काठमाडौं- जडिबुटीको औषधिका नाममा आफूखुशी फुड सप्लिमेन्ट खाँदा एक बिरामीको दुबै मिर्गौला फेल भएको छ। वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा अरुण सेढाइका अनुसार उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।
अस्पतालको औषधि छाडेर कसैको विश्वासमा जडिबुटी भनिएको बजारको बट्टाको कुरा सेवन गर्दा उनको मिर्गौला बिग्रिएको हो। सामाजिक सञ्जालमा सूचना जारी गर्दै उनले सचेत हुन आग्रह गरेका छन्।
उनी बिरामीबारे लेख्छन्-
- सामान्यतः मानिसमा क्रियाटिनिनको मात्रा १.४ सम्म हुन्छ। मिर्गौलाको खराबी हुँदा रगतमा यसको मात्रा त्योभन्दा बढी हुन्छ।
- उच्च रक्तचाप र डाइबिटिजको बिरामी उहाँको क्रियाटिनिन ३ महिना अगाडिसम्म ५.६ थियो। औषधी दिइराखेका थियौ, नियमित फलोअपमा आउन सल्लाह दिएकै थियौं। डायलाइसिस चाहिएको थिएन।
- ३ महिनासम्म फलोअपमा आउनु भएन। कसैले नजिकको पसलमा लगेर यहाँ फोटोमा देखाइएका जडिबुटीका बोत्तल भिराएछ। ५ बट्टाको ठ्याक्कै १५ हजार रुपैयाँ तिर्नु भो रे। हामीले दिएका औषधी च्याट्टै बन्द गरिदिनु भएछ। किनेर खान पैसा पुगेन भन्नुहुन्थ्यो।
- एकैचोटि सास फेर्न गाह्रो भएर उहाँलाई इमर्जेन्सीमा ल्याइएछ। जाँच गर्दा क्रियाटिनिन बढेर १०.५ पुगेछ। फोक्सोमा पानी जमेकाले तुरुन्त डायलाइसिस गराउन शुरु गर्यौं। तत्कालका लागि समस्या घट्यो। तर, अब जिन्दगीभर हप्ताको दुईपटक डायलाइसिस गराउनु पर्नेछ। हातमा फिस्टुला बनाउन पैसा नि छैन रे!
उनी प्रश्न गर्छन्, 'यो घटनाको जिम्मेवार को ? फुड सप्लिमेन्टका नाममा बजारमा छ्यापछ्याप्ती पाइने यी र यस्ता उत्पादनको नियमन कसले गर्ने हो?' उनले
रोग बिसाउने नाममा कतै आफैं उपर रोग र समस्या थप्दै त छैनौँ?' भन्दै आमजनलाई सचेत गराएका छन्।