काठमाडौं- विश्वलाई त्रसित बनाएको कोरोना भाइरसको जोखिम अझै पनि उस्तै छ। कोरोनाको बढ्दो जोखिमसँगै हरेक समूहले यसबाट बच्न विभिन्न सावधानी नअपनाएका होइनन्। सावधानी अपनाउँदाअपनाउँदै पनि कोरोना संक्रमित हुनेको संख्या भने कम भएको छैन।
कोरोनाको जोखिममा सबै उमेर समूह पर्छन्। तर केही विशेषज्ञ समूह छन्, जो अन्यभन्दा बढी जोखिममा पर्छन् र अरुभन्दा बढी सतर्क पनि रहनुपर्छ।
विश्व स्वास्थ्य संगठनले ६० वर्ष उमेरमाथिका वृद्धवृद्धा र दीर्घरोगी (मुटुका रोगी, उच्च रक्तचाप, मधुमेहका बिरामी) लाई कोरोनाको उच्च जोखिमको समूहमा राखेको छ। दीर्घरोगीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ।
नेपाल लगायत विश्वमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या निकै कहालिलाग्दो छ। मृतकको पृष्ठभूमि नियाल्ने हो भने धेरैजसोमा कुनै न कुनै दीर्घरोग पाइने गरेको छ।
दीर्घरोगीहरु कोरोनाको उच्च जोखिममा परे पनि समयमै गरिएको उपचारले कोरोना जित्न मद्दत गर्छ।
एक पटक कोरोना लागेर निको भइसकेपछि पुनः संक्रमण नहुने भन्ने होइन। पुनः संक्रमणको जोखिम सधैं रहन्छ। दीर्घरोगीहरुमा पनि अवस्था उस्तै हो। त्यसैले कोरोना निको भइसकेपछि पनि दीर्घरोगीले विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन्।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पोस्ट कोभिड अर्थात् कोरोना जितेपछि पनि दीर्घरोगीले विशेषज्ञ सावधानी अपनाउनुपर्ने बताउँछन्। केही दीर्घरोगीमा कोरोना निको भइसकेपछि पनि श्वासप्रश्वासमा कठिनाइ हुने, छाती दुख्ने खालको समस्या देखिएको उनले बताए।
उनी भन्छन्, ‘केही दीर्घरोगीमा निको निको भएपछि पनि श्वास फेर्न गाह्रो हुने अनि छाती दुख्ने समस्या पाइएको छ। त्यसैले निको भए पनि केही परिवर्तन या समस्या देखिएको छ कि भनेर ध्यान दिनुपर्छ।’
दीर्घरोग अन्तर्गत हामीले मुटु र मधुमेहका बिरामीमा कोभिडको जोखिम, पोस्ट कोभिडपछि हुने समस्या र ध्यान दिनुपर्ने विषयका बारेमा चर्चा गरेका छौं :
मुटु रोगी
दीर्घरोग अन्तर्गत जोखिममा पर्ने समूहमध्ये मुटुरोगका बिरामी एक हुन्। रोग प्रतिरोधात्मक क्षमता कम भएको र कोरोना भाइरसले मुटुको मांसपेसीलाई कमजोर बनाउने भएकाले संक्रमणको जोखिम रहने वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मी बताउँछन्।
डा रेग्मीका अनुसार विशेषगरी मुटुको मांसपेसी कमजोर भएर राम्रोसँग पम्प गर्न नसक्ने, मुटु सुन्निने, भल्भ सुनिन्ने रोग भएका मुटुरोगी बढी जोखिममा पर्छन्। कोरोनाको संक्रमणका कारण मुटुरोगीको मुटु फेल भएर मृत्यु समेत हुनसक्ने उनले बताए।
कोभिड भएर निको भइसकेका मुटुरोगीमा मुटु हल्लिने, श्वास फेर्न गाह्रो हुने, मन डराउने समस्या देखिन थालेको उनी बताउँछन्। उनी भन्छन्, ‘मैले हेर्ने मुटुरोगी जो कोभिड भएर पनि निको भइसके। उनीहरुमा मुटु हल्लिने, श्वास फेर्न गाह्रो हुने, मन डराउने किसिमको समस्या देखिन थालेको छ।’
कोभिड हुने बित्तिकै बिरामीको मृत्यु हुन्छ भन्ने हल्लाका कारण मुटुरोगीमा बढी त्रास देखिएको उनको अनुभव छ।
‘मुटुका रोगीलाई कोभिड हुने बित्तिकै मृत्यु हुन्छ भन्ने हल्लाले धेरै त्रास बढाइदिएको छ। त्यसैले मुटुरोगीहरु कोभिड हुनासाथ तर्सिहाल्छन्,’ उनले भने, ‘मनमा डर पसेपछि कोभिड निको भइसकेपछि पनि त्यो डर निस्कन गाह्रो हुँदो रहेछ। कोभिड हुँदासम्म कोभिडले र निको भएपछि त्यसको डरले सताउँदो रहेछ।’
त्यो डरले मुटुको धड्कनमा खराबी आउने, रक्तचाप नियन्त्रणभन्दा बाहिर जाने, राति निद्रा नलाग्ने समस्या देखिएको उनी बताउँछन्। एक/दुई महिनासम्म पनि यस्तो खालको समस्या उनीहरुमा देखिएको डा रेग्मी सुनाउँछन्। यो समस्या अधिकांशजसो मुटुका रोगीमा देखिएको उनले बताए।
डा रेग्मीका अनुसार विशेषगरी मुटुका कडा रोग भएकाहरु जस्तैः धमनीका रोग, हृदयघात भइसकेका र बाइपास सर्जरी गरेकाहरुमा त झन् यी लक्षण देखिनुका साथै समस्या बढेको पाइएको छ। मुटु राम्रोसँग पम्प नगर्ने समस्या भएकामा झन् असर गरेको र एन्जाइना भएकाहरुमा पोस्ट कोभिडपछि एन्जाइना पनि बढेको उनले बताए।
उनले भने, ‘पोष्ट कोभिडपछि रोगका लक्षणहरु झन् बढेको पाएको छु। कोभिड निको भएर मकहाँ परीक्षण गर्न आउने अधिकांशजसोमा मुटुको समस्या बढेको छ।’
कोभिड भएका मुटुरोगीलाई उपचारको क्रममा सकारात्मक मनोपरामर्शका साथै आत्मबल आवश्यक रहेको उनी बताउँछन्। तपाईंलाई ठिक हुन्छ, केही हुँदैन, मनमा केही पनि डर नलिनु भन्ने किसिमका सकारात्मक परामर्श आवश्यक रहेको तर बिरामीले नकारात्मक सन्देश मात्र पाइरहेको उनको भनाइ छ।
कोभिड निको भइसकेपछि विभिन्न योग तथा प्रणायाम गर्ने, कुनै काममा व्यस्त रहन उनको सुझाव छ। कोभिड निको भइसकेपछि पनि एक हप्तासम्म घरमै आराम गर्न मुटुरोगीलाई डा रेग्मी सुझाव दिन्छन्।
कोभिड भइसकेका व्यक्ति तथा बिरामीलाई अझै पनि समाजले भेदभाव गर्ने गरेकोमा उनको आपत्ति छ। यसरी गरिने भेदभावले पनि उनीहरुको मानसिक स्वास्थ्यमा असर गर्ने गरेको उनले बताए।
पोस्ट कोभिडपछि मुटुरोगी एक पटक आफ्नो चिकित्सकसँग परामर्शमा जानुपर्छ। पोस्ट कोभिडपछि उनीहरुले लिने औषधिमा थपघट पनि गर्नुपर्ने हुनसक्छ। पोस्ट कोभिडपछि महिनामा एक पटक मुटुरोगका चिकित्सकलाई मुटु परीक्षण गराउन डा रेग्मीको सुझाव छ।
मुटुरोगीलाई पोस्ट कोभिडपछि झन् पौष्टिक खाना र हलुका व्यायाम आवश्यक पर्ने उनले जानकारी दिए। तर चिसो मौसममा भने मर्निङ वाकमा बाहिर निस्कनु घातक हुनसक्छ। मुटुका रोगीले निमोनियाको भ्याक्सिन लगाउन पनि उनको सुझाव छ।
कोभिड निको भएपछि अब मलाई कोभिड हुँदैन भन्ने ढुक्क भएर हिँड्न नहुने भन्दै उनी भन्छन्, ‘आवश्यक सावधानी त सधैं अपनाउनुपर्छ। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने अनिवार्य हो।’
मधुमेहका बिरामी
कोभिडको उच्च जोखिम रहेका दीर्घरोगीमध्ये मधुमेहका बिरामी पनि एक हुन्। प्रायः मोटा मानिसमा पनि मधुमेहको जोखिम बढी हुन्छ।
रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरु कोभिडको उच्च जोखिममा रहेको मधुमेह रोग विशेषज्ञ डा सुनिल पोखरेल बताउँछन्।
मधुमेह भएका र मोटोपना बढी भएका बिरामी कोभिडको उच्च जोखिममा पर्ने उनले बताए। तौल बढी भएका मधुमेहका बिरामीमा चिनीको मात्रा नियन्त्रणभन्दा बाहिर हुने भएकाले उनीहरु जोखिममा पर्छन्। उनीहरुमै जटिलता आउने सम्भावना पनि बढी हुने उनले बताए।
डा पोखरेल भन्छन्, ‘अलि मोटो मानिस र चिनीको मात्रा नियन्त्रणभन्दा बाहिर रहेका व्यक्तिमा कोरोनाको जोखिम बढी हुन्छ। उनीहरुमा नै जटिलता आउने सम्भावना पनि बढी हुन्छ।’
कतिपय व्यक्तिमा कोभिड निको भएपछि मधुमेहको समस्या निम्तिएको विभिन्न अध्ययनले पनि देखाएको उनी बताउँछन्। यद्यपि यो पुष्टि भइनसकेको उनले बताए।
उनका अनुसार सबैमा नभए पनि केही मधुमेहका बिरामीमा पोस्ट कोभिडपछि पनि श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको छ। यस बाहेक हालसम्म त्यस्तो जटिल समस्या भने नदेखिएको उनी सुनाउँछन्। पोस्ट कोभिडपछि पनि विशेषगरी चिनीलाई नियन्त्रण गर्न ध्यान दिनुपर्ने उनले बताए। उनले भने, ‘विशेषगरी ध्यान दिनुपर्ने भनेको शरीरमा चिनीको मात्रालाई नियन्त्रणभन्दा बाहिर जान दिनु हुँदैन।’
रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मधुमेहका बिरामीले इन्फ्लुएन्जाको खोप लगाउन उनी सुझाव दिन्छन्। यो खोपले रुघाखोकीबाट जोगाउन मद्दत गर्छ।
मधुमेहका बिरामीलाई दैनिक कम्तीमा आधा घन्टा व्यायाम गर्न चिकित्सक सुझाव दिन्छन्। तर यो भन्दैमा बिहानै व्यायाम गर्न अनिवार्य भने छैन। डा पोखरेलका अनुसार दिनमा आफूलाई पायक पर्ने जुनै समयमा कम्तीमा आधा घन्टा व्यायाम गर्न सकिन्छ। तर मधुमेहका बिरामीले बिहानै खाली पेटमा भने व्यायाम गर्न नहुने उनी बताउँछन्।
उनले भने, ‘बिहानै व्यायाम गर्नुपर्छ भन्ने छैन। दिनमा आफूलाई मिल्ने समयमा व्यायाम गरे पनि हुन्छ। एकैपटक आधा घन्टा पु¥याउनुपर्छ भन्ने पनि होइन। १०/१० मिनेट गरेर पनि दिनभरमा आधा घन्टा पुर्याए हुन्छ।’
कोभिड संक्रमण भएका र चिनीको मात्रा पनि नियन्त्रणभन्दा बाहिर रहेका मधुमेहका बिरामीको मृत्यु समेत हुनसक्ने उनले बताए। त्यसैले शरीरमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न उनको विशेष जोड छ। पोस्ट कोभिडपछि सन्तुलित खाना र व्यायाममा ध्यान दिन उनको सुझाव छ।
उनी भन्छन्, ‘चिनी नियन्त्रणभन्दा बाहिर गएका र औषधिको नियमित सेवन नगर्ने बिरामीमा समस्या देखिन सक्छ। त्यसैले जसरी हुन्छ, चिनीको मात्रालाई नियन्त्रण त गर्नैपर्छ।’