धनगढी- सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवा शुरु गर्ने तयारी भएको छ। सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जक उपस्थित भएकाले सो सेवा छिट्टै शुरु हुने अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले न्युरो सर्जरीका लागि छात्रवृत्तिमा एक जना चिकित्सक आएकाले छिट्टै सेवा शुरु हुने जानकारी दिए। भेरी अञ्चल अस्पतालका न्युरो सर्जन डाक्टर हरि पौडेल सेती प्रादेशिक अस्पतालमा आएका हुन्।
मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेले भने, 'न्युरो सर्जन आउनुभएको छ। सामान्य सेवा शुरु गरिएको छ। अन्य सेवाका लागि उपकरणहरू खरिद प्रक्रियामा रहेका छन्।'
मेसु डाक्टर पाण्डेले न्युरो सर्जरीका लागि आवश्यक अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था नगरी सेवा शुरु गरेको प्रचार गर्दा आम मानिसले दुःख पाउने भएकाले अहिले सेवा शुरु गरिएकोबारे जानकारी नगराएको बताए।
मेसु डाक्टर पाण्डेले अहिले मस्तिष्कको चोट, मस्तिष्कको ट्यूमर, सेरेब्रल रक्तस्राव लगायतका समस्या भएका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको बताए।
उनले भने, 'सेती प्रादेशिक अस्पतालमा न्युरो सेवा शुरु भएमा सुदूरपश्चिम प्रदेशका बासिन्दाले उपचारका लागि नेपालगञ्ज, काठमाडौं अथवा भारतका विभिन्न अस्पतालमा धाउनु पर्ने बाध्यता कम हुने छ।'
उनले न्युरो सर्जरीका लागि आवश्यक औजार उपकरणसंगै अस्पताल व्यवस्थापनले आवश्यक जनशक्तिको पनि व्यवस्थापनको तयारी गरिरहेको बताए।
दुई साताअघि सेती प्रादेशिक अस्पताल आइपुगेका डाक्टर पौडेलले भने 'अहिले अस्पतालको आकस्मिक सेवाबाट २० जनालाई सेवा दिइसकेका छु। त्यस्तै, टाउकोको दुईवटा सफल अपरेशन पनि गरिसकेको छु।' डाक्टर पौडेलले पर्याप्त उपकरण नभए पनि आकस्मिक र सामान्य सल्यक्रिया सेवाहरू प्रदान गरिरहेको बताए।
उनले भने 'मैले अस्पताल प्रशासनमा आवश्यक उपकरणहरू खरिदका लागि लिखित पठाएको छु। अस्पताल प्रशासनले ती उपकरणको खरिद प्रक्रिया अघि बढाइसकेको होला।'
उनले सबै उपकरणहरू जडान भएमा न्युरो सर्जरीसम्बन्धी पूर्ण सेवा प्रदान गर्न सकिने बताए।
डाक्टर पौडेलले अपरेटिङ माइक्रोस्कोप उपकरण उपलब्ध भएमा मस्तिष्कका नसा फुलेर फुटेकोमा बाँध्ने, रगतका नसाहरूको गुच्छाको गडबडी र मस्तिष्कको क्यान्सरको शल्यक्रिया सम्बन्धी सेवा पनि सञ्चालन गरिने बताए।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पाण्डेले अस्पतालमा न्युरोसर्जरी सेवासंगै नाक, कान, घा“टीको सर्जरी लगायतका विभिन्न सेवाहरू पनि थप गर्ने तयारी भइरहेको बताए।
उनले भने 'अहिले हामी उपकरण र जनशक्ति व्यवस्थापनमा लागेका छौं। पूर्ण तयारी भएपछि आमसञ्चारमाध्यमबाट थप गरिएका सेवाहरूबारे जानकारी गराउने छौं।'