काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघेको छ। जसमध्ये काठमाडौंमा मात्र १० हजारभन्दा बढी संक्रमित छन्। पछिल्लो समय कोरोना संक्रमित र मृतकको संख्या काठमाडौंमा बढ्दो क्रममा छ।
संक्रमितको संख्या दैनिक बढिरहँदा कन्ट्याक्ट ट्रेसिङ अनि व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बन्न पुग्छ। तर काठमाडौंकै टोखा नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ, पिसिआर परीक्षण र संक्रमितलाई व्यवस्थापन गर्दै लगेको छ।
टोखा नगरपालिकामा वैशाख १२ गते पहिलो पटक कोरोना संक्रमित भेटिएका थिए। गएको चार महिनामा टोखा नगरपालिकामा मात्र ४ सय ९५ जना कोरोना संक्रमण भेटिएका छन्। जसमध्ये तीन जनाको मृत्यु भएको छ।
टोखा नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि ३० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। उक्त आइसोलेसन सेन्टरमा हाल २६ जना संक्रमित उपचाररत रहेको टोखा नगरपालिकाका कोभिड संयोजक बसन्त गैरेले बताए।
टोखा नगरपालिकाले दैनिक १ सय ६० देखि २ सय जनाको पिसिआर परीक्षण गर्दै आएको छ। हालसम्म ३ हजार ५ सय १७ जनाको पिसिआर परीक्षण गरिएको संयोजक गैरेले जानकारी दिए। उनका अनुसार ४ सय ९५ संक्रमितमध्ये १ सय ८० जनाको संक्रमण नगरपालिको आफ्नै पहलमा पत्ता लागेको हो।
टोखा नगरपािलकामा जनसंख्या कम भए पनि धेरैभन्दा धेरै संक्रमित खोज्न सफल भएको उनी बताउँछन्। समुदायस्तरमा कोरोना संक्रमितलाई खोजी पहिचान गर्नका लागि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई बढी जोड दिइएको उनले बताए।
उनी भन्छन्, ‘यस नगरपालिकामा तुलनात्मक रुपमा कम जनसंख्या छ। तर हामीले धेरैभन्दा धेरै संक्रमित खोजिरहेका छौं र त्यसको व्यवस्थापनमा पनि जुटिरहेका छौं।’
कन्ट्याक्ट ट्रेसिङ र परीक्षणका लागि नगरपालिकाले १६ जनाको जनशक्ति खटाएको छ। हालसम्म २ हजार १ सय ३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको उनले बताए। कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई जोड दिए कोरोना संक्रमण न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
विभिन्न स्थानमा भद्रगोल रुपमा भइरहेको कन्ट्याक्ट ट्रेसिङलाई टोखा नगरपालिकाले भने व्यवस्थित रुपमा गरिरहेको छ। सरकारले खोजेका संक्रमितलाई मात्र नभई आफैंले संक्रमितलाई खोज्ने गरेको उनले बताए।
उनले भने, ‘हामीले केन्द्रले दिएको केस मात्र खाजेर बसेका छैनौं। हामीले समुदायस्तरमै पुगेर संक्रमितलाई खोज्ने गरेका छौं।’
समुदायमा कुनै व्यक्तिलाई कोरोना संक्रमण भए नगरपालिकाले उनको सम्पर्कमा आएका प्रत्येक व्यक्तिलाई फलो गर्छ।
कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत पर्ने व्यक्तिलाई पिसिआर परीक्षणका लागि नगरपालिकाले मोबाइलमै म्यासेज गर्छ। ती व्यक्तिहरु त्यस दिन परीक्षणका लागि आए/नआएको विषयमा पनि दैनिक जानकारी लिने उनले बताए।
‘पिसिआर गर्ने व्यक्तिलाई हामीले कहिले र कुन ठाउँमा परीक्षण गर्ने भनेर मोबाइलमै म्यासेज गर्छौं,’ उनले भने, ‘उनीहरु त्यस दिन आए÷आएनन् भनेर पनि सोधपुछ गर्छौं। नआएको भए किन आएको भन्दै पुनः सम्पर्क गरेर परीक्षण गर्छौं।’
यसरी पिसिआर परीक्षण गर्दा उनीहरु सहज तरिकाले परीक्षणका लागि आउने गरेको उनको अनुभव छ। कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा अन्य नगरपालिकाको तुलनामा आफूहरुले व्यवस्थित रुपमा काम गरेको उनी दाबी गर्छन्।
पिसिआर परीक्षणका लागि जान नसक्ने व्यक्तिलाई नगरपालिकाले उनीहरुको घरमै टोली पठाउने गरेको छ। कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई व्यवस्थित तरिकाले गर्न सक्दा आफूहरुलाई काम गर्न सहज भएको उनले बताए।
उनी भन्छन्, ‘यी कामहरु आफैैंमा चुनौतीपूर्ण छन्। तर हामीले कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई व्यवस्थित तरिकाले गर्न सकेको भएर नै काम गर्न सहज पनि भएको छ।’
सामान्य खालका लक्षणहरु भएका संक्रमितलाई मात्र हाल भर्ना गर्ने गरिएको आइसोलेसन सेन्टरमा खटिएका डा सुमन आचार्यले बताए।
उनले भने, ‘होम आइसोलेसनमा सम्भव नभएका सामान्य लक्षण भएका र ठूलो उपचार नचाहिने व्यक्तिहरु यस आइसोलेसन सेन्टरमा भर्ना हुने गरेका छन्।’
यसअघि उनी पनि कन्ट्याक्ट ट्रेसिङमै खटिएका थिए। उक्त आइसोलेसन शय्याको क्षमता बढाउने तयारी समेत भएको उनले जानकारी दिए। टोखा नगरपालिकामा १ लाख ५० जनसंख्या छ।