काठमाडौं– कोरोनाको आशंकामा नेपालमा दैनिक हजारौं कोरोना परीक्षण हुन्छन्। पिसिआर परीक्षणबाट मात्र व्यक्ति कोरोना संक्रमित भए÷नभएको थाहा पाउन सकिन्छ।
पिसिआर परीक्षण कोरोना संक्रमण भए/नभएको पत्ता लगाउने विधि मात्र हो, संक्रमणमुक्त हुनु होइन। तर अधिकांश व्यक्तिले यसलाई बुझेका छैनन्।
कोरोनाको आशंकामा व्यक्तिले पिसिआर परीक्षण त गराउँछन् तर रिपोर्ट नेगेटिभ आउने बित्तिकै उनीहरु संक्रमणमुक्त भएजसरी व्यवहार गर्छन्। समाजमा आफूलाई कोरोना संक्रमण नै नलाग्ने झैँ निस्फिक्री हिँडडुल समेत गर्ने गर्छन्। जुन सरासर गलत कार्य भएको चिकित्सक बताउँछन्।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्, ‘व्यक्तिहरु पिसिआर गरेपछि संक्रमणमुक्त भए जसरी हिँड्छन्, त्यो गलत हो। कोरोना रिपोर्ट नेगेटिभ आउनु भनेको जथाभावी हिँड्ने छुट होइन।’
डा पुन यसलाई यसरी प्रष्ट्याउँछन्, ‘कुनै व्यक्तिले चार बजे पिसिआर परीक्षण गर्छ। त्यसपछि त्यो व्यक्ति मजाले साथीभाइसँग घुलमिल अनि भेटघाटमा रमाउन थाल्छ। तर त्यो चार बजेको परीक्षणले उसलाई नेगेटिभ देखाए पनि उसले सावधानी नअपनाएमा ५ मिनेटभित्रै संक्रमित पनि हुनसक्छ।’
कुनै पनि पिसिआर परीक्षणले सतप्रतिशत नतिजा दिन नसक्ने डा पुन बताउँछन्। सही समयमा सही तरिकाले पिसिआर परीक्षण नगर्दा नतिजा नेगेटिभ आउन सक्ने उनले बताए। त्यसैले पिसिआर नेगेटिभ आउँदैमा ढुक्क हुन नहुने उनको भनाइ छ।
डा पुन भन्छन्, ‘पिसिआरले कोरोना पत्ता लगाउने सतप्रतिशत सम्भावना सधैं रहँदैन। कतिपयले सही समयमा पिसिआर नगर्दा पनि नतिजा सही आउँदैन।’
कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिले १४ दिनसम्म थप सतर्कता अपनाउनुपर्नेमा उनी जोड दिन्छन्।
अर्का सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी पनि सही समयमा नगरिएको परीक्षणले सही नतिजा देखाउने सम्भावना कम हुने बताउँछन्। लक्षण सुरु हुनासाथ गरिएको पिसिआर परीक्षणले मात्र सही नतिजा देखाउने सम्भावना धेरै हुने उनले बताए। तर लक्षण सुरु भएको ४-५ दिनपछि गरिएको परीक्षणले सही नतिजा देखाउने सम्भावना करिब ५० प्रतिशत मात्र हुने उनले बताए।
नेपालमा पिसिआर परीक्षणको गुणस्तर समेत कम भएकाले सधैं सही नतिजा दिने सम्भावना नरहको उनी बताउँछन्।
डा सुवेदी भन्छन्, ‘लक्षण सुरु भएको ४-५ दिनपछि पिसिआर गर्दा सही नतिजा देखाउने सम्भावना कम हुन्छ। नेपालमा पिसिआर परीक्षणको गुणस्तर पनि कम नै छ।’
परीक्षण नेगेटिभ आए पनि घरमै बस्नुपर्ने र सावधानी अपनाउन आवश्यक रहेको उनले बताए। पिसिआर नेगेटिभ आउँदैमा ढुक्क भएर नहिँड्न डा सुवेदीको आग्रह छ।
उनका अनुसार कोही व्यक्ति संक्रमितको सम्पर्कमा आएको छ र ती व्यक्तिमा हाल लक्षण छैन अनि पिसिआर पनि नेगेटिभ आएको छ भने ढुक्क हुन सकिँदैन। साथै पिसिआर गर्न हतार पनि गर्न नहुने उनले बताए।
संक्रमितको सम्पर्कमा आउने बित्तिकै भन्दा पनि ८-१० दिनपछि मात्र पिसिआर गर्नुपर्ने डा सुवेदी सुझाउँछन्। यो बेला गरिएको परीक्षणमै सही नतिजा आउने सम्भावना पनि धेरै हुने उनले बताए।
उनले भने, ‘संक्रमित व्यक्तिको सम्पर्कमा आउने बित्तिकै पिसिआर परीक्षण गर्न हतार गर्नु हुँदैन। केही दिन क्वारेन्टाइनमा बस्नुपर्छ। अनि सम्पर्कमा आएको ८-१० दिनपछि परीक्षण गर्दा सही नतिजा आउने सम्भावना धेरै हुन्छ।’
छिटो परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि २-४ दिनपछि रिपोर्ट पोजेटिभ आउन सक्ने सम्भावना पनि हुन्छ। धेरैजसोले सही समयमा परीक्षण नगर्दा पनि कोरोनाको रिपोर्ट नेगेटिभ आउने गरेको उनी सुनाउँछन्। सामान्यतयाः लक्षण सुरु भएको १० दिनसम्म संक्रमित व्यक्ति संक्रामक हुनसक्ने उनले बताए।
कुन व्यक्ति संक्रमित हो-होइन भनेर छुट्याउन नसकिने भएकाले आवश्यक सतर्कता अपनाउन उनीहरुको सुझाव छ।