थ्यो। समयलाई हामीले विभाजन गरेर ड्युटी गथ्र्योँ। पिपिई लगाएपछि हिँड्नै समस्या हुन्थ्यो। तर पनि ठिकै छ, अब यति घण्टा बाँकी छ भनेर काम गथ्र्यौं।’
तीन/चार घण्टामा प्याड परिवर्तन गर्नुपर्ने भएपनि त्यो उनीहरुको लागि अलि संभव थिएन। त्यही कारण उनी पिपिई लगाएर आइसोलेसनमा जानु अघि प्याड परिवर्तन गरेर नै जाने गर्थिन्।
कुनै बेला त ड्युटीमै खटेको बेला पनि महिनावारी भएको उनको अनुभव छ। धेरै रगत बगे या इमरजेन्सी भए मात्र उनी आइसोलेसनबाट बाहिर निस्कने गर्थिन्।
महिनावारी भएको पहिलो दिन उनलाई प्रायजसो पेट दुख्ने समस्या छ। तर पनि उनले बिदा नलिइ काम गरिन्। धेरै दुखाई भएको बेला औषधि खान्थिन् भने सामान्य दुखाई भएको बेला आफैँलाई सान्त्वना दिन्थिन्।
‘महिनावारी भएको पहिलो दिनमा मलाई एकदम धेरै पेट दुख्छ’ उनी भन्छिन्, ‘सक्दै सकिन भने औषधि खान्थे नत्र हैन एक छिन हो, एक छिन भनेर आफैँलाई सम्झाउँथे।’
महिनावारी भएको बेलामा मात्र नभई अन्य पिपिई लगाएपछि शौच गर्न जाँदा पनि समस्या हुने गरेको उनी सुनाउँछिन्।
एक दिन संक्रमित हुन्छु भन्ने थाहा थियो
उनलाई सधै म एक दिन कोरोना संक्रमित हुन्छु भन्ने लागिरहन्थ्यो। किनकी उनको केही सहकर्मीहरु संक्रमित भइसकेका थिए।
उनी सोच्थिन, ‘म सँग काम गर्ने साथीहरु संक्रमित भए। अब म पनि कुन दिन संक्रमित हुन्छु।’
नभन्दै आइसोेलेसनमा काम गर्न थालेको १४ दिनपछि आफैँ संक्रमित भइन्। आफु बिरामीको सम्पर्कबाट संक्रमित भएको उनको भनाई छ।
उनको सहकर्मीहरु पहिलो पटक संक्रमित हुँदा आत्तिने, रुने गरेका थिए। त्यो देखेर पनि उनले आफुलाई सम्भाल्न सकिनन्। सहकर्मीहरुको त्यो अवस्था देख्दा उनी पनि सुरुमा निकै आत्तिइन्। तर त्यही डरले उनको आत्मबललाई बलियो बनाउन मद्दत गर्यो।
पिसिआर परीक्षण गरेपछि उनले परिवारमा भनेकी थिइन्, ‘मेरो पोजेटिभ आयो भने तपाईहरु नआत्तिनु। म जसरी पनि ठिक हुन्छु।’
आफु पहिले नै मानसिक रुपमा तयार भएकाले पिसिआर रिपोर्ट पोजेटिभ आउँदा मन त्यति नआत्तिएको उनी बताउँछिन्।
‘घरमा कोरोना बिरामीको उपचार गर्छु भन्दा त परिवार आत्तिनु भयो भने म आफैँ संक्रमित भए भन्दा अवस्था के हुन्छ होला?’ उनी प्रश्न गर्छिन्। ‘डर नलागेको होइन लागेको थियो तर आफुलाई सम्भाले।’ उनले भनिन्।
त्यो बेला आत्मबल बलियो बनाउन निकै आवश्यक रहेको उनको अनुभव छ। आत्मबल नै सबैभन्दा ठूलो औषधि हुने उनी बताउँछिन्।
उनी निको भइसकेपछि पनि उनलाई शरीरमा विभिन्न समस्या देखिने गरेको छ। उनी चाहेर पनि सामान्य दिनचर्यामा फर्कनन् सकेकी छैनन्।
उनलाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, व्यायाम गर्दा पनि चाँडै थाक्ने, शरीर छिट्टै गल्ने हुन्छ। उनी अहिले सिडी पनि राम्रोसँग चढ्न सक्दिनन्। थाकिहाल्छिन्।
केही समस्या छ की भनेर उनले छातिको एक्सरे दुई पटक र पिसिआर चार पटक गराई सकिन्।
उनी भन्छिन्, ‘मैले केही समस्या छ की भनेर दुई पटक छातिको एक्सरे गरे। चार पटक पिसिआर गरे नेगेटिभ छ। तर पनि म पहिलाको जस्तो स्वस्थ छैन।’
पहिलो पटक छुटेको दसैँको टिका
उत्साहका साथ कोरोना अनुभव सुनाई रहेकी उनलाई प्रश्न सोधियो, ‘दसैँमा टिका लगाउनुभयो?’
‘जीवनमा पहिलो पटक होला दसैँको टिका छुटेको।’ मलिन अनुहार बनाउँदै भनिन्।
यसअघि उनी दसैँकै दिनमा टिका लगाउन घर नपुगेपनि उनी पूर्णिमा सम्म जसरी पनि घर पुग्ने गर्थिन्। तर यस वर्ष संभव भएन।
घर जान नपाएपनि भिडियोबाटै आमा बुवाले टिका लगाई दिएको उनी बताउँछिन्। त्यो बेला भने उनको आँखा रसाएको थियो।
‘ड्युटी सकेर घर जाँदा ममीले भिडियोबाटै टिका लगाई दिएर दक्षिणा दिनुभयो। त्यो बेला आफुलाई जति सम्भाले पनि गाह्रो हुने रहेछ।’ उनले भनिन्।
सहज हुँदै गएपछि
आइसोलेसनमा उनको पहिलो ड्युटी नै नाइट ड्युटी परेको थियो। पहिलो पटक आइसोेलेसनमा पस्दाको त्यो डरलाई उनले शब्दमा बयान गर्न सक्दिनन्।
वीर अस्पतालमा कोभिडको उपचार सुरु गर्दा भीड त्यति हुन्थेन। त्यसैले पनि बिरामीको उपचारमा खटिन केही सहज भएको उनी बताउँछिन्। तर विस्तारै उनलाई कोभिडको बिरामी पनि सामान्य बिरामी जस्तो लाग्न थाल्यो।
‘पहिलो पटक आइसोलेसनमा पस्दा निकै डर लागेको थियो।’ उनी भन्छिन्, ‘तर पछि उनीहरु पनि अन्य रोगको बिरामी जस्तो नै लाग्न थाल्यो।’
अहिले उनलाई कोभिडका बिरामीको उपचार गर्नु सामान्य जस्तो लाग्छ। त्यसैले उनी कोभिडका बिरामी भनेर भागेर नभई, उनीहरुको नजिक गएर, बिरामीसँग कुरा गरेर उपचार गर्न थालिन्।
‘आइसोलेसनमा पस्दा मात्र डर भयो। कोभिड बिरामी हो, नजिक जान हुँदैन भन्ने जस्तो अनुभव कहिल्यै भएन।’ उनले भनिन्।
कोभिडलाई खेलाँची नगरौँ
उनको एउटै आग्रह छ, ‘कोभिडलाई खेलाँची नगरौँ।’
अहिले मानिसहरुले कोरोनालाई भुल्न थालेको हो की भन्ने उनलाई आभास हुन हुन्छ।
उनी भन्छिन्, ‘मलाई पनि कोरोना सामान्य रुघाखोकी त हो नी जस्तो लाग्थ्यो। तर आईसियुमा पुगेका बिरामीलाई मैले नजिकबाट देखेको छु।’
बिहान कुरा गरेर गएको संक्रमित बेलुकी आउँदा निधन भएको कयौँ घटना उनले भोगेकी छिन्। कोभिडलाई सामान्य किसिमले नलिई सावधानी अपनाउन उनी आग्रह गर्छिन्।