काठमाडौं– कोरोना भाइरसको त्रासपछि राजधानी सहित देशका धेरैजसो अस्पतालले हतपत्त बिरामी हेर्न मानिरहेका थिएनन्। ज्वरो आएका बिरामीलाई त कतिपय अस्पतालले गेट बाहिरैबाट फर्काउने समेत गरे।
अस्पतालले उपचार नै नगर्दा ननकोभिडका बिरामी भने मर्कामा परे। सुरुवाती दिनमा केही अस्पताल कोरोना संक्रमितको उपचारका लागि मात्र तयार भए भने केही अस्पताल कोरोनाको उपचार नै नगर्ने अवस्थामा समेत पुगे।
तर, ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एक यस्तो अस्पताल थियो, जसले कोरोना महामारीको सुरुदेखि नै कोभिडका बिरामीसँगै ननकोभिडका बिरामीको उपचारलाई पनि निरन्तरता दियो।
अस्पतालका निर्देशक डा रवि शाक्य भन्छन्, ‘सुरुदेखि नै कोभिड र ननकोभिड छुट्याएर उपचार ग¥यौं। कोभिडको मात्र हेर्दा अन्य बिरामी मर्कामा पर्छन् भनेर हामीले दुवैलाई मिलाएर उपचार गर्दै आएका छौं।’
सुरुवाती दिनमा अस्पतालले प्रत्येक बिरामीको स्क्रिनिङ गथ्र्यो, त्यो क्रम अहिले पनि जारी छ। ज्वरो आएका बिरामीका लागि अस्पतालले छुट्टै ज्वरो क्लिनिक पनि सञ्चालन गरेको छ।
नेपालमा कोरोना आउटब्रेक भएको बेला कतिपय अस्पतालले त ‘पहिला पिसिआर अनि उपचार’ समेत भने। तर पाटन अस्पतालको एउटै मान्यता थियो– कुनै पनि बहानामा बिरामी उपचारबाट बञ्चित हुनु हुँदैन।
‘धेरैजसो अस्पतालले पहिले पिसिआर रिपोर्ट देऊ अनि मात्र उपचार गर्छौं भने। तर पिसिआर भनेको आज गरेर पनि दुई दिनपछि त्यसको मान्यता हुँदैन। बिरामीलाई इमर्जेन्सी हुन्छ अनि पिसिआर रिपोर्ट नआएसम्म उपचार नगर्ने त? यो सही हुँदैन,’ निर्देशक शाक्यले भने।
सरकारले सबै अस्पताललाई कोभिडका लागि २५ प्रतिशत शय्या छुट्याउने निर्णय गर्नुअघि नै यस अस्पतालले लागू गरिसकेको थियो।
कोरोनाको उपचार र व्यवस्थापनका लागि यस अस्पतालले ‘डिजास्टर म्यानेजमेन्ट निर्देशिका’ निर्माण ग¥यो। यही निर्देशिका अनुसार कोरोना संक्रमितको उपचार र व्यवस्थापन हुने गर्छ।
जब स्वास्थ्यकर्मी नै संक्रमित हुन थाले...
कोरोना संक्रमितको उपचार गर्ने जोश–जाँगरका साथ अघि बढेको पाटन अस्पताललाई त्यतिखेर ठूलो धक्का लाग्यो, जब उपचारमा खटिने स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थाले।
निर्देशक शाक्य भन्छन्, ‘जब स्वास्थ्यकर्मी नै संक्रमित हुन थाले, त्यसपछि हामीलाई समस्या भएको थियो। हाम्रो लागि चुनौतीको विषय पनि यही थियो।’
हालसम्म आइपुग्दा पाटन अस्पतालमा कोरोनाबाट संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ४ सय नजिक छ। कुनै बेला त एउटै विभागका सबै स्वास्थ्यकर्मी समेत संक्रमित भए।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि कर्मचारी व्यवस्थापन डा शाक्यका लागि समस्याको पहाड बन्यो। तर उनले अस्पतालको सेवामा असर पर्न भने दिएनन्।
संक्रमितको चाप घट्यो तर बढ्यो जटिलता
कुनै बेला थियो, पाटन अस्पतालमा कोरोनाका दुई सय बढी संक्रमित दैनिक भर्ना हुन्थे। अहिले यो संख्या एक सयदेखि १ सय ४० को हाराहारीमा छ।
दैनिक तीन सय बढीको पिसिआर हुने पाटन अस्पतालमा अहिले एक सय पुग्न पनि मुश्किल छ। यसले पनि पुष्टि गर्छ, यहाँ भर्ना हुने र पिसिआर गर्ने बिरामीको संख्या घट्दो क्रममा छ।
बिरामीको चाप त घट्यो तर जटिलता भने झनै बढेको छ। सिकिस्त भएर आउने संक्रमितको संख्या घट्नुको साटो बढ्दै गएको डा शाक्य बताउँछन्। यही नै उनको लागि अर्को चुनौती पनि हो। पाटन अस्पतालमा दैनिक एक÷दुई जना संक्रमितको मृत्यु हुने गरेको अस्पतालको तथ्यांक छ।
‘आइसियुमा भर्ना गर्नुपर्ने र ज्यादै सिकिस्त भएर आउने बिरामी घटेका छैनन्’, शाक्य भन्छन्, ‘अहिले सामान्य लक्षण भएका संक्रमितलाई अस्पतालमा भर्ना हुनुभन्दा पनि हामी घरमै बस्छौं भन्नेहरु धेरै छन्।’
भेन्टिलेटरमा पुग्ने अधिकांश संक्रमितको मृत्यु हुने गरेको अस्पतालले जनाएको छ। भेन्टिलेटरमा पुगेका बिरामीलाई बचाउनु ठूलो चुनौती हुने गरेको शाक्य बताउँछन्।
बिरामीलाई भेन्टिलेटरमा पुग्न नदिन अस्पतालले मुखभित्र पाइप नराखी ‘हाई फ्लो अक्सिजन’ दिने गरेको छ। यसका लागि पनि छुट्टै १० शय्याको व्यवस्था गरिएको छ।
कोरोनासँग डराउनुभन्दा सावधानी अपनाउन आवश्यक रहेको उनी बताउँछन्। मानिसहरु अहिले लापरबाह हुँदै गएका कारण पनि जटिलता बढ्दै गएको उनी सुनाउँछन्।
‘अहिले धेरैले लापरबाही गर्न थालेका छन्। यसले सिकिस्त हुनेको संख्या बढाउँदै लगेको छ। कोरोनालाई हल्का रुपमा लिन हुँदैन,’ उनले भने।
पर्याप्त छैन, आइसियु र भेन्टिलेटर
सिकिस्त बिरामी बढ्न थालेपछि अस्पतालले आइसियु र भेन्टिलेटरको शय्या पनि बढाउनुप¥यो। २१ आइसियुलाई बढाएर २८ र १५ भेन्टिलेटरलाई बढाएर १९ वटा बनाइयो। हाल यस अस्पतालमा कोभिडका बिरामीका लागि हाल २८ आइसियु र १९ भेन्टिलेटर सहित २ सय ५० शय्या छन्। पाटन अस्पतालमा कुल ६ सय शय्या छन्। जसमध्ये २ सय ५० कोभिडका लागि छुट्याइएको छ।
आइसोलेसन वार्डहरु खाली हुँदै जाँदा आइसियु र भेन्टिलेटरका शय्या भरिभराउ नै छन्। अहिले पनि आइसियुको अभावमा दैनिक दुई जना बिरामीलाई फर्काउनुपर्ने अस्पतालको बाध्यता छ।
अहिले आइसियु र भेन्टिलेटर पर्याप्त छ? भन्ने प्रश्नमा डा शाक्य भन्छन्, ‘बिरामीलाई फर्काउनुपर्ने अवस्थालाई पर्याप्त कसरी भन्ने? आइसियु छैन भनेर बिरामीलाई दिनकै फर्काउनु परेको छ।’
अस्पतालले डायलाइसिस गर्नुपर्ने संक्रमित भर्ना हुने बित्तिकै आइसियु शय्या तयारी अवस्थामा राख्नुपर्ने उनी बताउँछन्। डायलाइसिस गर्नुपर्ने संक्रमितहरुमा जटिल समस्या आए तत्काल आइसियुमा भर्ना गर्नुपर्ने भएकाले तयारी अवस्थामा राख्ने गरिएको शाक्यले बताए।
कोभिड वार्डभित्र पनि विशेषज्ञ सेवा
पाटन अस्पतालले कोभिड वार्डभित्र पनि विभिन्न विशेषज्ञ सेवा सञ्चालन गरेको छ। अर्थात् बालबालिका, प्रसूति र डायलाइसिस गर्नुपर्ने संक्रमित पाटन अस्पताल पुगे भने उनीहरुले छुट्टै सेवा पाउँछन्।
कोभिड वार्डमा पनि बालबालिका, प्रसूति र मिर्गौलाका बिरामीका लागि छुट्टै व्यवस्था गरिएको निर्देशक शाक्यले बताए। कोभिड वार्डभित्र पनि प्रसूतिका लागि ३०, बालबालिकाका लागि ७ आइसियु सहित २० र डायलाइसिस गर्नुपर्ने संक्रमितका लागि ३ आइसियु सहित ६ शय्या छुट्याइएको छ।
डा शाक्यले भने, ‘डायलाइसिस गर्नुपर्ने कोरोना संक्रमितको उपचार पनि यहीं हुन्छ। हामी विस्तारै कोभिड वार्डभित्र पनि विशेषज्ञ सेवा सञ्चालन गर्नेतर्फ अघि बढिरहेका छौं।’
शव व्यवस्थापनमा सकस
कोरोना संक्रमित मृतकको शव व्यवस्थापन पनि पाटन अस्पतालको लागि अर्को चुनौती हो। यो समस्या सधैं निम्तने होइन। तर कुनै बेला शव व्यवस्थापन गर्नु अस्पतालको लागि टाउको दुखाइको कारण बनिदिन्छ।
‘सेनाले शव उठाउन पिसिआर पोजेटिभ भएको रिपोर्ट खोज्छ। कतिपय अवस्थामा रिपोर्ट नभए पनि डाक्टरहरुले क्लिनिकलको आधारमा यो पोजेटिभ हो भन्नुहुन्छ,’ डा शाक्य भन्छन्, ‘कुनै बेला एन्टिजेन पोजेटिभ र पिसिआर नेगेटिभ आउँछ। डेड सर्टिफिकेटमा हामीले कोरोनाको मृत्यु भनेर लेख्छौं तर सेनाले पिसिआर रिपोर्ट नभएपछि उठाइदिँदैन। यस्तो अवस्थामा शव उठाउन धौ–धौ पर्छ।’
कुनै बेला सेनाले पनि शव नउठाइदिने र परिवारलाई शव लैजाऊ भन्दा कोरोनाको कसरी लाने भन्ने गरेको उनले बताए।
केही परिवारले आफैंले पनि शव लगेका घटना पनि छन्। सुरुवाती दिनमा यस किसिमको समस्या निम्तने गरे पनि अहिले अवस्था केही सहज भएको उनी बताउँछन्।
कोभिडले ननकोभिड सेवा प्रभावित
कोरोना सुरु हुनुअघि पाटन अस्पतालमा सेवा लिन पुग्ने बिरामीको संख्या दैनिक करिब दुई हजार हुन्थ्यो। यो संख्या अहिले घटेर करिब पाँच सयमा झरेको छ।
अहिले ननकोभिडका बिरामीको संख्या विस्तारै बढ्दै छ। तर ननकोभिडलाई दिने सेवा भने प्रभावित भएको डा शाक्य बताउँछन्।
भर्ना गर्नुपर्ने ननकोभिडका बिरामीको संख्या बढ्दै जाने हो भने धान्न नसक्ने अवस्थामा पुग्ने हो की भन्ने डा शाक्यको चिन्ता छ। ननकोभिडको सेवा अवरुद्ध नभए पनि प्रभावित भने भएको शाक्य बताउँछन्।
‘ननकोभिडको सेवा हामीले अवरुद्ध गरेका छैनौं तर बेडको संख्या, जनशक्ति सबै कम भएको छ। किनभने हामीले ननकोभिडको बेड र जनशक्तिलाई कोभिडमा पनि प्रयोग गरेका छौं,’ उनले भने।
कर्मचारीको मनोबल कायम राख्न चुनौती
पाटन अस्पतालमा १२ सय कर्मचारी छन्। रेजिडेन्टलाई पनि गन्ने हो भने कर्मचारीको संख्या १७ सय पुग्छ। यी कर्मचारीमध्ये करिब ४ सय चिकित्सक, नर्स सहित ४ सय कर्मचारी कोभिडका लागि मात्र खट्छन्। तर बाँकी कर्मचारी नखट्ने भन्ने चाहिँ हुँदैन।
महामारीमा दिनरात खट्ने कर्मचारीको मनोबल उच्च राख्नु आवश्यक मानिन्छ। तर पाटन अस्पतालका लागि यो पनि अर्को ठूलो चुनौती हो। हालसम्म कर्मचारीलाई कुनै विशेषज्ञ सुविधा–भत्ता दिन नसकिएको शाक्य स्वीकार्छन्।
‘विगत ९ महिनादेखि हाम्रो कर्मचारीहरु अथक रुपमा लागिरहनु भएको छ,’ उनले भने, ‘तर हामीले विशेष किसिमको भत्ता, सेवा–सुविधा खासै नपाएको या दिन सकेका छैनौं।’
स्वास्थ्य मन्त्रालयले कोभिडका लागि पठाउने गरेको रकम बिरामीको उपचारका लागि मात्र पुग्ने गरेको उनले बताए। चालु खर्च आफैंले धान्नुपर्ने तर ननकोभिडका बिरामी पहिलाको जस्तो नभएकाले आर्थिक रुपमा कमजोर भएको उनको भनाइ छ।
‘पाटन अस्पताल सरकारी स्वामित्वको अस्पतालको हो। तर हाम्रो चालु खर्च हामी आफैंले कमाएर गर्नुपर्छ। त्यसैले कोभिड आएपछि हाम्रा लागि यो ठूलो समस्या हो,’ उनले भने।
जतिसुकै चुनौती भए पनि महामारीको समयमा बिरामीलाई सेवा दिन तयार रहेको उनी बताउँछन्।