काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३० गते एक सूचना जारी ग¥यो। जसमा कोरोना संक्रमितको उपचारका लागि सबै निजी, सामुदायिक र सरकारी स्वास्थ्य संस्थाले २० प्रतिशत बेड छुट्याउनुपर्ने भनिएको थियो।
मन्त्रालयको यो निर्णयप्रति विभिन्न सरोकारवाला र विज्ञहरुले आलोचना गर्दै आएका छन्। उनीहरुले कोभिड र ननकोभिडका बिरामीलाई एकै अस्पतालमा उपचार गर्दा संक्रमण फैलने जोखिम बढ्ने भन्दै उक्त निर्णय सच्याउनुपर्ने बताउँदै आएका छन्।
नेपाल चिकित्क संघले पनि कोभिड र ननकोभिडका बिरामीलाई एकै ठाउँमा उपचार गर्न नहुने भन्दै अस्पतालको वर्गीकरण गर्न सरकारसँग आग्रह गरेको छ। तर मन्त्रालयले भने उल्टै कोभिडको उपचारका लागि बेड नछुट्याउने निजी अस्पताल तथा मेडिकल कलेजलाई पिसिआर गर्न दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ।
मन्त्रालयको यो निर्णयमा सरकार बाहेक अन्य कुनै पनि सरोकारवाला र विज्ञहरु सहमत छैनन्। मन्त्रालयको निर्देशन अनुसार कोभिड र अन्य बिरामीलाई एकै ठाउँमा उपचार गर्दा जोखिम बढ्नेमा उनीहरुको चिन्ता छ।
कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राख्दा स्थिति भयावह हुनसक्छ : डा बाबुराम मरासिनी
कोभिड र ननकोभिड बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नै नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी बताउँछन्।
एकै ठाउँमा कोडिभ र ननकोभिडका बिरामीलाई उपचार गर्दा जोखिम सधैं रहने उनको भनाइ छ। कोरोनाका बिरामीलाई छुट्टै अस्पतालमा उपचार गरे मात्र कोरोना नियन्त्रण गर्न सकिने भन्दै उनी दुई वटा उदाहरण प्रस्तुत गर्छन्ः
पहिलो उदाहरण
सन् २०१४ मा पश्चिम अफ्रिकाको लाइबेरियामा इबोला भाइरस फैलियो। उनीहरुले इबोलाको उपचार जनरल अस्पतालमा सुरु गरे। त्यहाँ सबै बिरामीलाई एकै ठाउँमा राखिएको थियो।
इबोलाका कारण लाइबेरियामा चिकित्सक तथा स्वास्थ्यकर्मीसहित धेरै मानिसको मृत्यु भयो। इबोलाले ठूलो महामारीको रुप लियो। त्यसपछि त्यहाँका राष्ट्रपतिले अमेरिकी सेना झिकाए। सेना झिकाएपछि स्थिति केही सम्हालियो। पछि उनीहरुले इबोलाको उपचारका लागि छुट्टै अस्पताल बनाए। त्यसपछि छुट्टै परीक्षण र उपचार हुन थालेपछि महामारी नियन्त्रणमा आयो।
दोस्रो उदाहरण
इटालीमा कोरोना संक्रमणका कारण धेरै मानिसको मृत्यु भयो। त्यहाँको स्वास्थ्य मन्त्रालयले कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा राखेर उपचार गरेर ठूलो गल्ती भएको बतायो। कोरोनाका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा बिरामी र धेरै स्वास्थ्यकर्मीको मृत्यु भयो। यस्तो गल्ती कसैले पनि नगरोस् भनेर इटालीको स्वास्थ्य मन्त्रालयले भनिरहेको छ।
कोरोनाको लागि छुट्टै अस्पतालको व्यवस्था गर्दा जोखिम कम हुनुका साथै पिपिई र जनशक्ति कम लाग्ने लाग्ने डा मरासिनी बताउँछन्। क्वारेन्टाइनको व्यवस्थापन गर्न पनि सहज हुने उनले बताए।
उनी भने, ‘कोरोनाको लागि मात्र छुट्टै अस्पताल बनाउँदा पिपिई कम लाग्ने भयो। जनशक्ति पनि कम लाग्छ। जोखिम पनि कम हुन्छ।’
डा मरासिनीका अनुसार कुनै अस्पतालमा सात सय स्वास्थ्यकर्मी छन् भने एक जनालाई मात्र कोरोना देखिए पनि सम्पर्कमा आएका सबैको पिसिआर परीक्षण गर्नुपर्छ। त्यसो गर्दा खर्च पनि बढी लाग्छ। तर कोरोना विशेष अस्पतालमा जोखिम र खर्च पनि दुवै कम हुने उनी बताउँछन्।
कोभिड र ननकोभिडका बिरामीलाई एकै ठाउँमा सेवा दिँदा स्वास्थ्यकर्मी सहित अन्य बिरामी सधैं जोखिममा रहने उनले बताए। हाल यसैका कारण विभिन्न अस्पतालमा स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेको उनको भनाइ छ। कोरोनाका बिरामीलाई अन्य बिरामीबाट पनि संक्रमणको पनि जोखिम हुने उनले बताए।
‘जनरल अस्पतालमा कोरोना संक्रमितलाई राख्दा अन्य बिरामीको संक्रमण पनि उनीहरुलाई सर्ने डर हुन्छ। यसले धेरैको ज्यान जाने सम्भावना पनि हुन्छ,’ डा मरासिनीले भने।
कोरोनाकै डरका कारण अधिकांश बिरामी स्वास्थ्य संस्था जान छाडेको उनले बताए। जसले गर्दा रोग र समस्या बढ्ने खतरा हुने डा मरासिनी बताउँछन्।
उनले भने, ‘अहिले अरु रोगका बिरामीहरु अस्पताल नै जान छाडेका छन्। उनीहरु भोलिपर्सि भन्दै घरमै बसिरहेका छन्। यसले गर्दा रोग त झनै बढ्ने भयो। कतिपय गर्भवती नै अस्पताल जान डराएका छन्।’
कोडिभ र ननकोभिड बिरामीलाई एकै ठाउँमा राख्न नहुने उनको सुझाव छ।
स्वास्थ्य संस्था कोरोना संक्रमणको अखडा नबनोस् : हेमराज दाहाल
कोभिड र ननकोभिड बिरामीलाई एकै ठाउँमा नभई छुट्टै राख्नुपर्ने निजी अस्पतालहरुको पनि बुझाइ छ।
हरेक अस्पतालको आफ्नै फरक किसिमको भौतिक संरचना हुने भएकाले कोभिड र ननकोभिड बिरामी एकै ठाउँमा राख्न नमिल्ने उनीहरु बताउँछन्।
प्राइभेट हस्पिटल एसोसिएसनका महासचिव हेमराज दाहाल भन्छन्, ‘अस्पतालहरुको आफ्नै भौतिक संरचना छन्। सुत्केरी गराउने, मुटुका बिरामी, डायलासिस गर्ने विभिन्न किसिमका बिरामीहरु आउँछन्। भोलि संक्रमण फैलियो भने अवस्था के हुन्छ? हाम्रो चिन्ता यहाँ हो।’
अस्पतालको प्रवेशद्वार एउटै, प्यासेज अनि करिडोर एउटै हुने भएकाले कोरोना संक्रमितलाई पनि एउटै अस्पतालमा उपचार गर्दा स्वास्थ्य संस्था नै संक्रमणको अखडा बन्ने उनको आशंका छ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णयप्रति आफूहरुको विरोध नभई चिन्ता मात्र भएको उनको भनाइ छ। मन्त्रालयको निर्णय अपरिपक्क भएको उनको बुझाइ छ।
सरकारले अस्पतालहरुलाई मिसाउनु भन्दा पनि छुट्टै कोरोना विशेष अस्पताल नै बनाउनुपर्ने उनी बताउँछन्।
‘कतिपय अस्पतालहरुले कोरोनाको मात्र उपचार गर्छौं भनेर सार्वजनिक रुपमा प्रतिवद्धता समेत जनाएका छन्,’ दाहालले भने, ‘ती अस्पतालहरुमा कोरोनाका बिरामी राखौं न। बरु ती अस्पतालहरुमा पनि कोरोनाका बिरामी भरिए भने मात्र मिक्स गरौं। एकै पटक तेस्रो चरणको निर्णय गर्नु राम्रो होइन।’
कोभिडको उपचार हुने अस्पतालमा बिरामीहरु समेत सेवा लिन जान डराउने गरेको उनले बताए। निष्क्रिय भएर बसेका निजी अस्पतालहरुलाई सरकारसँग मिलेर कोरोना विशेष अस्पताल बनाउनुपर्ने उनको भनाइ छ।
एउटै कोरोना संक्रमितले पनि निजी अस्पतालका धेरै स्वास्थ्यकर्मीलाई संक्रमित बनाएकाले यो जोखिमपूर्ण हुने उनी बताउँछन्।
दाहाल भन्छन्, ‘नेपालजस्तो स्रोत र साधन कम भएको देशमा यसरी कोभिड र ननकोभिड बिरामीलाई मिसाउँदा भोलि त्यसबाट आउने भयावह स्थितिलाई हामीले कसरी लिने? कसरी व्यवस्थापन गर्ने? त्यसैले यो विरोध होइन, हाम्रो चिन्ता मात्र हो।’
स्वास्थ्य मन्त्रालयले यो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ।
यो पनि :