हेमा न्यौपाने
काठमाडौं- मेरो घर सुर्खेत हो। मलाई सानैदेखि तिहार सबैभन्दा मनपर्ने चाड हो। तिहारमा आँगनमै फूल फुलेको देख्दा गाउँनै उज्यालो भएजस्तो लाग्थ्यो। तिहार भनेपछि मेरो मनमा छुट्टै खालको आनन्द अनुभूति महसुस हुन्छ।
मलाई देउसी–भैलो खेल्न निकै मन पर्छ र अरुहरुले खेलेको हेर्न पनि रमाइलो लाग्छ। त्यसैले सानो बेलामा हामी तीन दिदीबहिनी दसैंभन्दा अगाडिदेखि नै देउसी–भैलो कसरी खेल्ने, कुन गीतमा नाच्ने भनेर तयारी गथ्र्यौं। हामीहरु अंकलका छोराहरुसँग टाढाटाढासम्म देउसी–भैलो खेल्न जान्थ्यौं।
देउसी–भैलो खेलेर उठेको पैसाले सबै जना मिलेर पिकनिक मनाउँथ्यौं।
परिवारमा बुबा–ममी र हामी तीन बहिनी छौं। हाम्रो आफ्नै दाजुभाइ छैनन्। पहिलापहिला ठूलो बुबाका छोराहरुलाई टीका लगाइदिन्थ्यौं। पछि जागिर गर्न थालेपछि र बिहे भएपछि भने तिहार राम्रोसँग मनाउन पाएको छैनभन्दा पनि हुन्छ।
हाम्रो पेसामा दसैं–तिहार दुवै चाड मनाउन बिदा मिल्दैन। एउटा चाडमा मात्र बिदा पाइन्छ। दसैंमा बिदा बसेका तिहारमा बस्न पाउँदैनन्। घरमा दसैंको बेलामा अन्य बेलाभन्दा धेरै काम हुने हुँदा र दाजुभाइ नभएकाले म प्रायः बिदा बस्छु।
आजभोलि पहिलाको जस्तो तिहारमा रमाइलो लाग्दैन। तिहारमा देउसी–भैलो खेल्ने फुर्सद पनि हुँदैन र अरु खेलेको हेर्न पनि नपाएको धेरै वर्ष भइसकेको छ।
यसपालिको तिहारमा ड्युटी परेको छ। अस्पतालमा संक्रमितको सेवा गरेर तिहार मनाउने योजना बनाएको छु।
(न्यौपाने कोहलपुर मेडिकल कलेजकी सिनियर स्टाफ नर्स हुन्।)