काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले भारतको दार्जिलिङबाट कुख्यात ठग तथा साइबर अपराधका अभियुक्त पसल रोकायलाई पक्राउ गरी काठमाडौं ल्यायो। शनिबार दार्जिलिङबाट महानगरीयको विशेष टोलीले पक्राउ गरी रोकायलाई आइतबार झापाबाट प्लेनमार्फत् काठमाडौं ल्याएको हो।
रोकाय तीनै ठग हुन जसले नेपाल नर्सिङ काउन्सिलको परीक्षा पास गराउने, एचए तथा फार्मेसी अध्ययनमा छात्रवृत्ति मिलाउँछु भन्दै लाखौं ठगी गर्दै आएका थिए।
जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का रोकायलाई पक्राउ गर्न विगत केही महिनादेखि प्रहरीको विशेष टोली नै परिचालन गरिएको थियो। लामो समयको रेकी र टेक्निकल अनुुसन्धानबाट उनी दार्जिलिङमा रहेको निष्कर्ष निकालेर पक्राउ गर्न गएको टोलीलाई पक्राउ गरी काठमाडौँ ल्याउने काममा सफलता मिलेको हो।
रोकायले विभिन्न उच्च पदस्थहरूको नाममा फेक फेसबुक आइडी बनाउने र आफूले कुराकानी गर्ने गरेका थिए। उक्त च्याटका कुराहरु अन्य व्यक्तिलाई देखाएर प्रलोभनमा पारेर ठगी गर्ने उनको शैली थियो। आफूलाई रिस उठेका मान्छेविरुद्ध सामाजिक सन्जालमा बेइज्जत गर्ने, जागिरको प्रलोभन देखाएर ठगी गर्ने, छात्रवृत्तिमा नाम निकालिदिने भनेर ठगी गर्ने, प्रहरीमा जागिर लगाइदिन्छु भनेर ठग्ने, फेक भिडियो/अडियो बनाएर बेइज्जत गर्ने जस्ता काम रोकायले गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
कर्णाली आवाज डटकम, कर्णाली एचडी फेसबुक पेज तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने र बेइज्जत गर्ने उनको धन्दा नै थियो। खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा कम्पनी दर्ता गरी उनले ठेक्कापट्टाको काम पनि गर्ने गरेका थिए।
शुभलक्ष्मी अस्पतालको अध्यक्ष बताउने रोकायले संविधान नाम गरेको कलेज पनि दर्ता गराएका छन्। जहाँ नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाई गराउने भनिएको छ।
नर्सिङ काउन्सिलकी रजिष्ट्रार र सदस्यलाई विवादमा मुछे
रोकायले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईकी पत्नी बिन्दा घिमिरेसम्मलाई विवादमा ल्याउने काम गरेको पाइएको छ। नर्सिङ काउन्सिलकी रजिष्ट्रार रहेकी घिमिरे र काउन्सिलकी सदस्य जिता बरालको नाममा फेक आइडी बनाएर विवादमा ल्याउने काम गरेका थिए।
रोकायले सामाजिक सञ्जालको दुरुपयोग गरी रजिष्ट्रार घिमिरेसहित अन्य पदाधिकारी तथा अन्य व्यक्तिहरुको नाम र फोटो प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली आईडी खालेका थिए।
त्यसपछि 'जागिर लगाइदिन्छु', 'लोकसेवा परीक्षा पास गराइदिन्छु', 'नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु' भनी रकमको बार्गेनिङ गरेको जस्तो देखिने दुवै तर्फको च्याट आफैंले गर्ने गरेका थिए। त्यसपछि ती च्याटको स्क्रिन सर्ट गरी आफैले सञ्चालन गरेको कर्णालीआवाज डटकम नामको न्युज पोर्टल र कर्णाली एचडी नामको युट्युब च्यानलबाट प्रसारणसमेत गर्ने गरेका थिए।
त्यस्तै उनले सर्वसाधारणदेखि प्रहरीसम्मलाई ठगी गर्ने गरेको पाइएको छ। एक युवतीलाई सटाफ नर्समा नाम निकालिदिन्छु भनेर १ लाख ५० हजार रुपैयाँ ठगीमा उनी संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ। पछि काम नभएपछि उल्टै सामाजिक सञ्जालबाट गाली बेइज्जती गरेको पाइएको छ।
मुगुका अर्का एक युवालाई भने एचए कोर्स अध्ययन गर्न छात्रवृत्ति मिलाइदिन्छु भनेर २ लाख ठगी गरेका थिए। अर्का एक जनालाई राष्ट्रिय अनुसन्धान विभागको सहायक अनुसन्धान अधिकृतमा नाम निकालिदिन्छु भनेर ४ लाख ठगी गरेका थिए।
उता बमबहादुर रोकाय भन्ने युवकलाई नेपाल प्रहरीको जागिर लगाइदिने भने २ लाख ठगी गरेका थिए। मलाय बुढाले स्टाफ नर्सको छात्रवृत्तिमा नाम निकालेपछि आफूले निकालेको भन्दै २ लाख माग गरेका थिए। पछि नदिए नाम हटाउनेसम्मको धम्की दिने गरेको पाइएको छ।
रोकायले नै दीपक चौधरीको एचएमा नाम निकालिदन्छु भनेर ५० हजार रुपैयाँ लिएका थिए। पछि आफू ठगीमा परेको जानकारी पाएपछि चौधरीले भौचरसहित प्रहरीकहाँ उजुरी समेत गरेका थिए।
धरान र झापाका दुई महिलालाई समेत विश्वासमा पारेर 'फार्मेसी कोर्समा नाम निकालिदिन्छु' भनेर रोकायले २ लाख ५० हजार ठगी गरेको पाइएको छ।
रोकायको ठगी निशानामा प्रहरी जवानसम्म परेका छन्। रोकायले ट्राफिक प्रहरी जवान खिमराज केसीलाई आफू कर्णाली प्रदेशको मुख्यमन्त्रीको स्वकीय सचिव भएको भन्दै प्रलोभन देखाएर ठगी गर्न खोजेका थिए। पछि कुरा नमिलेपछि ज्यान मार्ने धम्की समेत दिएपछि उनीविरुद्ध केसीले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी समेत दिएका थिए।
त्यस्तै, रोकायले 'पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पिए हुँ' भन्दै ठगी धन्दा समेत गरेको पाइएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीदेखि जुम्लाकै सांसद पदम रोकायसम्मको पिए भएको र विभिन्न ठाउँमा जागिर लगाइदिनेदेखि विभिन्न कामहरु सल्टाइदिने भन्दै ठगी गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पूर्वप्रहरी नै रोकायका सहयोगी
पक्राउ परेका रोकायका सहयोगी प्रहरीका पूर्वहवल्दार रहेको पाइएको छ। प्रहरीको सर्वाधिक खोजी सूचीमा रोकाय परेको सूचना पूर्वहवल्दार रमन बुढाले पाइसकेका थिए। बुढामार्फत् उक्त जानकारी पाएपछि रोकाय नेपालबाट दार्जिलिङ पुगिसकेका थिए।
त्यसपछि भने उनी नेपालमै रहेको जानकारी दिन पोखराबाट काठमाडौं जाने प्लेनको टिकट नै काटेर फेसबुकमा समेत पोस्ट गरेका थिए। यो भने प्रहरीलाई भ्रममा पार्न उनले गरेका थिए। तर उनी दार्जिलिङकै एक गाउँमा थिए।
आफू काठमाडौं भ्यालीमै रहेको भनेर अर्को भ्रम छर्न उनले सानोठिमीको सडकबाट भन्दै फेसबुक लाइभ गरेका थिए। यो पनि प्रहरीका लागि भ्रम छर्न उनले गरेको अर्को कृत्य थियो। यो सबै भ्रम छरिसके पनि रोकाय भने दार्जिलिङ पुगेको टेक्निकल पाटोमा अनुसन्धान गरिरहेका प्रहरीले सूचना पाइसकेको थियो। उनी दार्जिलिङमा नै रहेको अनुसन्धानमा देखिएपछि परिसरको एक टोली उनलाई पक्राउ गर्न दार्जिलिङ पुगेको थियो।
तर प्रहरीका पूर्वहवल्दार बुढाले रोकायको म्यासेन्जरमा एक प्रहरीको फोटा पठाउँदै लेखे, ‘तँलाई खोज्ने यो मान्छे आइरहेको छ। सुरक्षित बस।’ सम्पूर्ण लोकेसन ट्रयाक गरेपछि दार्जेलिङ पुगेको प्रहरीले अन्ततः उनलाई पक्राउ गर्यो।
नेपाल-भारत सीमा दार्जिलिङको एक गाउँमा नेपाल टेलिकमकै सीमले काम गर्दथ्यो। उनी त्यही बसेर नेपाल टेलिकमको सीममार्फत् सामाजिक सञ्जाल चलाउँदै आएका थिए। नेपाल टेलिकमको सीमबाट सामाजिक सञ्जाल चलाएपछि आफू नेपालमै रहेको भनेर भ्रम छरेर भारतमा सुरक्षित हुने रोकायको योजना अन्ततः असफल भयो।
कुरा नमिलेपछि नेतालाई भ्रष्ट भन्दै बनाउथे भिडियो
रोकायाले विभिन्न नेताहरुलाई भ्रष्ट रहेको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गर्थे। उनले पूर्वसांसद देवीलाल थापालाई भ्रष्टाचारी भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
प्रदेश सांसद पदम रोकायलाई त भ्रष्टाचारी र सुन व्यापारी मारेको र बालात्कारी भन्दै भिडियो बनाएर सञ्जालमा हालेर चरित्र हत्या गरेका थिए। उनै रोकायको नाममा नक्कली फेसबुक बनाएर जागिर लगाइदिनेसम्म प्रलोभन देखाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पूर्व जिविस सभापति नेकपाका नेता तीर्थ बुढाले २० हजार रुपैयाँ घुस मागेको भन्दै भ्रष्टाचारी भन्दै भिडियो बनाएर सञ्जालमा हालेर चरित्र हत्या गरेको समेत उनीमाथि आरोप लागेको छ।
नेकपाका जुम्ला अध्यक्ष सुरेश पहाडी जुवाको खालबाट पक्राउ परेको उनी खुंखार जुवाडे भएको भन्दै हुँदैनभएका विषयको भिडियो बनाएर रोकायले सञ्जालमा पोस्ट गरेका थिए। आफ्नै वडाका वडाध्यक्ष वनजित रोकायलाई बलात्कारी र भ्रष्टाचारी भएको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमा बेइज्जती गरेका थिए।
त्यस्तै कांग्रेस नेता लालबहादुर जिसी, बलबहादुर रोकायलगाउत समेत चरित्र हत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। जनक रोकायलाई त ज्यान मार्ने धम्कीसमेत रोकायले दिएका थिए।
परिसर काठमाडौंमा मात्रै ७ मुद्दा दर्ता
रोकायविरुद्ध महानगरीय प्रहरी परिसर कामठाडौंमा मात्रै ७ वटा मुद्दा दर्ता भएको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। साइबर र ठगीका सात वटा मुद्दा उनीविरुद्ध परिसर काठमाडौंमा दर्ता भएका छन्।
उनीविरुद्ध दीपक रोकायले एचएमा पास गराइदिन्छु भनेर रकम लिएर ठगी गरेको र पछि उल्टै सामाजिक सञ्जालबाट बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गराएका छन्।
त्यस्तै सीता केसीले रोकायविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गराएकी छिन्। नेमबहादुर केसीले भने रोकायविरुद्ध ४ लाख रुपैयाँ ठगी गरेको र साइबरसम्बन्धी अपराध गरेको भन्दै मुद्दा दताएका छन्।
अधिकृतमा जागिर लगाइदिन्छु भनेर २ लाख रुपैयाँ ठगी गरेपछि अग्नि लामाले रोकायविरुद्ध परिसर काठमाडौंमा जाहेरी दिएका छन्।
रोकायमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।