काठमाडौं - सुरुवाती दिनमा नेपालमा भेटिने अधिकांश कोरोना संक्रमित लक्षण विहीन हुने गर्थे। तर अहिले भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षण पाइने गरेको छ। त्यसमा पनि अक्सिजन थेरापी दिनुपर्ने कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ।
काठमाडौं उपत्यका सहित बाहिरका अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितमा लक्षण पाईन्छ। जसमध्ये रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या अधिकाशंमा देखिने मिल्दोजुल्दो लक्षणहरु हुन्।
आइसियुमा भर्ना हुने अधिकांश संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे बताउँछन्।
कोरोना संक्रमितलाई सबैभन्दा धेरै अक्सिजन नै चाहिने गरेको महाशाखाका निर्देशक डा पाण्डे बताउँछन्।
उनी भन्छन्, ‘आइसियुमा भर्ना भएका सबैजसोलाई नै अक्सिजनको आवश्यक पर्छ। संक्रमितको लागि अहिले महत्वपूर्ण भनेकै अक्सिजन हो।’
शुक्रबार साँझसम्मको तथ्यांक अनुसार १ सय ७० जना संक्रमित अस्पतालको आइसियु र २५ जना भेन्टिलेटरमा छन्। आइसियु र भेन्टिलेटरमा भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
भदौ २३ गते आइसियु र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या क्रमश १ सय ४४ र २३ थियो। भदौ २४ मा आइसियुमा भर्ना हुने संक्रमितको संख्या बढ्दै १ सय ६२ र भदौ २५ गते १ सय ६५ पुगेको मन्त्रालयको तथ्यांक छ।
योे तथ्यांकले पनि अक्सिजन दिनुपर्ने कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको पुष्टि गर्छ। विज्ञहरुका अनुसार अक्सिजन थेरापीको सहायताले नै कोरोना संक्रमणबाट हुन सक्ने मृत्युको जोखिमलाई कम गर्न सकिन्छ।
संक्रमितको संख्या बढ्दै दैनिक बढीरहँदा अब अक्सिजनको पर्याप्तता तर्फ ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए। अस्पतालहरुले पनि कोरोना संक्रमितको उपचारका लागि अक्सिजन तयार अवस्थामा राख्नुपर्ने उनले बताए।
सामान्यता कोरोना संक्रमण भई शरीरमा अक्सिजनको मात्रा कम भएपछि अक्सिजन थेरापी दिने गरिन्छ। कोरोना संक्रमित सबैलाई अक्सिजनको आवश्यक पर्दैन। तर गम्भीर खालका लक्षण देखिएका र श्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई भने अक्सिजनको आवश्यक पर्ने गर्छ।
विशेषगरी कोरोना संक्रमण भई निमोनिया भएका, श्वासप्रश्वासमा समस्या भएका संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट एवं प्रवक्ता डा अनुप बाँस्तोलाले बताए।
स्वस्थ व्यक्तिको शरीरमा अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी भएको अवस्थालाई सामान्य मानिन्छ। डा बाँस्तोलाका अनुसार वयस्क तथा स्वस्थ्य व्यक्तिको शरीरमा अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा कम भएमा र दमका बिरामी ८८ देखि ९२ प्रतिशत भन्दा कम भए अक्सिजनको आवश्यक पर्छ। शुक्रराज अस्पतालमा भर्ना हुने यीनै खालका संक्रमितलाई अक्सिजन दिने गरेको उनले जानकारी दिए।
कोरोना संक्रमणले फोक्सो र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने भएकाले शरीरमा अक्सिजनको मात्रा कम हुन जान्छ। कोरोना संक्रमितका गम्भीर खालका बिरामीलाई अक्सिजन थेरापी महत्वपूर्ण भएको डा बाँस्तोला बताउँछन्।
उनले भने, ‘कोभिडका कारण निमोनिया भए रगतमा अक्सिजनको मात्रा कमी हुन्छ। जसले गर्दा शरीरका महत्वपूर्ण अंगलाई अक्सिजन नपुगे काम गर्न छोड्न सक्छ। त्यसैले शरीरलाई चाहिने अक्सिजन पुर्याउने विभिन्न विधिलाई अक्सिजन थेरापी भनिन्छ।’
बिहीबार साँझसम्म शुक्रराज अस्पतालको आइसियुमा १७ जना संक्रमित भर्ना भएका छन्। उनीहरु सबैलाई अक्सिजन दिनु परेको डा बाँस्तोलाले बताए। शुक्रराज अस्पतालमा हालसम्म ३ सय ७ जना संक्रमित भर्ना भए। जसमध्ये ४२ जनालाई अक्सिजनको आवश्यकता परेको थियो।
उनका अनुसार कोरोना भई लक्षण भएका ४० प्रतिशत संक्रमितमा माइल्ड अर्थात् हल्का लक्षण भएका (खोकी लाग्ने, ज्वरो आउने, गन्ध थाहा नपाउने आदि), ४० प्रतिशतमा मोडरेट खालका हुन्छ। लक्षण देखिएर सिकिस्त भएका बिरामीलाई मात्र अक्सिजनको आवश्यक पर्ने उनले बताए।
सिकिस्त भएकामध्ये ७५ प्रतिशत संक्रमितलाई अक्सिजन मात्र दिएर पनि बचाउन र बाँकीलाई मेकानिकल भेन्टिलेटरको आवश्यक पर्न सक्ने उनले बताए।
‘सामान्य खालका लक्षण भएका संक्रमितलाई अक्सिजनको आवश्यक पर्दैन। उनले भने, ‘मोडरेट लक्षण भएका संक्रमितलाई मूल्याकंन गर्नुपर्छ भने सिकिस्त भएकालाई अवस्था हेरेर अक्सिजन दिनुपर्छ।’
शरीरमा अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम भए तत्काल अक्सिजन थेरापीको आवश्यक पर्ने उनले बताए। शुक्रराज अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको ३४ आइसोलेसन, २० आइसियु, ६ भेन्टिलेटरको व्यवस्था गरेको छ।
त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं डा सन्तकुमार दासले श्वासप्रश्वासमा समस्या भएका कोभिडका सबैजसो बिरामीलाई अक्सिजन आवश्यक पर्ने बताए।
उनले भने, ‘श्वासप्रश्वासमा समस्या भएका कोभिडका अधिकांशजसो बिरामीलाई अक्सिजनको आवश्यक पर्छ। भर्ना भएका बिरामीलाई विशेषगरी चाहिने भनेकै अक्सिजन हो।’
श्वासप्रश्वासमा समस्या भई त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका कोरोनाका ६० देखि ७० प्रतिशत कोरोनाका बिरामीलाई अक्सिजनको आवश्यक पर्ने गरेको उनले बताए। उनका अनुसार अधिकांशमा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, ज्वरो, निमोनियाको लक्षण देखिएको छ।
कोरोना संक्रमितको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले १० आइसियु र ५ वटा भेन्टिलेटर सहितको १ सय ३० आइसोलेसन वार्ड छुट्याएको छ। प्रत्येक आइसोलेसन वार्डमा अक्सिजनको व्यवस्था गरेको डा दासले बताए।
उनले भने, ‘हामीले प्रत्येक आइसोलेसन वार्डमा अक्सिजनको पाइप पुराएका छौं। आवश्यकता अनुसार कोरोनाका बिरामीलाई अक्सिजन दिन्छौं।’
त्रिवि शिक्षण अस्पतालमा आफ्नो दुई वटा अक्सिजन प्लान्ट भएकाले हालसम्म समस्या नभएको उनले बताए।
वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पताल गण्डकमा भर्ना भएका ४० जनामध्ये ६ जनालाई अक्सिजन दिइएको अस्पतालका कोभिड फोकल पर्सन डा उदयनारायण ठाकुरले बताए। आइसियुमा रहेका ९ जनामध्ये ६ जनालाई अक्सिजन दिनु परेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए।
एक सातादेखि संक्रमितको संख्या घट्दै गएपनि अक्सिजन दिनुपर्ने संक्रमितको अवस्था भने उस्तै रहेको उनले बताए। उनका अनुसार आइसियुमा भर्ना हुने ९ मध्ये ५ देखि ६ जनालाई अक्सिजनको आवश्यक पर्ने गरेको छ।
अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढ्दै गएकाले अक्सिजनको आपूर्तिमा समस्या भएको उनले बताए। अक्सिजनको माग बढ्दै गएकाले सिलिण्डर बोकेर पुर्याउने गरेको उनले बताए।