काठमाडौं - बिहीबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा २ सय ९० जना कोरोना संक्रमित अस्पतालको आइसियु र ७७ जना भेन्टिलेटरमा छन्।
यसअघि कार्तिक ५ गते आइसियु र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या क्रमश २ सय ६९ र ८७ थियो। कार्तिक ४ गते २ सय ७३ जना आइसियु र ७८ जना भेन्टिलेटरमा भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
यो संख्या दैनिक बढ्दो छ। आइसियुमा भर्ना हुने अधिकांश संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने देखिएको छ। कोरोना संक्रमितलाई सबैभन्दा धेरै अक्सिजन चाहिने गरेको चिकित्सकहरु बताउँछन्। माथिको उक्त तथ्यांकले पनि अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको पुष्टि गर्छ।
काठमाडौं उपत्यका सहित बाहिरका अस्पतालमा भर्ना हुने अधिकांश संक्रमितमा कुनै न कुनै लक्षण पाईन्छ। जसमध्ये रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या अधिकाशंमा देखिने मिल्दोजुल्दो लक्षणहरु हुन्।
पछिल्लो समय अक्सिजनको आवश्यक पर्ने कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। विज्ञहरुका अनुसार अक्सिजन थेरापीको सहायताले नै कोरोना संक्रमणबाट हुन सक्ने मृत्युको जोखिमलाई कम गर्न सकिन्छ।
के हो अक्सिजन थेरापी?
सामान्यता कोरोना संक्रमण भई शरीरमा अक्सिजनको मात्रा कम भएपछि अक्सिजन थेरापी दिने गरिन्छ। कोरोना संक्रमित सबैलाई अक्सिजनको आवश्यक पर्दैन। तर गम्भीर खालका लक्षण देखिएका र श्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई भने अक्सिजनको आवश्यक पर्ने गर्छ।
विशेषगरी कोरोना संक्रमण भई निमोनिया भएका, श्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट एवं प्रवक्ता डा अनुप बाँस्तोलाले बताए।
स्वस्थ व्यक्तिको शरीरमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी भएको अवस्थालाई सामान्य मानिन्छ। डा बाँस्तोलाका अनुसार वयस्क तथा स्वस्थ्य व्यक्तिको शरीरमा अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा कम भएमा र दमका बिरामी ८८ देखि ९२ प्रतिशत भन्दा कम भए अक्सिजनको आवश्यक पर्छ। शुक्रराज अस्पतालमा भर्ना हुने यीनै खालका संक्रमितलाई अक्सिजन दिने गरेको उनले जानकारी दिए।
कोरोना संक्रमणले फोक्सो र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने भएकाले शरीरमा अक्सिजनको मात्रा कम हुन जान्छ। कोरोना संक्रमितका गम्भीर खालका बिरामीलाई अक्सिजन थेरापी महत्वपूर्ण भएको डा बाँस्तोला बताउँछन्।
उनले भने, ‘कोभिडका कारण निमोनिया भए रगतमा अक्सिजनको मात्रा कमी हुन्छ। जसले गर्दा शरीरका महत्वपूर्ण अंगलाई अक्सिजन नपुगे काम गर्न छोड्न सक्छ। त्यसैले शरीरलाई चाहिने अक्सिजन पु¥याउने विभिन्न विधिलाई अक्सिजन थेरापी भनिन्छ।’
अस्पतालमा भर्ना हुने अधिकांशलाई अक्सिजनको आवश्यकता
बिहीबार साँझसम्म शुक्रराज अस्पतालको आइसियुमा २० र भेन्टिलेटरमा ९ जना संक्रमित भर्ना भएका छन्। आइसियुमा भर्ना हुने प्रायजसोलाई अक्सिजन दिनु परेको डा बाँस्तोलाले बताए। शुक्रराज अस्पतालमा भर्ना हुने अधिकांशजसो संक्रमितलाई हाल अक्सिजनको आवश्यकता पर्ने गरेको उनले बताए।
लक्षण देखिएर सिकिस्त भएका बिरामीलाई मात्र अक्सिजनको आवश्यक पर्ने उनले बताए। सिकिस्त भएकामध्ये ७५ प्रतिशत संक्रमितलाई अक्सिजन मात्र दिएर पनि बचाउन र बाँकीलाई मेकानिकल भेन्टिलेटरको आवश्यक पर्न सक्ने उनले बताए।
‘सामान्य खालका लक्षण भएका संक्रमितलाई अक्सिजनको आवश्यक पर्दैन। उनले भने, ‘मोडरेट लक्षण भएका संक्रमितलाई मूल्याकंन गर्नुपर्छ भने सिकिस्त भएकालाई अवस्था हेरेर अक्सिजन दिनुपर्छ।’
शरीरमा अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम भए तत्काल अक्सिजन थेरापीको आवश्यक पर्ने उनले बताए।
शुक्रराज अस्पतालमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि अक्सिजनको आवश्यक भएर भर्ना हुने संक्रमितको संख्या नै धेरै छ। अस्पतालका कोभिड फोकल पर्सन डा सबिन थपलियाले हाल अस्पतालमा भर्ना हुने धेरैजसो कोरोना संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने गरेको बताए।
उनका अनुसार त्रिवि शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना हुने संक्रमितलाई समेत अक्सिजनको आवश्यक पर्ने गरेको छ।
उनी भन्छन्, ‘पहिले आइसोलेसनमा भर्ना हुने संक्रमितलाई त्यति धेरै अक्सिजनको आवश्यक पर्थेन। तर अहिले आइसियुमा भर्ना हुनेलाई त अक्सिजनको आवश्यक पर्छ नै आइसोलेसनमा भर्ना हुनेलाई समेत अक्सिजन चाहिएर आउने गरेका हुन्छन्।’
त्रिवि शिक्षण अस्पतालमा आइसोलेसनमा ९९ दशमलव ५ प्रतिशत जतिलाई अक्सिजन चाहिएर भर्ना हुने गरेको उनले जानकारी दिए। हाल अस्पतालमा १ सय जना कोरोना संक्रमितको उपचार भइरहेको छ। १५ जना आइसियुमा छन्। जसमध्ये ३ जना भेन्टिलेटरमा रहेको अस्पतालले जनाएको छ।