धनगढी- सारा विश्व कोरोना महामारीसँग जुधिरहेको थियो। नेपाल सरकारले कोरोना संक्रमण फैलन नदिन चैत ११ गतेदेखि देशैभर लकडाउन जारी गरेको थियो।
सुदूरपश्चिम प्रदेशमा चैत १४ गते कैलालीको धनगढी उपमहानगरपालिका– ५ का एक जनामा कोरोना संक्रमण पुष्टि भयो। योसँगै सुदूरपश्चिम प्रदेश पनि कोरोना संक्रमणबाट अछुतो रहेन।
वैशाखसम्म प्रदेशका दुई जिल्लामा मात्र कोरोना संक्रमित देखिए पनि जेठमा ९ वटै जिल्लामा धमाधम कोरोना संक्रमित थपिँदै गए। जेठ १८ गते बाजुरामा पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भयो। भारतबाट फर्केर क्वारेन्टाइनमै बसेका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको थियो।
बाजुरा जिल्ला सुदूरपश्चिम प्रदेशको दुर्गम मानिन्छ। न यातायातको राम्रो सुविधा न त स्वास्थ्य संस्थाहरुमा स्थानीयको पहुँच छ।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने, ‘जेठदेखि बाजुरामा संक्रमणको दर बढ्दै गयो।’ उनका अनुसार स्वास्थ्य कार्यालय बाजुराले साउनसम्म चार हजार पा“च सय व्यक्तिहरुको स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो। उनले भने, ‘परीक्षण गरिएका स्वाबमध्ये पा“च सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।’ उनका अनुसार बाजुरामा साउन २० गतेबाट नया“ संक्रमित फेला परेका थिएनन्।
‘भारतबाट फर्केका व्यक्तिहरुमा कोरोना संक्रमण देखिँदै गयो,’ पन्तले भने, ‘क्वारेन्टाइन र अस्पतालमा संक्रमितहरुको व्यवस्थापन गरियो।’ उनका अनुसार बाजुरामा एक सय ६३ क्वारेन्टाइन स्थापना गरिएको थियो। बाजुरामा मात्र ९ हजार व्यक्तिहरु भारतबाट फर्केका थिए।
स्वास्थ्य कार्यालय बाजुराका अनुसार संक्रमण समुदायमा फैलिएको–नफैलिएकोबारे समुदायस्तरबाटै स्वाब संकलन गरेको थियो। स्वास्थ्य कार्यालयका प्रमुख पन्तले भने, ‘प्रत्येक घरका एक जना सदस्यको स्वाब संकलन गरियो। पा“च सय ८६ घरधुरीको स्वाब परीक्षण गर्दा सबैको नतिजामा संक्रमण पुष्टि भएन।’
उनले क्वारेन्टाइनलाई व्यवस्थित गर्नु, परीक्षणको दायरा तीव्र बनाउनु र संक्रमितको निगरानी गरिरहँदा समुदाय स्तरमा संक्रमण नफैलिएको बताए।
एक लाख ५४ हजार जनसंख्या रहेको बाजुरा जिल्लामा झन्डै दुई महिनासम्म सक्रिय संक्रमित नरहेको सो जिल्लामा असोजको अन्तिम साता ६ जनामा कोरोना संक्रमण पुष्टि भयो। कैलाली, सिरह, सप्तरी र रुकुम लगायतका स्थानबाट अध्यापन गराउन गएका ६ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो। प्रमुख पन्तले भने, ‘सुरुमा एउटा शिक्षकमा कोरोना संक्रमण पुष्टि भयो। पछि उनीसँगै आएका अन्य पा“च जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भयो।’ उनले ती शिक्षक अहिले आ–आफनै जिल्लामा फर्किएको बताए।
अहिले स्वास्थ्य निर्देशनालयले दैनिक जारी गर्ने प्रेस विज्ञप्तिमा बाजुरामा सक्रिय संक्रमितको संख्या ६ जना रहेको छ। प्रमुख पन्तको दाबी छ, ‘मन्त्रालयले जिल्लामा ६ जना सक्रिय संक्रमित देखाए पनि अहिले त्यहा“ शून्य संक्रमित रहेका छन्।’
हेलिकोप्टरबाट स्वाब पठाउनुपर्ने बाध्यता
‘भौगोलिक विकटताका कारण बाजुराका सबै क्वारेन्टाइनमा गाडि जाने सडक छैन। प्रयोगशाला कर्मचारीहरुलाई स्वाब संकलनको लागि क्वारेन्टाइनमा पठाउँदा पैदल दुई–तीन दिन लाग्ने स्थानहरु पनि रहेका छन्,’ बाजुरा स्वास्थ्य कार्यालयले वैशाख ३० गते कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, छाउनी, काठमाडौंलाई स्वाब संकलनका लागि हेलिकोप्टरको व्यवस्था गरिनदिन भनी पठाएको पत्रको व्यहोरा हो यो।
सोही पत्रपछि बाजुराबाट दुई पटक स्वाब हेलिकोप्टरमार्फत विभिन्न प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। स्वास्थ्य कार्यालय प्रमुख पन्तले भने, ‘हेलिकोप्टरबाटै स्वाब पठाउ“दा लागत बढ्न लाग्यो। एक जनाको स्वाब पठाउन झन्डै २० हजारभन्दा बढी खर्च आइरहेको थियो।’
उनले हेलिकोप्टरबाट स्वाब पटक–पटक पठाउन सम्भव नभएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रबाट निर्णय गराए। निर्णय थियो, ‘धनगढीका लागि जाने सरकारी गाडिले स्वाब बोकेर सेती प्रयोगशाला पु¥याउनुपर्ने।’ उनका अनुसार दैनिकजसो कुनै न कुनै सरकारी कार्यालयको गाडी धनगढी आउने गरेकाले सो निर्णय गराएको बताए। सो निर्णयले बाजुरामा संकलन भएका स्वाब परीक्षणका लागि समयमै धनगढी प्रयोगशालामा पुग्न थालेका थिए। उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, संकट व्यवस्थापन केन्द्रका पदाधिकारी, स्थानीय लगायतको साथ र सहयोगका कारण कोरोना नियन्त्रणमा सहजता भएको थियो।’
धमाधम फर्कंदा जोखिम बढ्यो
दसैंमा जिल्लामा थुप्रै मानिस भित्रिएका छन्। उनीहरूको कुनै पनि व्यवस्थापन छैन। ‘बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा पनि राखिएन। व्यवस्थापन नै गर्न सकिएन,’ स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले भने।
अहिले जिल्ला कोरोना संक्रमण व्यवस्थापन समिति र स्थानीय तहमा एकै पटक आर्थिक संकट परेको छ। ‘यही बेला जिल्लामा धमाधम नागरिक भित्रिरहेका छन्, तत्काल केही गर्न सकिएन भने नियन्त्रित संक्रमण पुनः फैलिन सक्छ,’ उनले भने। प्रदेश सरकरस“ग बजेट माग गरिएको भए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए।
‘राम्रो समन्वयकै कारण वैशाख, जेठमा कोरोनाको ‘हटस्पट’ बनेको बाजुरामा हालसम्म समुदाय स्तरमा कोरोना संक्रमण फैलन पाएको छैन’, स्वास्थ्य कार्यालय प्रमुख पन्तले भने, ‘तर तत्कालै हामीले बजेट नपाए अवस्था बिग्रिने पक्का छ।’
उनले अहिले बजेट सकिएको र तत्काल थप बजेट प्राप्त नभए मिहिनेत बालुवामा पानी हालेझै हुने प्रतिक्रिया दिए।
उनका अनुसार स्थानीय तहलाई आ–आफनो पालिकामा क्वारेन्टाइन बनाएर नागरिकको स्वास्थ्य परीक्षणपछि मात्रै घर पठाउन अनुरोध गरिए पनि त्यस्तो नगरेको बताए।
उनले भने, ‘स्थानीय तहले पनि बजेट अभाव रहेको भन्दै नागरिकलाई क्वारेन्टाइनमा राख्न सक्दैनौं भनेका छन्, यसले बाजुरामा पुनः कोरोना संक्रमणको भयावह स्थिति सिर्जना हुन सक्ने देखिएको छ।’