धनगढी- कोही झोला बोकिरहेका थिए। कोही गाडीमा सामान राखिरहेका थिए त कोही गाडी मालिकसँग गन्तव्यसम्म लाग्ने शुल्कका विषयमा जानकारी लिइरहेका थिए। कोही आफन्तसँग गफ गर्दै थिए भने कोही आफन्त खोजिरहेका थिए। कसैको अनुहारमा निराशा थियो त कोही चिन्तित थिए भने कोही थकित देखिन्थे। पछिल्लो समय कञ्चनपुरको डोकेबजारमा रहेको खुला चौरमा यस्तै दृष्य देखिन्छ।
सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन जारी गरेको थियो। लकडाउनका कारण भारतबाट फर्किएका नेपाली सीमामै अलपत्र परेका थिए। ११ गते कैलालीको त्रिनगर नाकाबाट नेपालीहरु प्रवेश गरे पनि त्यसयता, एक महिना नाका पूरै बन्द गरिएको थियो। झन्डै एक महिनापछि सरकारले नेपाल आउन चाहने नेपालीका लागि नाकाबाट प्रवेश दिन थाल्यो।
त्यसयता कैलालीको धनगढी जोड्ने भारतको त्रिनगर नाकाबाट आफनो घर जाने सुदूरपश्चिमका बासिन्दा धमाधम प्रवेश गरिरहेका छन्। झन्डै तीन महिनामा लाखौं सुदूरपश्चिमका बासिन्दा यो नाकाबाट प्रवेश गरेको जनाइएको छ। अहिले पनि दैनिक सरदर पाँच सय व्यक्ति नाकाबाट प्रवेश गरिरहेको जनाइएको छ।
कैलाली जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिदेखि कैलालीमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका कारण कैलालीका बजार र टोलहरु सुनसान भए पनि नाकामा भने गन्तव्य स्थानसम्म पुग्ने चाहनासहित भारतबाट फर्कनेको लर्को जारी थियो।
नाकामा एक जना ‘थर्मल गन’ ले आउने व्यक्तिहरुको ज्वरो जाँच गरिरहेका थिए भने खटिएका केही सुरक्षाकर्मीहरु उनीहरुको नाम, जाने स्थानका बारेमा जानकारी लिइरहेका थिए।
कैलालीको त्रिनगर नाका भएर सुदूरपश्चिमका ९ वटै जिल्ला र कर्णाली तथा प्रदेश नम्बर ५ का नागरिक पनि प्रवेश गरिरहेका छन। त्रिनगर भन्सार नाकामा सुरक्षामा खटिएका अमराज बुढाले प्रदेशका विभिन्न जिल्लाका तीन सय चार जना भित्रिएको जानकारी दिए। उनका अनुसार शुक्रबार कैलालीका ९४, कञ्चनपुरका ६०, डडेल्धुराका ९, डोटीका ११, अछामका पाँच, बझाङका ८३, बैतडीका २६, दार्चुला र बाजुराका एक जना प्रवेश गरेका छन्।
यस्तै, कर्णाली प्रदेशको सुर्खेतका ९, प्रदेश ५ को बाँके र बर्दियाका एक÷एक जना नाकाबाट प्रवेश गरेको जनाइएको छ। नाकाबाट प्रवेश गरेकालाई सम्बन्धित जिल्ला पठाउन सवारी साधनको व्यवस्था गरिएको जनाइएको छ।
क्वारेन्टाइनको व्यवस्था छैन
सुदूरपश्चिमका पहाडी जिल्लामा अहिले पनि क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ तर, प्रदेशको बढी जनसंख्या रहेको कैलाली र कञ्चनपुरमा भने भारतबाट घर फर्केकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छैन।
प्रदेशमा पाँच जना कोरोना संक्रमित देखिँदा सबै स्थानीय तहहरुले भारतबाट आउनेहरुलाई सिधै घर नपठाई क्वारेन्टाइनमा राखिरहेको थियो। सरकारले लकडाउन अन्त्य गरेसँगै प्रदेशका केही स्थानीय तहहरुले ती क्वारेन्टाइनलाई पनि हटाएको थियो।
प्रदेशकै एकमात्र उप–महानगरपालिका धनगढीका प्रवक्ता सन्तोष मुडभरीले अहिले सबै क्वारेन्टिन बन्द भएको जानकारी दिए। उनले विद्यालयमा क्वारेन्टिन सञ्चालन गर्नसक्ने अवस्था नरहेको भन्दै वैकल्पिक स्थानको खोजी भइरहेको दावी गरे।
धनगढी उप–महानगरपालिकाले क्वारेन्टिन सञ्चालन गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र पठाएको छ।
विद्यालयहरु सञ्चालन हुने भएकाले क्वारेन्टिन सञ्चालन गर्न नसकिने भन्दै उप–महानगरपालिकाले साउन ३२ गते प्रशासनलाई पत्र पठाएको हो। धनगढीमात्र होइन अहिले कैलालीका अधिकांश स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था छैन।
सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम लगायतका जिल्लामा भने अहिले पनि भारतबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमै राखिने गरेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार अहिले प्रदेशभरि एक हजार ५४ महिला र दुई हजार चार सय आठ पुरुष गरी तीन हजार चार सय ६२ जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेशमा सबैभन्दा बढी बझाङमा चार सय ७३ महिला र आठ सय १६ पुरुष गरी एक हजार दुई सय ८९ जना क्वारेन्टाइनमा रहेका छन् भने सबैभन्दा कम दार्चुलामा ९ महिला र ४९ पुरुष गरी ५८ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
प्रदेशको कैलालीमा ३६ महिला र ८१ पुरुष गरी एक सय १७ जना, कञ्चनपुरमा एक सय आठ महिला र दुई सय ७६ पुरुष गरी तीन सय ८४, डडेल्धुरामा २५ महिला र एक सय ३२ पुरुष गरी एक सय ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
यस्तै, डोटीमा एक सय ४५ महिला र चार सय ७८ पुरुष गरी ६ सय २३, अछाममा एक सय ६६ महिला र तीन सय ६१ पुरुष गरी पाँच सय २७, बैतडीमा ५१ महिला र एक सय ७६ पुरुष गरी दुई सय २७ र बाजुरामा ४१ महिला र ३९ पुरुष गरी ८० जना क्वारेन्टाइनमा रहेका छन्।
प्रदेशमा सात सय बढी सक्रिय संक्रमित
भारतबाट नेपाली प्रवेश गर्ने क्रमसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै गएको छ। प्रदेशमा अहिलेसम्म पाँच हजार एक सय ३५ जनामा कोरोना संक्रमण देखिइसकेको छ।
पाँच हजारमध्ये चार हजार तीन सय ७४ जना निको भएर घर फर्किसकेका छन् भने सात सय ५२ जना अझै प्रदेशमा सक्रिय संक्रमित रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी सक्रिय संक्रमित डोटीमा रहेका छन्। डोटीमा अहिलेसम्म आठ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये अहिले दुई सय ६८ जना सक्रिय कोरोना संक्रमित रहेका छन भने पाँच सय ७६ जना निको भएर घर फर्किसकेका छन्।
सबैभन्दा बढी कोरोना संक्रमित रहेको कैलालीमा अहिले एक सय ५८ जनामात्र सक्रिय संक्रमित रहेका छन्। कैलालीमा अहिलेसम्म एक हजार चार सय ६० जनामा कोरोना संक्रमण देखिएकोमा एक हजार दुई सय ९८ जना निको भएर घर फर्किसकेका छन्। कैलालीमा अहिलेसम्म कोरोना संक्रमणका कारण चार जनाको मृत्यु भएको छ।
यस्तै, कञ्चनपुरमा ६ सय २१ जना कोरोना संक्रमण पुष्टि भएकोमा अहिले ४१ जना, डडेल्धुरामा तीन सय ९ मा कोरोना संक्रमण पुष्टि भएकोमा १० जना, अछाममा सात सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ८२ जना सक्रिय संक्रमित रहेका छन्।
बैतडीमा तीन सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा पाँच जना, बझाङमा दुई सय ८५ जनामध्ये एक सय ७३, बाजुरामा चार सय ५२ मध्ये आठ र दार्चुलामा ४३ मध्ये सात जना सक्रिय संक्रमित रहेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अछाममा एक, बझाङ र बाजुरामा दुई÷दुई जना गरी प्रदेशमा हालसम्म ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।