काठमाडौं- कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउन पिसिआर परीक्षण गरिन्छ। पिसिआरले भाइरस लोडको अवस्था के–कति छ भन्ने समेत देखाउँछ, जसलाई साइकल थ्रेसहोल्ड (सिटी) भ्यालुका रुपमा परिभाषित गरिएको छ।
उक्त भ्यालुले संक्रमणको अवस्था र उपचारको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग गर्छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सिटी भ्यालु हुने संक्रमितको संख्या बढ्दै गएको छ। शुक्रराज अस्पतालमा पिसिआर गराउनेमध्ये ५१ प्रतिशतको ३० बढी सिटी भ्यालु रहेको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले बताए।
उनका अनुसार कात्तिक ११ देखि १६ गतेसम्म पिसिआर गराउनेमध्ये ५१ प्रतिशतको सिटी भ्यालु ३० बढी छ। यसअघि कात्तिक १ देखि १० गतेसम्म पिसिआर गराउनेमध्ये ३६ प्रतिशतको सिटी भ्यालु ३० बढी थियो
उनले भने, ‘यो तथ्यांक र अवस्था शुक्रराज अस्पतालमा परीक्षण गराउन आउनमध्येको मात्र हो। यसले सबै ठाउँको व्याख्या गर्दैन।’
सिटी भ्यालु हुनेको संख्या बढ्दै जानु भनेको निको हुने संक्रमितको संख्या पनि बढ्दै गएको डा बाँस्तोलाले बताए। उनी भन्छन्, ‘सिटी भ्यालुको संख्या बढ्दै जानु भनेको निको हुने संख्या र संक्रमित दर पनि केही घट्दै गएको हो कि भन्ने बुझिन्छ।’
उनका अनुसार सिटी भ्यालु हुनेको संख्या बढ्दै जानुको पछाडि दुई वटा कारण हुनसक्छ। एक, सुरुमा परीक्षण गराउनेकोमा बढेको हो भने समुदायमा निको हुनेको संख्या बढ्दै गएको हुनसक्ने बुझिन्छ। दोस्रो, पहिले पोजेटिभ आएका व्यक्ति पुनः दोस्रो, तेस्रो पटक परीक्षण गराउन आउँदा पनि यस्तो हुनसक्छ।
सिटीको थोरै भ्यालुलाई अधिक भाइरल लोड रहेको मानिन्छ। यसको अंक जति कम हुँदै गयो त्यति धेरै बढी भाइरल लोड भएको मानिने उनले बताए। यद्यपि उक्त अंक परीक्षणमा प्रयोग हुने मेसिन, नमुना संकलन विधि, तापक्रम लगायतमा भर पर्ने उनले बताए।
एकै व्यक्तिको पनि नाक र घाँटीबाट निकालिएको स्वाबको नतिजामा समेत सिटी भ्यालु फरक देखिन सक्ने उनले बताए। सिटी भ्यालु कम हुँदैमा गम्भीर समस्या आउने भन्ने पनि नहुने उनले जानकारी दिए।
समुदायमा गरिएको पिसिआर परीक्षणका क्रममा सिटी भ्यालु हुनेको संख्या बढ्दै गएको पाइए निको हुनेको संख्या पनि बढ्दै गएको बुझ्न सकिने उनले बताए।
उनले भने, ‘समुदायमा गरिएको पिसिआर परीक्षणमा सिटी भ्यालु भएको व्यक्तिको संख्या बढ्दै गयो भने समुदायमा निको हुनेको संख्या बढ्दै गएको र संक्रमण दर कम भएको भन्ने बुझिन्छ।’
शुक्रराज अस्पतालमा हाल १५ जना आइसियु, ५ जना स्पेसल आइसोलेसन र २३ जना संक्रमित कोभिड वार्डमा उपचाररत छन्।