काठमाडौं- सुरुवाती चरणमा कोरोना संक्रमणको ‘हट स्पट’ नै थियो, प्रदेश २ को पर्सा। केही सातायता भने पर्सा जिल्लामा कोरोना नियन्त्रण उन्मुख देखिन्छ।
कोरोना समुदायस्तरमा फैलिँदा पर्सामा दैनिक संक्रमितको संख्या उल्लेख्य रुपमा बढेको थियो भने दैनिकजसो कोरोना संक्रमितको मृत्युका समाचार सामान्यजस्तै बनेका थिए। तर अहिले अवस्था त्यस्तो छैन। कोरोना कहरको उच्च जोखिमबाट अहिले पर्सा विस्तारै तंग्रिदै गएको छ।
पर्सामा बिहीबारसम्म २ हजार ४७ जना पुरुष र ५ सय ९९ जना महिला गरी २ हजार ६ सय ४६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। जसमध्ये २४ जना संक्रमित भारतीय नागरिक हुन्। पर्सा जिल्लामा मात्रै ४६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
कोरोना संक्रमितको उपचारका लागि पर्सा जिल्लामा रहेका विभिन्न अस्पतालले अस्थायी अस्पताल निर्माण गरेर उपचार गर्दै आएका छन्। त्यसमध्ये पर्सा जिल्लामै सबैभन्दा बढी कोरोना संक्रमितको उपचार हुने अस्पतालमध्येको एक हो, नारायणी अस्पताल।
अस्पतालका कोभिड संयोजक डा उदय सिंहका अनुसार कोरोना संक्रमितको उपचारका लागि नारायणी अस्पतालले सुरुमा ५ बेडको आइसोलेसन सेन्टर निर्माण गरेको थियो। पर्सामा पहिलो संक्रमित व्यक्ति भारतबाट आएका थिए। उनी चैत २८ गते नारायणी अस्पतालमा भर्ना भएको डा सिंहले जानकारी दिए।
पर्सामा संक्रमितको संख्या बढेसँगै नेपाल सरकारको पहलमा संक्रमितको उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर अस्पताल र नेसनल मेडिकल कलेजमा ३ सय ८६ बेडको आइसोलेसन निर्माण गरिएको थियो। जसमा २० बेडको आइसियुको पनि व्यवस्था थियो।
वैशाख महिनाको अन्तिमदेखि जेठको अन्तिमसम्म क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढ्यो। जहाँ परीक्षणका क्रममा कोरोना संक्रमित व्यक्ति पनि धेरै भेटिए। सरकारले सीमामा कडाइ गरेका कारण असार महिनाको सुरुदेखि पर्सामा संक्रमितको संख्या निरन्तर घट्दै थियो। तर लगत्तै सरकारले भारतबाट आउने नेपालीलाई बिना परीक्षण आउन दिएपछि नियन्त्रण उन्मुख रहेको कोरोना संक्रमण फेरि उकालो लाग्न सुरु ग¥यो। त्यसमा पनि असारमध्यदेखि लकडाउन खुकुलो भएपछि कोरोना संक्रमण समुदायस्तरमै पुगेको आशंका गरियो। अवस्था यतिसम्म भयावह बन्यो कि, पर्सामा प्रत्येक दिन कम्तीमा पनि एक जना कोरोना संक्रमितको मृत्यु नभएको दिन नै रहेन।
डा सिंहका अनुसार सुरुवाती चरणमा कोरोना संक्रमितको उपचारमा खटिएका १ सय ५३ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि कर्मचारी व्यवस्थापन गर्न निकै नै मुस्किल परेको थियो। त्यसपछि जब दैनिकजसो संक्रमितको मृत्यु हुन थाल्यो, उनीहरुको शव व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण बन्यो अस्पतालका लागि। उनका अनुसार संक्रमितको संख्या बढेसँगै अक्सिजको व्यवस्थापन पनि कम चुनौतीपूर्ण थिएन।
‘अस्पतालमा भर्ना भएका सिरियस संक्रमितहरुलाई अक्सिजन सप्लाई गर्न निकै कठिनाइ भोग्नु परेको थियो,’ उनले चनौतीपूर्ण समय सम्झिँदै भने, ‘कुनै बेला यस्ता अवस्थाको समेत सिर्जना भएको थियो कि, जति अक्सिजन दिए पनि बिरामीलाई अपुग महसुस हुन्थ्यो। अक्सिजनको माग बढ्दो थियो। कर्मचारीको समय सिलिन्डर पु¥याउन र ल्याउनमा नै बित्थ्यो।’
एकातिर स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित अर्काेतर्फ भएका कर्मचारी पनि अक्सिजनको व्यवस्थापनमै व्यस्त भएपछि कोरोना संक्रमितको उपचारका लागि कर्मचारी व्यवस्थापनको समस्या झेल्नुपरेको अनुभव डा सिंहको छ।
सुरुवाती चरणमा पर्सा जिल्लामा रहेका दुई वटा अस्थायी कोभिड अस्पतालले लक्षण भएका र नभएकाहरुलाई छुट्टाछुट्टै उपचार गर्दै आएका थिए। संक्रमितमध्ये १५३ स्वास्थ्यकर्मीसहित ५० जना अस्पतालका सफाइ कर्मचारी र गार्ड, ३ जना एम्बुलेन्स चालक, १४ जना पत्रकार, १०८ जना कैदी थुनुवा र १३५ जना सुरक्षाकर्मी रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
कुनै बेला कोरोनाको हटस्पट बनेको पर्सा जिल्लामा भदौको अन्तिमबाट संक्रमितको संख्या घट्न थालेको छ। दैनिक एक सयभन्दा बढी संक्रमति भेटिने पर्सामा अहिले त्यो संख्या घटेर ३० जनामुनि रहेको छ। बिहीबार २५ संक्रमित थपिएका थिए। संक्रमित घट्न थालेसँगै नारायणी अस्पताल र वीरगञ्ज हेल्थ केयरले सञ्चालनमा ल्याएको १ सय ७० बेडको आइसोलेसन सेन्टर बन्द गरिएको छ। डा सिंहका अनुसार अहिले पर्साका संक्रमितको उपचार नेसनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको आइसोलेसनमा हुँदै आएको छ।
पर्सा जिल्लामा अहिलेसम्म संक्रमितमध्ये २ हजार चार सय ३६ जना व्यक्ति कोरोनामुक्त भइसकेका छन्। ३६ जना विभिन्न आइसोलेसन सेन्टरमा उपचाररत छन्। सरकारले होम आइसोलेसनको व्यवस्था ल्याएसँगै पर्सा जिल्लाका लक्षण नभएका संक्रमितहरु होम आइसोलेसनमा बस्दै आएका छन्। ८६ जना लक्षणविहीन संक्रमित होम आइसोलेसनमा रहेका छन्। पर्सा जिल्लाले १९ स्थानमा ११ हजार दुई सय ५५ बेडको क्वारेन्टाइन निर्माण गरेको थियो। अहिले २४ जना शंकास्पद व्यक्ति मात्रै क्वारेन्टाइनमा छन्।