काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५३ हजार नाघेको छ। तीमध्ये कपिलवस्तु जिल्लामा मात्रै १२ सय ६७ जनालाई संक्रमण भएको छ। कपिलवस्तुमा ५ जना संक्रमितको मृत्यु भइसकेको छ भने १ हजार ६२ जना निको भएर घर फर्किसकेका छन्।
कपिलवस्तु जिल्लाका संक्रमितहरुको व्यवस्थापन गर्ने जिम्मा स्वास्थ्य कार्यालय कपिलवस्तुले लिएको छ। सुरुवाती चरणमा कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पतालमा शंकास्पद व्यक्ति राख्न ६ बेडको आइसोलेसन सेन्टर निर्माण गरिएको थियो।
अस्पतालमा अन्य बिरामीको उपचार गर्नुपर्ने भएकोले स्वास्थ्य कार्यालयले वैैदेशिक रोजगारका लागि भारत गएका नेपाली फर्किने क्रम बढेसँगै उनीहरुलाई लक्षित गरी १० वटा वडामा १६ आइसोलेसन र शंकास्पद व्यक्तिलाई राख्न ३ वटा क्वारेन्टाइन निर्माण गरेको कपिलवस्तु जिल्लाका फोकल पर्सन कुमार थापाले जानकारी गराए।
‘नेपालमा कोरोना भाइरसको संक्रमण देखिन सुरु भएसँगै वैशाखको दोस्रो हप्ताबाट हामीले तयारी सुरु गरिसकेका थियौं। तयारीस्वरुप १० वटा वडामा ९ सय ३० बेडको १६ वटा आइसोलेसन सेन्टर र ३ ठाउँमा १ सय २५ बेडको क्वारेन्टाइन निर्माण गरेका थियौँ,’ थापाले कपिलवस्तु जिल्लाले गरेको सुरुवाती तयारी सुनाए।
जिल्लामा पहिलो संक्रमित वैशाख २५ गते भेटिएका थिए। पहिले नै संक्रमितको उपचारको लागि तयारी अवस्थामा रहेकाले उपचार गर्न कुनै पनि कठिनाइ व्यहोर्नु नपरेको थापाले बताए।
रोजगारीका लागि विभिन्न मुलुक गएका नेपालीहरु फर्किएसँगै नेपालमा पनि संक्रमितको संख्या बढ्न थाल्यो। त्यसको प्रभाव कपिलवस्तुमा पनि देखियो। संक्रमितहरु दैनिकजसो देखिन थाले। पहिलो संक्रमित भर्ना भएसँगै आइसोलेसन सेन्टरका कर्मचारी दिनरात कोरोना संक्रमितको उपचारमा खटिएका छन्।
कपिवस्तुका लक्षण नभएका संक्रमितको उपचार जिल्लाभित्र निर्माण गरिएका आइसोलेसनमा हुँदै आएको छ। त्यस्तै लक्षण भएका संक्रमितलाई भने नजिकैको बुटवल र सुविधासम्पन्न आइसोलेसनमा पठाउने गरेको थापाले जानकारी दिए।
‘कपिलवस्तुमा सुविधासम्पन्न आइसोलेसन सेन्टर छैनन्। त्यसैले जटिल लक्षण देखिएका संक्रमित आउँदा यहाँबाट एक घन्टाको दूरीमा पर्ने बुटवलको कोरोना अस्पतालमा रिफर गरिदिन्छौँ,’ उनले भने।
थापाका अनुसार कपिलवस्तुबाट रिफर गरिएका ४३ जना लक्षण भएका संक्रमितको विभिन्न जिल्लाका आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ।
१६ आइसोलेसनमा ५ जना चिकित्सक पालैपालो संक्रमितको उपचार खटिने गरेका छन्। २४सै घन्टा संक्रमितको निगरानी गर्न स्थानीय तहले नर्स तथा स्वास्थ्यकर्मी खटाएको छ। उनीहरु संक्रमितको रेखदेखमा खटिने गरेका छन्।
जिल्लाभित्र रहेका संक्रमितलाई स्वास्थ्यमा समस्या आएमा तुरुन्त नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अन्य अस्पतालमा रिफर गरिदिने गरेको थापाले जानकारी दिए। स्वास्थ्यकर्मीहरुले दिनको तीन पटक संक्रमितको स्वास्थ्य जाँच गर्नुका साथै फोनबाट बेलाबेलामा जानकारी लिने गरेका छन्।
आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरु ड्युटी सकिएपछि १४ दिन क्वारेन्टाइनमा बस्ने र पिसिआर परीक्षण गरेर मात्रै काममा फर्किने गरेको थापा बताउँछन्।
उनका अनुसार आइसोलेसनमा बसेका संक्रमितलाई स्थानीय तहले खाना खाने र बस्ने व्यवस्था आफैंले गरेको छ। उनीहरुलाई बिहान–बेलुका पोषिलो खाना दिनुका साथै बिहान दिउँसो खाजाको व्यवस्था पनि गरिएको छ।
कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम सुरुवाती चरणमा स्वास्थ्य कार्यालय आफैंले गरे पनि अहले भने एउटा टिम बनाएर उनीहरुलाई जिम्मा दिएको छ।
सुरुवाती चरणमा पिसिआर परीक्षणको रिपोर्ट ढिला आउने भएकोले सजिलोका लागि स्वास्थ्य कार्यालयले १० विभिन्न ल्याबमा समन्वय गरेको थियो। क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरेर जुन ल्याबमा चाप कम छ, त्यही ल्याबमा स्वाब पठाउने गरेकोले रिपोर्ट आउन ढिलाइ हुने नगरेको थापा बताउँछन्।
कुनै बेला कोरोनाको ‘हटस्पट’ नै बनेको कपिलवस्तुमा अहिले संक्रमितहरुको चाप कम हुँदै गएको छ। संक्रमित डिस्चार्ज हुँदै गएपछि स्वास्थ्य कार्यालय कपिलवस्तुमा ५ वटा आइसोलेसन सेन्टर बन्द भइसकेका छन्। अहिले ५ वटा आइसोलेसनमा १६० बेडको आइसोलेसन सञ्चालनमा छ।
भारतसँग सीमा जोडिएको जिल्ला भएकाले कपिलवस्तुमा ३५ हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका थिए। अहिले कपिलवस्तुमा ४१ जना मात्रै क्वारेन्टाइनमा छन्।
थापामा अनुसार सुरुवाती चरणमा पिपिईको अभाव झेल्नुपरे पनि स्थानीय तहसँगको समन्वयका कारण यो समस्या हल भइसकेको छ।
स्थानीय तहको सहयोग र कर्मचारीहरुको मिहिनेतका साथै स्वास्थ्य कार्यालय कपिलवस्तुको व्यवस्थापनले गर्दा कोरोना संक्रमितको उपचारमा कठिनाइ भोग्नु नपरेको थापा बताउँछन्।