काठमाडौं- नेपालमा चैत १० गते देशव्यापी रुपमा लकडाउन गरिएको थियो। कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनले गर्भवती तथा सुत्केरी प्रत्यक्ष प्रभावमा परे। परिणामस्वरुप लकडाउनको अवधिमा मृत्यु हुने सुत्केरीको संख्यामा वृद्धि भयो।
लकडाउन भएको पाँच महिनामा देशभर ९५ जना सुत्केरीले ज्यान गुमाए। परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार सोही अवधिको गत वर्षमा ज्यान गुमाउने सुत्केरीको संख्या ७६ थियो। लकडाउनको अवधिमा मृत्यु हुने सुत्केरीको संख्या त बढेको छ नै स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्यामा झनै कमी आएको छ।
चैतदेखि साउनसम्मको तथ्यांक अनुसार १ लाख ४८ हजार ९ सय २६ जना महिलाले मात्र स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका छन्। जबकी सोही अवधिमा गत वर्ष स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या १ लाख ६३ हजार ९ सय ८ थियो। गत वर्षको तुलनामा यस वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्या १४ हजार ९ सय ८२ जनाले घटेको छ।
गत वर्ष साउनमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या धेरै थियो। साउनमा मात्र ४७ हजार ६ सय ६१ जना महिला स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए। तर यस वर्षको साउनमा करिब १० हजारले घट्दै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या जम्मा ३७ हजार ५ सय ४९ जना छन्।
कुन महिनामा कति जना स्वास्थ्य संस्थामा सुत्केरी भए ?
परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा पुण्या पौडेलका अनुसार लकडाउनमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्या घट्नुका विशेषगरी दुई कारण छन्। पहिलो, यातायातको अभाव तथा समस्या र दोस्रो कोरोना सर्ने डर।
उनी भन्छिन्, ‘लकडाउनमा यातायात बन्द थियो र समस्या पनि। अर्को भनेको कोरोना सर्ने डरले धेरैजसो घरमै बस्नु भयो। बाहिर निस्कनु भएन। त्यही भएर पनि लकडाउनमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या घटेको हो।’
लकडाउनमा ठूला अस्पतालमा सुत्केरी हुने महिलाको संख्या घटे पनि बर्थिङ सेन्टरमा भने बढेको उनी बताउँछिन्।
‘लकडाउनमा ठूला अस्पताल जाने महिलाको संख्या घटेको हो। तर बर्थिङ सेन्टरमा भने बढेको छ।’ उनले भनिन्, ‘पहिले बर्थिङ सेन्टरलाई बाइपास गरेर ठूला अस्पताल जान्थे। तर यातायातको समस्या र कोरोनाको डर अधिकांश बर्थिङ सेन्टरमा गए।’
स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको संख्या घट्दा मातृ मृत्युदर बढ्न सक्ने, स्वास्थ्यमा जटिलता आउने र नवजात मृत्युदर बढ्न सक्ने उनी बताउँछिन्।
नेपालमा अझै पनि ४१ प्रतिशत बच्चाको जन्म घरमै हुने गरेको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार ५७ प्रतिशत बच्चाहरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका छन्।
लकडाउनमा बढेको नवजात मृत्युदर
लकडाउनमा मातृ मृत्युदर नभई नवजात मृत्युदर पनि बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या घट्नुको प्रत्यक्ष असर यहाँ स्पष्ट देखिन्छ। गएको पाँच महिनामा भएको नवजात मृत्युदरको संख्या सामान्य अवश्य पनि छैन।
गत वर्षको चैतदेखि साउनसम्म ९ सय ७० जना नवजात शिशुको मृत्यु भएको महाशाखाको तथ्यांक छ। यस वर्ष सोही अवधिमा करिब दोब्बरले बढ्दै १ हजार ४ सय २ नवजात शिशुको मृत्यु भएको छ। सबैभन्दा धेरै साउनमा नवजात मृत्युदर बढेको छ।
महाशाखाको तथ्यांक अनुसार गत वर्षको साउनमा १ सय ९६ जना नवजात शिशुको मृत्यु भएको थियो। जबकी यस वर्षको साउनमा नवजात शिशुको मृत्यु संख्या ८ सय ६१ पुगेको छ।
लकडाउनमा भएको यातायात बन्द, स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव, घरमै सुत्केरी हुँदा निम्तिएको जटिलताका कारण नवजात शिशु मृत्युदर बढेको डा पौडेल बताउँछिन्।
‘स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यामा कमी आउने बित्तिकै नवजात मृत्यु दर बढ्छ। घरमै सुत्केरी हुँदा विभिन्न स्वास्थ्य जटिलता निम्तिन्छ’, उनी भन्छिन्, ‘लकडाउनमा भएको यातायात बन्द र स्वास्थ्य संस्थामा पुगे पनि सेवा नपाउनु पनि यसका कारण हुन्।’
कुन महिनामा कति नवजात शिशुको मृत्यु?