काठमाडौं - मिडवाइफ अर्थात् दक्ष प्रसुतिकर्मी। चिकित्सकीय भाषामा अत्यावश्यक आधारभूत शिक्षा र दक्षता पुरा गरी मिडवाइफ्री अभ्यास गर्न योग्य स्वास्थ्यकर्मीलाई मिडवाइफ भनिन्छ। मिडवाइफ स्वस्थ प्रसुतिका लागि सक्षम जनशक्ति हुन्।
महिलाको गर्भमा शिशु भएदेखि जन्मिने बेलासम्मको रेखदेख गर्ने काम मिडवाइफको हो। स्वास्थ्य संस्थामा गर्भवतीलाई जाँच गर्ने, औषधि दिने, प्रसुति गराउने र सुत्केरी भइसकेपछि उनीहरुको स्याहार गर्ने मात्र नभई उनीहरुलाई शारीरिक र मानसिक रुपमा तयार बनाउनु पनि उनीहरुको मुख्य काम अन्तर्गत पर्दछन्।
मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण मानिन्छ। विकसित मुलुकहरुमा नवजात शिशुको स्याहारका लागि मिडवाइफ पहिलो रोचाइमा परेपनि नेपालमा भने यसको महत्व अझै बुझाउन सकिएको छैन।
नेपालमा अझै पनि प्रतिलाख जीवित शिशुको जन्म हुँदा २ सय ३९ जना आमाको मृत्यु हुन्छ। नेपालमा हुने मातृ मृत्युदरका विभिन्न कारणमध्ये दक्ष प्रसुतिकर्मीको अभाव पनि एक हो। आगामी ९ वर्ष भित्र मातृ मृत्युदर ७० मा झार्ने सरकारको दिगो विकास लक्ष्य छ। तर मातृ मृत्युदर घट्नुको साटो झन् बढेको छ।
कोरोनाको नियन्त्रणका लागि भन्दै सरकारले गरेको लकडाउनको असर सुत्केरी तथा गर्भवतीमा प¥यो। परिणास्वरुप साविकको भन्दा उक्त अवधिमा ज्यान गुमाउने सुत्केरीको संख्यामा वृद्धि भयो। यसले पनि मातृ मृत्युदर घटाउने सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको छ।
करिब पाँच महिना भएको लकडाउनको अवधिमा ९५ जना सुत्केरीले ज्यान गुमाए। चैत देखि साउन महिनाको अवधिमा ९५ जना सुत्केरीको मृत्यु भएको परिवार कल्याण महाशाखाको तथ्यांक छ। जबकी गत वर्षको यही समयमा ज्यान गुमाउने सुत्केरीको संख्या ७६ थियो।
लकडाउनमा सुत्केरीहरुले ज्यान गुमाउनुका विभिन्न कारणहरु छन्। जसमध्ये दक्ष प्रसुतिकर्मीको अभाव पनि एउटा कारण हुन आउँछ।
परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा पुण्या पौडेल लकडाउनमा भएका सुत्केरीको मृत्युका विभिन्न कारणमध्ये दक्ष प्रसुतिकर्मीको अभाव भएको बताउँछिन्।
भौगोलिक विकटता भएको नेपाल जस्तो मुलुकमा मिडवाइफको भूमिका महत्वपूर्ण मानिन्छ र आवश्यकता पनि। तर नेपालमा मिडवाइफ जनशक्ति अत्यन्तै न्यून छ। मिडवाइफको संख्या नेपालमा औलामा मात्र सीमित छन्। सन् २००२ मा सुरक्षित मातृत्वको आवाज उठेपछि मिडवाइफको चर्चा चल्न थालेको हो।
मिडवाइफ्री सोसाइटी अफ नेपालका अनुसार नेपालमा हाल ७ जना मिडवाइफ जनशक्ति मात्र छन्। त्यसमा पनि ३ जना स्टाफ नर्सको दरबन्दीमा सरकारी सेवामा छन्। अहिलेको अवस्थामा नेपालमा करिब १७ हजार मिडवाइफको आवश्यकता छ।
हुन त नेपालमा मिडवाइफ्रीको पढाई हुन थालेको चार वर्ष मात्र भयो। सरकारले पेसागत मिडवाइफ (प्रसाविका) को विकास गर्न सन् २००६ मा दक्ष प्रसुतिकर्मी नीति ( नेशनल पोलिसी अन स्कील्ड बर्थ एटेन्डेन्स ) समेत ल्याएको थियो।
सोही नीतिले मिडवाइफ्री अध्ययनका लागि बाटो खुला गर्यो। मिडवाइफ्री सोसाइटी अफ नेपालको लगातार लबिङका कारण नीति आएको झण्डै १० वर्षपछि सन् २०१६ मा काठमाडौं विश्वविद्यालय धुलिखेलमा मिडवाइफ्रीको ब्याजलर तहको अध्ययन सुरु भएको थियो। त्यसपछि सन् २०१६ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स ) र सन् २०१८ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिडवाफ्रीको अध्ययन हुन्छ।
मातृ मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण भएपनि बुझाउन नसकिएको मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष लक्ष्मी तामाङ बताउँछिन्। सुरक्षित रुपमा प्रसुति गराउन पाउनु महिलाको अधिकार हो। यो अधिकारको रक्षा मिडवाइफले गर्न सक्ने उनको भनाई छ।
यौन तथा प्रजनन् स्वास्थ्य सेवाका लागि मिडवाइफ जनशक्ति नै उपयुक्त भएको विश्व स्वास्थ्य संगठन लगायत विभिन्न अन्तर्राष्ट्रिय संगठनले उल्लेख समेत गरेको उनले बताइन्।
उनले भनिन्, ‘मिडवाइफ जनशक्ति भए मात्र मातृ मृत्यु मात्र नभई सम्मानजनक प्रसुति सेवा पाउनुका साथै समग्र महिलाको प्रजनन् स्वास्थ्यमा सशक्तिकरण गराउन यसको अहम भूमिका छ भनेर विभिन्न अध्ययनको दस्तावेजले पनि भनेको छ।’
मिडवाइफको महत्व बुझाउन नसक्दा नै राज्यले नीतिगत रुपमा निर्णय गरेपनि कार्यान्वयन हुन नसकेको उनी बताउँछिन्। सरकारले मिडवाइफका लागि नीति ल्याएपनि उक्त नीति कागज र निर्णयमा मात्र सीमित भएकोे उनको भनाई छ।
उनी भन्छिन्, ‘सरकारले अझै पनि जति प्राथमिकता दिनुपर्ने हो दिएको छनै। नीतिगत रुपमा निर्णय भयो तर यो स्वास्थ्य मन्त्रालयको कागजमा मात्र सीमित छ। कार्यान्वयनमा छैन।’
स्वास्थ्य सेवा विभागकी नर्सिङ महाशाखा निर्देशक रोशनीलक्ष्मी तुईतुई बच्चाको पूर्व तयारीदेखि जन्मि सकेपछि राम्रो स्याहार पाउन सके मात्र मातृ मृत्युदरसँगै नवजात मृत्युदर घटाउन सकिने बताउँछिन्। यसका लागि मिडवाइफको भूमिका महत्वपूर्ण हुने उनले बताइन्।
‘शिशु जन्मने बेलामा मात्र नभई महिला गर्भवती हुनुभन्दा पूर्व तयारीदेखि गर्भवती अवस्थाको स्याहार, शिशु जन्माउने तयारी, गुणस्तरीय सेवा र शिशु जन्मेपछिको राम्रो स्याहार गर्न सके मात्र मातृ मृत्यु दरसँगै नवजात शिशु मृत्युदर घटाउन सकिन्छ।’ उनले भनिन्।
स्वास्थ्य संस्थामा गर्भवतीको परीक्षण र शिशु जन्माउने प्रक्रियामा मात्र नभई गर्भवती हुनुअघि देखि सुत्केरी हुँदासम्म शारीरिक र मानसिक रुपमा स्वस्थ तरिकाले सहज रुपमा प्रसुति गराई आमा र बच्चाको ज्यान बचाउन मिडवाइफको भूमिका महत्वपूर्ण हुने उनी बताउँछिन्।
नेपालमा मिडवाइफको आवश्यकता धेरै भएपनि जनशक्ति निकै कम रहेको उनी स्वीकार्छिन्। अहिले दुई तरिकाबाट मिडवाइफ उत्पादन गर्ने काम भइरहेको उनले जानकारी दिइन्।
पहिलो, शैक्षिक प्रक्रिया। जसमा ब्याचलर तहको मिडवाइफ्री अध्ययन हुन्छ। यस्तै भएका अनमीलाई अपग्रेड गर्नका लागि पिसिएल मिडवाइफ्री अध्ययन सञ्चालन गर्नुपर्छ। यसको पढाई सुरु गर्नका लागि शिक्षा मन्त्रालय अन्तर्गत सिटिईभिटिईबाट पिसिएल मिडवाइफ्री उत्पादन गर्न सकिने उनले बताइन्।
दोस्रो, पिसिएल लेभलको नर्सेसलाई पिसिएल लेभलको मिडवाइफमा लैजाने। यसका लागि पिसिएल लेभलको नर्सेसलाई मिडवाइफ बन्नका लागि चाहिने र कम भएका ज्ञान र सिपलाई निश्चित समयको ब्रिज कोर्स दिएर मिडवाइफमा लाने योजना रहेको उनले बताइन्। यसका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत काम भइरहेको छ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार दक्ष र सक्षम मिडवाइफको सहायताले मातृ मृत्युदर र नवजात मृत्युदरलाई ८० प्रतिशत भन्दा बढी रोक्न सकिन्छ। मातृ तथा नवजात मृत्युदर रोक्न मात्र नभई गुणस्तरीय मिडवाइफ्री सेवाले यौन तथा प्रजनन् स्वास्थ्य, खोप, स्तनपान, गर्भावस्थामा सुर्तिजन्य पदार्थको प्रयोग, गर्भावस्थामा हुने मोटोपन लगायत सम्बन्धी सम्बन्धी समस्यामा ५० प्रतिशतभन्दा बढी सुधार गर्न सकिने डब्लुएचओले उल्लेख गरेको छ।
यो पनि