काठमाडौं- आजभन्दा २१ दिनअघि वीर अस्पतालका स्वास्थ्यकर्मी पहिलो पटक कोरोना संक्रमित भए। इन्टरनल विभागका एक चिकित्सकलाई साउन २२ गते कोरोना पुष्टि भएको थियो।
त्यसयता १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। ५ चिकित्सक, २ नर्सिङ स्टाफ गरी १६ जना स्वास्थ्यकर्मीमा कोरोना भेटिएको अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए।
वीर अस्पतालका ३० जना स्वास्थ्यकर्मीलाई हाल सुन्धारास्थित एक होटलमा क्वारेन्टाइनमा राखिएको छ। अस्पतालले व्यवस्था गरेको क्वारेन्टाइन व्यवस्थित र राम्रो नभएको अस्पतालका कर्मचारी युनियनहरुको गुनासो छ। तर सरकारले छुट्याएको बजेट अनुसार नै क्वारेन्टाइनको व्यवस्था गरिएको निर्देशक सेन्चुरीले बताए।
उनले भने, ‘हामीले क्वारेन्टाइनको राम्रो व्यवस्था गरेका छौं। सरकारले छुट्याएको बजेटको आधारमा हामीले क्वारेन्टाइनको व्यवस्था गरेका हौं।’
तर, कर्मचारीहरुको भने क्वारेन्टाइन राम्रो नभएको, आइसोलेसनमा राम्रो सेवा नपाएको र क्वारेन्टाइनमा प्लास्टिकमा खाना दिने गरेको आरोप छ।
उनीहरु एक हप्तासम्म ड्युटी गरी एक हप्ता क्वारेन्टाइनमा बस्ने गरेका छन्। स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएपछि अस्पतालको सेवा समेत प्रभावित भएका छन्।
एमआरआई गर्ने एक स्वास्थ्यकर्मी संक्रमित भएपछि सोमबारदेखि वीर अस्पतालको एमआरआई सेवा समेत बन्द भएको छ। बुधबारबाट उक्त सेवा सञ्चालन गर्ने तयारी भएको उनले जानकारी दिए। यसअघि सिटी स्क्यान सेवा समेत केही दिन प्रभावित भएको थियो।
स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गएपछि सेवा सञ्चालन गर्न समस्या भएको निर्देशक सेन्चुरी बताउँछन्। उनी भन्छन्, ‘यति धेरै संख्यामा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा हुनुहुन्छ। संक्रमित हुनेको संख्या पनि बढ्दो छ। गाह्रो त हुन्छ। तर अहिले आलोपालो गरेर व्यवस्थापन गरिरहेका छौं।’
पहिले जस्तो बिरामीको चाप धेरै नभएकाले पनि कर्मचारी व्यवस्थापन गर्न र कम जनशक्तिबाट धेरै काम गरिएको उनले बताए।
हाल वीर अस्पतालमा ग्लोब्सको समेत अभाव हुन थालेको छ। भएका ग्लोब्स सकिँदै गएको र बजारमा पनि सहज तरिकाले उपलब्ध नभएकाले अभाव हुन थालेको उनले बताए। उनले भने, ‘काम नै रोकिएको त छैन, हामीले जेनतेन व्यवस्थापन गरिरहेका छौं। तर अहिले गाह्रो छ। अहिले बजारमा पनि सहज रुपमा ग्लोब्स उपलब्ध छैन।’
कोभिड र नन कोभिड बिरामी दुवैको उपचार गर्नुपर्ने भएकाले पनि चुनौती धेरै भएको निर्देशक सेञ्चुरी बताउँछन्। उनी भन्छन्, ‘कर्मचारीको व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण छ। कोभिड र ननकोभिड दुवै बिरामीको उपचार हुने भएकाले स्वास्थ्यकर्मीलाई जोगाउन पनि निकै गाह्रो छ।’
पिपिईको व्यवस्थापन, ल्याबका सामग्रीहरु जुटाउन पनि समस्या भएको उनले बताए। स्वास्थ्य सामग्री पाउन मुश्किल भएको र पाए पनि दुई तीन गुणा महँगो हुने गरको उनले बताए।
कोरोना महामारी हुनुअघि वीर अस्पतालमा २५ सयदेखि ३ हजारसम्म बिरामी सेवा लिन पुग्ने गर्थे। हाल ३ सय देखि ४ सयसम्म बिरामी मात्र अस्पताल आउने गरेको उनले जानकारी दिए।
वीर अस्पतालमा हाल कर्मचारी र रेसिेडेन्ट गरी १६ सय कर्मचारी छन् भने सरकारी कर्मचारी १२ सय २८ जना छन्।