काठमाडौं - कोरोना संक्रमितको जोखिम र संख्या दैनिक बढ्दो छ। कोरोनाको संक्रमणबाट स्वास्थ्यकर्मीहरु पनि अछुतो रहन सकेको छैन।
चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेका छन्। उपचारकै क्रममा संक्रमित भएपछि कतिपय स्वास्थ्यकर्मी अस्पतालको आइसोलेसन त कतिपय होम आइसोलेसनमा छन्।
जसमध्ये एक हुन्, चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विश्वबन्धु बगाले। उनी विगत १२ दिनदेखि होम आइसोलेसनमा छन्। उनलाई साउन २६ गते कोरोना पुष्टि भएको थियो। त्यसदिन देखि उनी होम आइसोलेसन मै थिए।
हाल उनी कोरोनालाई जित्न सफल भएका छन्। शनिबार बिहान उनको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना भएपनि उनमा खासै लक्षण भने थिएन। त्यसैले उनले विभिन्न घरेलु विधि नै अपनाए। औषधिको जरुरी परेन। उनी अहिले स्वस्थ छन्।
उनी भन्छन्, ‘मलाई खासै लक्षण देखिएको थिएन। त्यसैले घरमै तातो पानी खाने, बाफ लिने, कागती खाने, अन्य घरेलु विधिहरु नै अपनाए। मैले त्यस्तो औषधि नै गरिन।’
आफुमा लक्षण नभएको र आत्मबल बलियो भएकाले कोरोनार्ला जित्न सकेको उनी बताउँछन्। उनको श्रीमतीको भने कोरोना पोजेटिभ नै आएको छ।
‘मलाई त्यस्तो लक्षण नभएकाले पनि कोरोनाको खासै डर त थिएन। तर पनि म निको हुन्छु। भनेर आत्मबल बलियो बनायौं भने कोरोनालाई जित्न सकिदो रहेछ’ उनले भने।
कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा १२ दिन बिताएका डा बगालेको अनुभव उनकै शब्दमा :
मलाई खासै कोरोनाको लक्षण नभएकाले म होम आइसोलेसनमा बसेको थिए। लक्षण विहीन भएकाले घरमै उचित व्यवस्थापन गरी होम आइसोलेसनमा बस्नु मलाई ठिक लाग्यो। मैले यो १२ दिन मेडिकल औषधि गरिन। तर केही औषधि खानु पर्ने हो की उपचार गर्नुपर्ने हो की भन्ने बिचार मनमा आइहाल्ने रहेछ।
मैले अन्य चिकित्सकलाई पनि सोधेँ। उहाँहरुले लक्षणविहीन भएको अवस्थामा भिटामिनहरु खाँदा हुने बताए। मैले कागती प्रशस्तै खाएँ। अम्बा खाएँ। भिटामिन सी भएका खानेकुराहरु खाएँ।
मैले गुर्जो पनि खाएँ। हर्बल औषधिमा यो रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि राम्रो मानिन्छ। रोगलाई निको बनाउन भन्दा पनि मैले यो प्रतिरोधात्मक क्षमता बढाउनका लागि उपयोग गरे। मैले यो पानीमा पकाएर खाएँ।
दैनिक तातो पानीको बाफ लिने काम गरे। राति सुत्दा पनि तातो पानीको बाफ लिने गर्थेँ। यसले श्वासप्रश्वासमा पनि फाइदा पुर्याउने रहेछ। मैले यसरी नै घरेलु विधिहरु अपनाए। अन्य मेडिकल औषधि गरिन। एक दुई पटक सिटामाले चाँही खाएँ।
मेरो श्रीमतीको अझै पनि पोजेटिभ नै आएको छ। सुरुमा कोरोना संक्रमण भयो भन्दा मनमा एक किसिमको डर त हुने रहेछ। विश्वमा यति धेरै मानिसहरु संक्रमित भएको मृत्यु भएको खबरहरु देख्दा त मलाई पनि अचानक केही हुन्छ की डर चाँही हुने रहेछ। तर यो डरलाई मनमा लिएर भने बसेनौं। हामी दुवै जनाले यसलाई तनावको रुपमा परिणत हुन दिएनौं।
लक्षणहरु देखिएको भए सायद मनमा अर्कै किसिमको डर हुन्थ्यो होला। तर लक्षण नभएकाले पनि मरिहाल्ला भन्ने खालको अनुभव भने कहिले भएन। श्वासप्रश्वासमा समस्या आए मात्र अन्य समस्या निम्त्याउने या ज्यानै जान सक्छ भन्ने कुरा हामी दुवैलाई थाहा थियो। तर हामीमा त्यस्तो कुनै समस्या नभएकाले पनि केही ढुक्क हुन सकेका थियौं।
श्रीमती अझै पनि पोजेटिभ भएकाले म अहिले नै अस्पतालको नियमित काममा फर्किन्न। तर केही दिनमा अस्पताल फर्कन्छु।
अहिले देशभरका विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरु संक्रमति भइरहेका छन्। उहाँहरुले यो बेलामा आत्मबल बलियो बनाउनुपर्छ। स्वास्थ्यकर्मी र अन्य मानिसले पनि अब म बिरामी भए भन्दा पनि मलाई संक्रमण भयो, अब मैले यसलाई जित्नुपर्छ भन्ने सोच्यौं भने कोरोनालाई जित्न सकिन्छ।
त्यसैले खानपानमा ध्यान दिन र धेरै तनाव लिनु हुँदैन। लक्षण विहीन छ र घरमा मिल्ने अवस्था छ भने सक्नेले होम आइसोलेसनमै बस्दा ठिक हुन्छ। किनभने घरमै हाम आइसोलेसनमा बस्दा म बिरामी होइन, मैले स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने अनुभव चाँही हुने रहेछ।
सुरुमा कोरोना पोजेटिभ आयो भन्दा मनमा डर हुनु स्वभाविक भएपनि आत्मबल बलियो बनाउनुपर्छ। यदी कोही लक्षण विहीन संक्रमित छन् र घरमै व्यवस्थापन गर्न सकिन्छ भने होम आइसोलेसन उचित हुन्छ। तर होम आइसोलेसनमा बसिरहँदा दीर्घ रोगी, ज्येष्ठ नागरिकसँग घुलमिल हुने गर्नु हुँदैन। आवश्यक सतर्कता अपनाउनु नै पर्छ।
यदी लक्षण विहीनहरु होम आइसोलेसनमा बस्ने व्यवस्था हुन सक्यो भने अस्पतालहरुमा बेड अभाव पनि हुँदैन। स्थानीय र केन्द्र सरकारले होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाउन सक्यो या होम आइसोलेसन जस्तै सेन्टरहरुलाई प्राथमिकता दिन सक्यो भने अस्पतालमा लोड कम हुनुका साथै संक्रमित र अन्य मानिसहरुलाई जोखिम पनि कम हुन्छ।
संक्रमणमुक्त भएकाले म मेरो प्लाज्मा दिन तयार छु। मेरो प्लाज्मा दिएर कसैको जीवन बचाउनु पर्ने परिस्थिति आएमा सँधै तत्पर छु।