काठमाडौं- भदौं २ गते एकै दिन हजार बढी कोरोना संक्रमित भेटिए। त्यो दिन मात्र १ हजार १६ जना संक्रमित भेटिएका थिए। एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो नै पहिलो पटक थियो।
संक्रमितको संख्या बढ्न थालेको अहिले मात्र होइन। लकडाउनको अन्त्यसँगै संक्रमितको संख्या बढ्ने सिलसिला पनि सुरु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि यसको पुष्टि गर्छ।
पछिल्लो एक महिना अर्थात् साउन ७ गतेदेखि ११ हजार ६ सय ५१ जना संक्रमित थपिएका छन्। लकडाउन खुल्नुअघिसम्म कोरोना संक्रमितको संख्या १ सयको हाराहारी मात्र थियो। तर लकडाउन खुलेसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढ्दै गएको मन्त्रालयको तथ्यांक छ।
साउन ७ गते कोरोना संक्रमितको संख्या एक सय मात्र थियो। साउन ७ देखि साउन १२ गतेसम्म संक्रमितको संख्या दुई सय तल थियो। साउन १३ देखि संक्रमितको संख्या ३ सयको हाराहारीमा पुग्दै यो संख्या क्रमशः बढ्दै गएको छ। कुन दिन, कति संक्रमित भेटिए? तथ्यांकमा हेरौंः
कति गते, कति संक्रमित भेटिए?
साउन ७– १००
साउन ८– १४७
साउन ९– १३३
साउन १०– १०९
साउन ११– १३०
साउन १२– १३९
साउन १३– ३११
साउन १४– २१०
साउन १५– २७४
साउन १६– २२४
साउन १७– ३११५
साउन १८– २४६
साउन १९– ४१८
साउन २०– २५९
साउन २१– ३८१
साउन २२– ३६०
साउन २३– ४६४
साउन २४– ३७८
साउन २५– ३८०
साउन २६– ३३८
साउन २७– ६३८
साउन २८– ४८४
साउन २९– ५२५
साउन ३०– ५९४
साउन ३१– ४६८
साउन ३२– ६४१
भदौं १– ५८१
भदौं २– १०१६
भदौं ३– ६८१
भदौं ४– ७०७
जनस्वास्थ्यको मापदण्ड व्यवहारमा लागू हुनुपर्छ : विज्ञ
सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै करिब पाँच महिना लकडाउन ग¥यो। तर लकडाउनको पूर्ण रुपमा पालना भने हुन सकेन। विज्ञहरुले पनि पटकपटक लकडाउनलाई कडाइका साथ पालना गर्नुपर्ने आवाज उठाए।
पूर्ण रुपमा लकडाउनको कार्यान्वयन हुन नसक्दा नै संक्रमितको संख्या बढेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। हाल जारी गरिएको निषेधाज्ञालाई कडाइका साथ लागू गरे मात्र केही हदसम्म कोरोना नियन्त्रण गर्न सकिने उनले बताए। लकडाउन खुलेपछि बढेको मानिसको चहलपहलले पनि कोरोनाको जोखिम बढाएको उनले बताए।
डा पुन भन्छन्, ‘लकडाउन भयो तर पूर्ण रुपमा पालना हुन सकेन। बीचमा सार्वजनिक सवारी साधन पनि चले। तर जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन भएन। मानिसको आवतजावत र चहलपहल बढ्यो। त्यसैले जोखिम र संख्या पनि बढेको हो।’
मानिसको आवातजावत र भीडभाड कम गर्न सके मात्र संक्रमण रोक्न सकिने उनले बताए। सरकारले विशेष किसिमको रणनीति बनाएर तत्काल एक्सनमा जानुपर्ने उनको भनाइ छ।
सरकार र सर्वसाधारण बेलैमा सचेत नभए स्थिति भयावह हुनसक्ने उनी बताउँछन्। सरकारले जोखिम क्षेत्रलाई बढी प्राथमिकता दिएर ती क्षेत्रहरुमा बढी पिसिआर गर्नुपर्ने उनको सुझाव छ।
डा पुनले भने, ‘विशेष रणनीति बनाएर सरकार अघि बढ्नुपर्छ। यतिउति पिसिआरभन्दा पनि बढी जोखिम रहेको क्षेत्रमा पिसिआरको दायरा बढाउनु आवश्यक छ।’
जनस्वास्थ्यको मापदण्ड हरेकले लागू गर्नुपर्ने उनले बताए। समुदायको कोरोना फैलिएको विभिन्न विज्ञहरुले बताइरहेका छन्। तर डा पुन भने विभिन्न संकेतहरु भए पनि आधार र प्रमाण बिना कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताउँछन्।
जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षित कोरोनालाई तत्काल नियन्त्रण गर्न नसकिने बताउँछन्। उनका अनुसार कोरोनालाई नियन्त्रण नभई यसको संक्रमणको फैलिने क्रम मात्र रोक्न सकिन्छ।
मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्नु नै यसको सबैभन्दा बढी प्रभावकारी उपाय भएको उनले सुझाए।
डा दीक्षितले भने, ‘कोरोना नियन्त्रण गर्न सकिँदैन। यसको संक्रमण फैलिने क्रम मात्र रोक्न सकिने हो। यसको लागि प्रभावकारी उपाय भनेको मास्क लगाउनु र सामाजिक दूरी कायम गर्नु नै हो।’
हाल देशका विभिन्न जिल्लामा सरकारले निषेधाज्ञा जारी गरेको छ। तर पूरै जिल्लालाई निषेधाज्ञा गर्नुभन्दा पनि जोखिम क्षेत्रमा मात्र निषेधाज्ञा गर्नुपर्ने उनको भनाइ छ।
उनी भन्छन्, ‘पूरै जिल्लालाई निषेधाज्ञा गर्दा अरु धेरै कुरामा समस्या हुन सक्छ। त्यसैले जोखिमको आधारमा र जोखिम क्षेत्रलाई मात्र निषेधाज्ञा या लकडाउन गर्नुपर्छ। पूरै जिल्लालाई गर्न आवश्यक छैन।’
कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सरकार अनि सर्वसाधारण सचेत रहन डा दीक्षितको आग्रह छ।