काठमाडौं– बिहानको समयको थियो। एम्बुलेन्स चालक गणेश सापकोटा बिरामी लिन कुलेश्वर पुगे। बिरामी ढिला हुने भएपछि एम्बुलेन्स रोकेर उनी सकडमै टहलिरहेका थिए।
यत्तिकैमा एक दम्पत्ति मर्निङ वाक गर्दै आए। हिड्दै गर्दा उनीहरु एम्बुलेन्स रोकेको ठाउँ नजिकै पुग्नै मात्र के लागेका थिए। श्रीमानले श्रीमतीको हात समाएर पछाडि तान्दै भने, ‘त्यहाँ एम्बुलेन्स देखेनस्। नजिक नजा कोरोना सर्छ।’
ती दम्पत्तिको कुरा सुनेर सापकोटा एकछिन त अचम्ममा परे। त्यो घटनाले उनको मन अहिले पनि तीतो बनाउँछ।
उनको प्रश्न थियो, ‘एम्बुलेन्स देख्ने बित्तिकै कोरोना सर्छ र?’ जानेबुझेकै जस्ता देखिनेहरुले त्यस्तो व्यवहार गर्दा कोरोनाकालमा समेत उच्च मनोबल लिएर डटिरहेका सापकोटाको मन कुँडिनु स्वभाविक थियो। उनी भन्छन्, ‘जोखिम मोलेर स्वच्छ मनले सेवा गरिरहेका हुन्छौं। तर, हामी नेपालीको मन किन यति सानो भएको होला?’
उमेरले चार दशक नाघिसकेका उनले जीवनको १४ वर्ष एम्बुलेन्समा बिरामीलाई अस्पताल पुर्याएरै बिताएका छन्। तर अहिलेसम्म यस किसिमको दुव्र्यवहारको अनुभव भने उनले गरेका थिएनन्।
जनावरलाई जस्तो गरेको त्यो व्यवहार..
‘कोरोना महामारीको यो ९ महिनामा तपाईंले सम्झने अरु के के घटनाहरु छन् ?’ उनीसँगको भेटमा हामीले प्रश्न गर्यौँ। कोरोना महामारीमा खटिँदाको अनुभव सुनाइरहेका सापकोटाको अनुहार एकाएक मलिन भयो। उनको स्मृतिमा त्यो समयमा भोगेका तीता पलहरु एकपछि अर्को गरी खेल्न थालेछन्। मुख अमिल्याउँदै भने, ‘जनावरलाई जस्तो व्यवहार हुन्थ्यो नि हामीलाई।’
उनको कुराबाट दुव्र्यवहार र दुःखहरु उनको मनमा पत्रैपत्र भएर बसेका छन् भन्ने अनुमान गर्न मुश्किल थिएन। स्वभाविक प्रश्न गरियो, ‘त्यस्तो के भएको थियो ?’
ती घटनालाई सम्झदै उनी यसरी बयान गर्छन्, ‘एम्बुलेन्स भन्ने बित्तिकै कोरोनाको खानी हो जस्तै गर्थे। पसलमा पानी किन्न जाँदा पनि कुकुरलाई रोटी दिएजस्तो परबाट फ्याँकीदिन्थे।
यत्ति नराम्रो व्यवहार भयो कि सम्झिदा अहिलेसम्म पनि चित्त दुख्छ।’ कोरोना महामारीको यो ९ महिनामा उनले यस्ता कयौं तिता मिठा अनुभव बटुलेका छन्।
पहिलो पटक संक्रमित लिन जाँदा रुँदै गएँ
भदौ पहिलो साता उनलाई फोन आयो, ‘एक जना कोरोना संक्रमिताई अस्पताल पुर्याइ दिनुपर्यो दाइ।’
त्यो बेलासम्म उनले पुष्टि भएका कोरोना संक्रमितलाई बोकेका थिएनन्। सुरुमा त कोरोना संक्रमित भन्ने बित्तिकै उनी अत्तालिए।
उनी सम्झिन्छन्, ‘एकछिन त बिरामी लिन जाउँ कि नजाउँ भनेर दोसाँधमा परें। फेरि आफैंलाई प्रश्न गरें,– यस्तो बेलामा हामी नै पछाडी हट्यौं भने कसले सेवा गर्छ?’
मनको डरले उनलाई जिम्मेवारीबाट पछि हट्न दिएन। उनी बिरामी लिन सुन्दरीजल गए। तर त्यहाँसम्मको यात्रा उनको लागि सहज थिएन।
त्यो बेला कोरोना भाइरसँग जोडिएका अनेक अफवाह थिए। जस्तो ः कोरोना हावाबाट सर्छ रे, कोरोना हुने बित्तिकै मरिन्छ रे आदि। उनले सुनेका यी अफवाहले नै उनको मनमा डरले डेरा जमाएको थियो।
‘मलाई पनि कोरोना हुने भयो अब म पनि मर्छु’ भन्ने कुरा उनी माथि यति हावी भयो कि, उनी संक्रमितलाई लिन जोरपाटीबाट रुँदै–रुँदै सुन्दरी जल पुगे।
‘सुरुमा पोजेटिभ बिरामी बोक्दा म एकदमै आत्तिएको थिएँ। भित्रभित्रै अब चाहिँ जिन्दगी सकियो भन्ने पनि लाग्यो’, उनी भन्छन्, ‘कोरोनाले छुने बित्तिकै मरिन्छ भन्ने सुनेको थिएँ।’
उनलाई आफू पनि संक्रमित हुन्छु जस्तै लागेको थियो। त्यसैले पहिलो संक्रमित बोकेको दुई हप्तासम्म उनी घर पनि गएनन्। तर अहिले उनलाई कोरोना संक्रमितलाई एम्बुलेन्समा बोक्नु सामान्य लाग्छ।
कतिपय परिवारमा त कोही सदस्यलाई कोरोना पुष्टि भएपछि छुन समेत नमान्ने गरेको उनको अनुभव छ। परिवारकै सदस्य पछि हटेको बेलामा पनि उनी आफैं अघि बढ्थे। उनले भने, ‘मेरो घरमा आमा पोजेटिभ हुनुहुन्छ। तपाईं लिन आउनु। हामी त छुँदै छुँदैनम्। सबै जिम्मा तपाईंले लिनुपर्छ भने। त्यसपछि मैले अस्पताल पुर्याएँ।’
पोजेटिभ नभनेरै एम्बुलेन्समा
उनले बोक्ने कतिपय बिरामीहरु कोरोना संक्रमित हुन् भनेर उनलाई अगाडि नै थाहा हुन्छ। तर कति बिरामी त अस्पताल पुगेपछि मात्र ‘म संक्रमित हुँ’ भन्ने गर्छन्।
उनको एउटै गुनासो छ, ‘संक्रमितले पहिले नै म संक्रमित हुँ भन्दियोस्। ताकि हामी पनि सुरक्षित हुन सकियोस्। कति बिरामीले हामीलाई केही भएको छैन भन्दै एम्बुलेन्समा बस्छन्। अस्पताल गएपछि मात्र थाहा हुन्छ उनीहरु पोजेटिभ हो। हाम्रो पनि परिवार बाल बच्चा छन्। त्यतिखेर हामी न घर जानु न बाटोमा बस्नु हुन्छ।’
यसबाहेक अनेक अनुभव छन्। अर्को घटना यसरी सुनाउँछन्, ‘एक जना बिरामीलाई काठमाडौंबाट चितवन लानुपर्ने थियो। अक्सिजन लगाएको थियो, अलि वृद्ध थिए। बाटोमा म आफैंले दुई÷तीन पटक अक्सिजन पनि परिवर्तन गरें। तर चितवन पुगेपछि मात्र उनीहरुले भने– उहाँ कोरोना पोजेटिभ हो। हुन त मैले पिपिई त लगाएको थिएँ। तर यस्तो त गर्न भएन नि।’
एम्बुलेन्स बिग्रिदा मोटरसाइकमै संक्रमित
महामारीको सुरुवाती दिनमा एम्बुलेन्समै बिरामी बोक्न पनि ठूलो डर थियो। तर सापकोटा यस्तो एम्बुलेन्स चालक हुन्, जसले मोटरसाइकलमा भएपनि बिरामीलाई अस्पताल पुर्याए, त्यो पनि कोरोना संक्रमितलाई।
एम्बुलेन्स बिग्रिएपछि बनाउन उनले ग्यारेजमा लगेका थिए। त्यत्तिकैमा उनलाई फोन आयो, ‘एउटा कोरोना पोजेटिभ केस अस्पताल लानुपर्यो।’ एम्बुलेन्स बिग्रिएपनि संक्रमितलाई मोटरसाइकलमा लान उनी तयार भए।
उनको बुझाइ थियो, ‘म एक जनाले सहयोग गर्दैमा बिरामीको ज्यान जोगिन्छ र कोरोना फैलनबाट रोकिन्छ भने किन नगर्ने ? त्यही भएर मैले मोटरसाइलकमै भएपनि बिरामीलाई अस्पताल पुर्याएँ।’
पिपिई आफैं जोहो गर्दै, संक्रमित बाक्दै
अहिलेसम्म २९ जना संक्रमितलाई बोकेको सापकोटाले कतैबाट पिपिई सहयोग पाएका छैनन्। मास्क, सेनिटाइजर लगायत पिपिईको जोहा उनी आफैं गर्छन्। सापकोटा एम्बुलेन्स चालक संघ काठमाडौंका अध्यक्ष पनि हुन्।
जिल्ला प्रशासन कार्यालयमा सुरक्षाका सामग्री उपलब्ध गराउन उनीहरुले माग नगरेका पनि होइनन्। तर, प्रशासनले बजेट अभावको कारण देखाउँदै पिपिई उपलब्ध गराउन नसक्ने बतायो।
उनले भने, ‘हामीले सिडिओ कार्यालयमा सुरक्षा सामग्री उपलब्ध गराइदिनुपर्यो भनेर ज्ञापन पत्र बुझाएका थियौं। उहाँहरुले हामीसँग बजेट छैन, तपाईंहरु आफैं मिलाउनुस् भन्नुभयो। उहाँहरु त्यसरी पन्छिएपनि हामी पन्छिन मिल्दैन। कि एम्बुलेन्स थन्काएर घरै बस्नुपर्यो, त्यो हाम्रो नैतिकताले दिँदैन।’
अहिलेसम्म पिपिई पनि नपाएका उनले सरकारबाट जोखिम भत्ताको आश पनि गरेका छैनन्। सुरुदेखि अहिलेसम्म सेनिटाइजर, मास्क, ग्लोब्स लगायत पिपिई उनी आफैं खरिद गर्छन्।
कोरोना महामारीमा जोखिम मोलेर काम गरेपनि सरकारले प्रोत्साहनका लागि केही नगरेकोमा उनको ठूलो गुनासो छ। एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीको दर्जा समेत दिने नगरेको उनी बताउँछन्।
‘हामी पनि फ्रन्टलाइनमा बसेर काम गर्छौं। सुरुमा त बिरामीको सम्पर्कमा हामी आउनुपर्छ। तर हामीलाई केही छैन। सरकारले प्रोत्साहनको नाममा केही पनि गरेन,’ उनले भने।
घर परिवारमा रुवावासी
जब नेपालमा कोरोना महामारी सुरु भयो। उनलाई यो पेशा नै छाड्न घर परिवारबाट ठूलो दबाब थियो। तर उनी आफ्नो जिम्मेवारीबाट पछि हटेनन्। बरु सावधानी अपनाउँदै सेवाका खटिरहे।
सुरुमा त उनले घरमा कोरोना संक्रमित बोक्ने गरेको कुरा घरमा एक महिनासम्म लुकाएर राखे।
उनले भने, ‘मैले एम्बुलेन्स चलाएर हिँड्दा मात्र त घरमा रुवावासी थियो। झन् संक्रमित बोकेर हिड्छु भन्यो भने घरमा सबै आत्तिन्छन्। त्यही भएर करिब एक महिनापछि मात्र भने।’
आफैं संक्रमित हुँदा छुटेको भाइटीका
उनलाई एउटा कुरा लागिरहन्थ्यो, ‘एक दिन म पनि संक्रमित अवश्य हुन्छु।’
आफू संक्रमित भएकी भन्ने डरले छैठौें पटकसम्म पिसिआर परीक्षण गराए। पाँचौ पटकसम्मको पिसिआरले उनलाई नेगेटिभ देखाएपनि छैठौं पटकको पिसिआरले पोजेटिभ देखायो।
सबैजना तिहारको रमझममा रमाउँदा उनी भने घरमै आइसोलेसनमा बसे। किनकी भाइटिकाको दिन उनी संक्रमित भएको पाँचौ दिन भएको थियो।
उनको आफ्नै दिदी बहिनी नभएपनि एकजना बहिनीको हातबाट टीका लगाउँथे। तर त्यो टीका उनले यस वर्ष लगाउन पाएनन्। अहिलेसम्म खाली नभएको निधार एक्कासी खाली हुँदा मन कहाँ मान्थ्यो र? त्यसैले उनले आफैंले ऐना हेरेर भएपनि भाइटीका लगाए।
उनी भन्छन्, ‘मैले सधैं एकजना बहिनीको हातबाट टीका लगाउँथे। तर, आफैँ संक्रमित भएपछि भेटघाट गर्न मिलेन। निधार खाली हुँदा नरमाइलो लाग्दो रहेछ। त्यही भएर म आफैँ ऐना हेर्दै भाइटिका लगाएँ।’
कोरोना महामारीमा खटिरहँदा उनले समाजले गर्ने व्यवहारमा धेरै परिवर्तन पाए। बोल्दै नबोल्दिए हुन्थ्यो, नजिक नै नआए हुन्थ्यो जस्ता व्यवहार उनले अहिले पनि भोग्नुपर्छ।
कोरोना महामारीको सुरुदेखि खटिएका उनलाई अहिलको माहोल हेर्दा लाग्छ, ‘काठमाडौंका स्थानीयले कोरोना नै बिर्सिसके।’
उनको भाषा सापटी लिएर भन्नुपर्दा मानिसहरु अहिले जबरजस्ती मास्क मात्र मुखमा बाँधेर हिड्छन्।
बिरामी सधैं आफ्नो पहिलो प्राथमिकतामा रहेको भन्दै उनी भन्छन्, ‘म यो पेशामा हुँदासम्म मैले सक्ने गर्छु र कुनै पनि बिरामीलाई उपचारबाट बञ्चित हुन दिन्नँ।’