काठमाडौं- लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्तिहरु मात्र होम आइसोलेसनमा बस्नुपर्ने हो। तर गम्भीर खालका लक्षण भएका संक्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका छन्।
नेपालमा हाल ३५ हजार ४ सय १९ जना सक्रिय संक्रमित छन्। यी सबै सक्रिय संक्रमित विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचारत छन्। सक्रिय संक्रमितमध्ये २९ हजार १ सय ९७ जना होम आइसोलेसनमा छन्। बाँकी ६ हजार २ सय २२ जनाको मात्र संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।
यसअघि शनिबार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या २८ हजार ९ सय २० र शुक्रबार २८ हजार ९ सय ९३ थियो।
यो तथ्यांकले पनि संक्रमितहरु घरमै बसेर उपचार गरिरहेको र यसको संख्या बढ्दै गएको पुष्टि गर्छ। तर चिकित्सकले भने लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा नबस्न सुझाव दिन्छन्।
गम्भीर खालका लक्षण भएका संक्रमित होम आइसोलेसनमा बस्दा समस्या जटिल हुने र बिरामीको मृत्यु हुने बताउँछन् चिकित्सक। यद्यपि, होम आइसोलेसनमा बसेका कति संक्रमितको मृत्यु भयो भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग तथ्यांक छैन।
कस्ता व्यक्ति होम आइसोलेसनमा बस्ने र कस्तो अवस्थामा समस्या बढेर जान्छ भन्ने विषयमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलासँग कुराकानी गरेका छौं। प्रस्तुत छ, डा बाँस्तोलाले दिएका सुझावहरुः
धेरैजसो कोरोना संक्रमित अहिले होम आइसोलेसनमा छन्। समस्या भएका र गाह्रो भएका संक्रमित पनि होम आइसोलेसनमै छन्।
लक्षण सहितको कोरोना संक्रमितमा निमोनियाको लक्षण देखिन करिब ५ देखि १० दिन लाग्छ। त्यो बेलासम्म ज्वरो हटिसकेको हुन्छ। कुनै व्यक्तिमा खोकी अलिअलि मात्र लागेको हुन्छ भने कोही व्यक्तिमा खोकी बढेर जान्छ। त्यसैले खोकीलाई निको पार्छु भन्दै कोही व्यक्तिहरु औषधि खाएर घरमै बसिरहेका हुन्छन्।
प्रायजसो समस्या राति सुत्ने बेलामा बढेर जान्छ। रातिको समयमा श्वासप्रश्वासको समस्या पनि बढ्छ। अहिले धेरै जना गाह्रो हुँदाहुँदै पनि घरमै अर्थात् होम आइसोलेसनमा बसेका छन्।
समस्या बढे मात्र अस्पताल पुग्नेहरु धेरै
अहिले यस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने धेरैजसो बिरामी होम आइसोलेसनमा बसेकाहरु छन्। त्यसमा पनि निमोनिया लिएर आउन थालेका छन्। यतिसम्म कि घरमा बसेका संक्रमितमा अक्सिजनको कमी हुँदा घरमै अक्सिजन सिलिन्डर लिएर समेत जाने गरेका छन्। विशेषगरी वृद्धवृद्धाका लागि यो बढी देखिएको छ।
घरमै अक्सिजन दिँदा पनि रगतमा अक्सिजनको मात्रा देखिएन भने मात्र अस्पताल ल्याउने गरेको देखिन्छ। शरीरमा अक्सिजनको मात्रा कम भएको अवस्थामा मात्र अक्सिजन दिएर राम्रो हुने हो। तर यसले निमोनियाको उपचार हुँदैन। निमोनियाको उपचार फरक हुन्छ। निमोनियाको उपचार गर्न अस्पताल नै आउनुपर्छ। यस्ता व्यक्तिहरु तत्काल अस्पताल जानुपर्छ। घरमै निको हुन्छ भनेर बस्नु हुँदैन।
अक्सिजन दिएर स्वास्थ्य अवस्था सुधार हुन्छ भनेर घरमै बस्दा निमोनियाको समस्या बढेर जान्छ। घरमै लगेको अक्सिजन सकिएपछि मात्र अस्पताल आउनेहरु पनि छन्। खोकी र ज्वरो बढिरहेको छ भने तुरुन्त अस्पताल आउनुपर्छ। निमोनिया भएर पनि घरमै बस्यो भने जटिलता बढ्छ। उपचार गर्दा पनि सुधार नहुन सक्छ।
होम आइसोलेसनमा कस्ता व्यक्ति बस्ने र के गर्ने?
लक्षणविहीन, सामान्य रुघाखोकी लागेका र सामान्य लक्षण भएका व्यक्तिहरु मात्र होम आइसोलेसनमा बस्ने हो। तर लगातार ज्वरो आइरहेको छ, खोकी लागिरहेको छ भने चिकित्सकसँग भेट्नुपर्छ। चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन गर्नुपर्छ।
अक्सिमिटरको प्रयोगले अक्सिजनको मात्रा जाँच गरिरहनुपर्छ। होम आइसोलेसनमा अक्सिजनमा बसेर अक्सिजनको मात्रा सन्तुलित देखिए पनि निमोनियाको उपचार नपाउँदा निमोनिया बढ्न सक्छ। यसले निमोनिया झन् जटिल हुने भएकाले तुरुन्त नजिकको अस्पताल जानुपर्छ। यति मात्र होइन, अक्सिजन लिएर या बिना अक्सिजन बसे पनि श्वासप्रश्वासनमा समस्या आउन थाले ढिला नगरी अस्पताल जानुपर्छ।
विभिन्न सामाजिक सञ्जालमा प्रचार गरिएका औषधिहरु आफूखुसी खानु भएन। यसले व्यक्तिलाई औषधि खाइरहेको छु भन्ने भान हुन सक्छ। तर निमोनियाको उपचार यसले हुँदैन।
यदि लक्षण भएका व्यक्तिहरु घरमै बसे भने समयमै उनीहरुले उपचार पाउन सक्दैनन्। त्यस्ता व्यक्तिलाई गरिएको उपचार पनि प्रभावकारी नहुन सक्छ। जटिलता आउन सक्छ। अस्पताल समयमै नपुगे ती व्यक्तिहरुको होम आइसोलेसनमै मृत्यु समेत हुन सक्छ।