कोरोनाको हटस्पट जिल्लाको रुपमा पर्सालाई चिनिन्छ। यहाँ दैनिकजसो नै कोराना संक्रमित भेटिन्छन्। संक्रमितको बढ्दो चाप वीरगञ्जस्थित नारायणी अस्पताललाई थेगिनसक्नु छ।
पर्सा जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या १५ सय बढी छ। नेपालमा माघ ९ गते पहिलो संक्रमित भेटिए लगत्तै नारायणी अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि तयारी अघि बढाएको थियो। यसको नेतृत्व गरेका थिए, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा मदन उपाध्यायले।
उनकै नेतृत्वमा अस्पतालले सुरुमा कोरोना संक्रमितको उपचारका लागि पाँच शय्याको आइसोलेसन वार्ड छुट्याएको थियो। नारायणी अस्पतालले सम्भावित संक्रमितलाई चैत ६ गतेबाट भर्ना लिन सुरु गरेको थियो। अस्पतालमा वैशाखबाट मात्र कोरोना संक्रमित भर्ना भएका हुन्।
त्यो बेला कोरोनाको उपचारका लागि पूर्वतयारी गर्न डा उपाध्यायका लागि सहज काम थिएन। कारण, अस्पतालको पुरानो भौतिक संरचना अनि कर्मचारी व्यवस्थापन ठूलो समस्या अनि चुनौती थियो।
भएका कर्मचारी पनि संक्रमित भएर आइसोलेसनमा रहँदा अस्पतालको अन्य सेवा प्रभावित भएका छन्। यद्यपि उनकै अग्रसरतामा आठ सय बढी कोरोना संक्रमित उपचारपछि घर फर्कन सफल भए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई भदौ १ गते अस्पतालबाट सरुवा गरेर मन्त्रालयमा ल्याउने निर्णय गरेको छ। यद्यपि उनले औपचारिक पत्र भने बुझिसकेका छैनन्। डा उपाध्याय २०७६ साल साउन २२ गते नारायणी अस्पतालको मेसुको रुपमा आएका थिए।
नारायणी अस्पतालमा उनले करिब एक वर्ष बिताएका छन्। यो अवधिमा उनको नेतृत्वमा केकस्ता काम भए? अनुभव कस्तो रह्यो? कोरोना संक्रमितको उपचारमा नेतृत्वमा लिनु कतिको चुनौतीपूर्ण थियो? लगायत विषयमा डा उपाध्यायसँग कुराकानी गरेका छौं। प्रस्तुत छ, डा उपाध्यायसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीः
नारायणी अस्पतालमा यहाँले मेसुको रुपमा एक वर्ष काम गर्नुभयो। समग्रमा यहाँको अनुभव कस्तो रह्यो?
यो एक वर्ष मेरो लागि चुनौतीपूर्ण रह्यो। केन्द्रीय अस्पताल भए पनि यहाँ संरचना, कर्मचारी र सेवासुविधाको हकमा यो व्यवस्थित छैन। धेरै पुराना र मर्मत नभएका भवन, कोठाको अभाव, चुहिने समस्या यस अस्पतालमा छ। सरकारी भन्ने बित्तिकै पुरानो जीर्ण भवन भन्ने जुन सोच मानिसमा आउँछ, यो नारायणी अस्पताल त्यस्तै छ। यो भवन पुनःनिर्माण र मर्मतका लागि कतैबाट पनि चासो नभएको जस्तो देखियो।
म जाँदा ६० प्रतिशत बढी पदहरु खाली थिए। केही प्रतिशत पद म गएपछि पदपूर्ती गरियो। जनशक्ति नै कम भएपछि सेवा प्रवाहमा पनि प्रभाव पर्ने रहेछ। सेवा प्रवाह भए पनि गुणस्तरीय सेवा प्रवाहमा कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने। कर्मचारीलाई काममा लगाउन पनि निकै गाह्रो।
विभिन्न अस्पतालमा मैले काम गरे। तर नारायणी अस्पतालमा आधुनिक उपकरणहरुको निकै कमी थियो। एउटा जिल्ला अस्पतालमा हुने उपकरण समेत त्यहाँ थिएन। काम भइरहे पनि केन्द्रसँग समन्वय नभएको हो कि, समन्वय नभएर नै हो कि धेरै कुराको अभाव थियो।
सुरुवाती दिनमा त मलाई कहाँबाट कसरी सुरु गर्ने भन्ने नै ठूलो चुनौती भयो। अर्को चुनौती भनेको अस्पताल भित्रको भ्रष्टाचार अनि अनियमितता हटाउनु भयो। कर्मचारीहरु समयमै नआउने, अस्पताल जाँदै नजाने, त्यहाँका बिरामीलाई प्राइभेटमा लिएर जाने लगायत आर्थिक पाटोमा धेरै अनियमितता छ। यो एक वर्षको अवधिमा प्रयास गरे पनि धेरै अनियमिमताको जालोलाई सफा गर्न सकिएन।
अस्पताल निकै फोहोर थियो। त्यसैले पहिलो काम अस्पतालमा भएको फोहोरलाई व्यवस्थापन गर्नमा केन्द्रित रह्यो। केही महिनामा धेरै हदसम्म सफा पनि भयो।
यो एक वर्षको अवधिमा यहाँको पहलमा केके काम भए? केके कामको सुरुवात गर्नुभयो?
मेरो मात्र पहलले काम हुने भन्ने हुँदैन। सबैको साथ र समर्थनको आवश्यकता पर्छ नै। मैले त्यहाँ एउटा टिम बनाउन सकेँ जस्तो लाग्छ। चिकित्सक, नर्सिङ स्टाफ, पारामेडिक्सलाई एकै ठाउँमा ल्याएर परिवार जस्तो बनाउन सकियो।
अर्को, उपलब्धि भनेको मोलिक्युलर ल्याब हो। नारायणी अस्पतालमा एउटा मोलिक्युलर ल्याब सेन्टर हुन्छ भनेर कसैले सोचेको पनि थिएन होला। दुई वर्षदेखि क्याथ ल्याबको सामान आउन सकेको थिएन। अहिले यो सामान आइसकेको छ। भवन बनेपछि यसलाई पनि सुरु गर्न सकिन्छ।
लामो समयदेखि विज्ञापन गरेर कर्मचारी भर्ना हुन सकेको थिएन। कर्मचारी भर्नामा चलखेल थियो भन्ने आरोप अस्पतालले खेपिरहेको थियो। म गएपछि खाली भएका दरबन्दीमा विज्ञापन गरेर पदपूर्ति गर्न सकियो।
योसँगै कंगारु मदर केयर सेवा एनआइसियुमा अगाडि बढाइयो। आँखा सम्बन्धी सेवाको सुरुवात गर्न सकियो। अल्ट्रा सोनोग्राम, डिजिटल एक्स–रे, क्रिटिकल केयरमा प्रयोग हुने उपकरण हुनेदेखि लिएर प्यासेन्ट मोनिटर उपकरण जडान गर्न सकियो। त्यहाँ एउटा मात्र भेन्टिलेटर थियो। हाल पाँच वटा भेन्टिलेटर छन्।
उपकरणको अभावमा त्यहाँ धेरै सेवाहरु रोकिएका थिए। हाल पहिलेको जस्तो अवस्था छैन। अहिले पनि सबै सामान त पुगिसकेको छैन। पहिलेभन्दा केही सुधार भएको छ। छात्रवृत्तिका चिकित्सकहरु पहिले थिएनन्। अहिले समन्वय गरेर छात्रवृत्तिका चिकित्सक पनि छन्।
पछिल्लो समय पर्सा कोरोनाको हटस्पट जिल्ला बन्यो। कोरोनाको उपचारका लागि पूर्वतयारी र यसलाई व्यवस्थापन गर्दै अघि बढ्न कतिको चुनौतीपूर्ण थियो?
कोरोनाको पूर्वतयारी र व्यवस्थापन वास्तवमा निकै ठूलो चुनौतीको काम थियो। माघ ९ गते पहिले संक्रमित देखिने बित्तिकै हामीले पूर्वतयारी सुरु गरेको थियौं। त्यो बेला हामीले आइसोलेसन वार्ड पाँच बेडबाट सुरु गरेर ७५ बेडमा पुर्याएका थियौं।
स्वास्थ्यकर्मीलाई उपचारमा खटाउन सबैभन्दा पहिले प्रेरणाको आवश्यकता थियो। त्यसको लागि हामीले उहाँहरुको सुरक्षालाई ध्यानमा राख्दै ४५ वटा पिपिई खरिद गरेर राखेका थियौं। बिरामीको संख्या बढ्दै गएपछि हामीले दातासँग समन्वय गरेर २५ बेडको आइसोलेसन बनायौं।
तीन सय बेडको अस्पताल भएपछि सबै बेडमा कोरोनाका बिरामीलाई राख्न मिल्ने अवस्था थिएन। हामीले अस्पतालको तीन वटै फ्लोरमा आइसोलेसन बेडको विस्तार गर्यौं। जेठसम्ममा कुनै पनि बिरामीलाई हामीले बेडको अभावमा घर पठाउन परेन। अस्पताल आएका सबैको उपचार गर्न सक्यौं।
मेडिकल टिमको सबैभन्दा ठूलो समर्थन थियो। एउटा टिम वर्कले गर्दा पनि काम गर्न निकै सहज भयो। कोरोनाको उपचारमा पनि टिम वर्कको ठूलो समर्थन रह्यो। कन्सल्ट्यान्ट प्याथोलोजिस्ट डा नीरा पाठक र ल्याब टिमको पनि ठूलो समर्थन छ। उहाँहरु कोरोना संक्रमितको उपचारका लागि अहोरात्र खट्नु हुन्छ।
अस्पतालको जिम्मेवारीभन्दा बाहिर गएर हामीले कोरोना समुदायमा गएको छ कि भनेर आफैंले परीक्षण र स्क्रिनिङको काम पनि गरेका थियौं। यी सब काममा त्यहाँका कर्मचारीको ठूलो समर्थन पाएँ।
तपाईंको नेतृत्वमा नारायणी अस्पतालमा कति जना कोरोना संक्रमित उपचारपछि निको भए?
म मेसु रहँदासम्म नारायणी अस्पतालमा करिब १२ सय संक्रमित आए होलान्। करिब ८ सय जना संक्रमित निको भए।
हाल मेसुको रुपमा आएका डा सञ्जय ठाकुरले अब अस्पतालको कुन पक्षलाई सुधार र व्यवस्थापन गर्न बढी जोड दिनुपर्छ होला?
अस्पतालमा तत्काल सुधार गर्नुपर्ने पाटो भनेको समन्वय हो। हामी काम गरिरहेका छौं। तर पनि कताकता केही नमिलेको हो कि जस्तो हुन्छ। हाम्रा अन्य स्टेक होल्डर, राजनीतिकर्मी, स्थानीयबासीलाई हामीले गरेको काम बुझाउन नसकेको हो कि भन्ने अनुभव हुन्छ।
अस्पतालको विकास समितिलाई पनि मोबिलाइज गर्नुपर्छ। राजनीतिक पार्टीसँग समन्वय गरेर स्थानीयलाई सचेत गराउन सकिन्छ। साउन २५ गतेको घटना पनि यसकै उपज हो। हरेकले मेसुलाई मात्र दोष दिने र नबुझ्ने हो भने यस्ता घटना भइराख्छन्। स्वास्थ्य भन्ने बित्तिकै अस्पतालसँग मात्र जोडियो। स्थानीय निकाय र प्रदेश सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ।
नमुना संकलन, कन्ट्याक्ट ट्रेसिङ, होम आइसोलेसन भन्ने बित्तिकै अस्पतालसँग मात्र जोडिन्छ। तर यसमा स्थानीय निकाय र प्रदेश सरकारले पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। यो कुरा बुझाउन सकिएन। त्यसैले नयाँ मेसुको लागि पनि यो चुनौतीपूर्ण हुन्छ।
अर्को चुनौती भनेको कर्मचारी व्यवस्थापन हो। संक्रमितको संख्या बढ्दैछ तर उपचार दिने स्वास्थ्यकर्मीहरु नै संक्रमित भइरहेका छन्। अस्पतालका ७० बढी कर्मचारीहरु संक्रमित भए पछि सेवा पनि प्रभावित हुन्छ। स्वास्थ्यकर्मीको अभाव भएपछि हामीले चाहेर पनि सहज रुपले सेवा प्रवाह गर्न सक्दैनौं।
स्वास्थ्यकर्मी नै संक्रमित भएपछि नारायणी अस्पतालमा इमरजेन्सी बाहेका अन्य सेवाहरु बन्द भएको पनि तीन साता बढी भएको छ। अब यी सबलाई कसरी व्यवस्थापन गर्दै जान सकिन्छ?
इमरजेन्सी, पाँच बेडको आइसियु र १५ बेडको आइसोलेसन सुचारु छ। डायलाइसिस पनि केही दिनमा सुरु हुन्छ। ओपिडी सुरु गर्न जनशक्ति ठूलो कुरा हो। अहिले पनि ५० जना स्वास्थ्यकर्मीहरु संक्रमित भएर आइसोलेसनमा छन्। त्यसैले यो चुनौतीपूर्ण हो। जति जना स्वास्थ्यकर्मीको नेगेटिभ हुन्छ, उहाँहरुले सेवा दिँदै जानुपर्यो।
सेवा दिनका लागि चिकित्सक मात्रै होइन, सबै स्वास्थ्यकर्मीको आवश्यक पर्छ। धेरै नभए पनि आवश्यक मात्रामा जनशक्ति चाहिन्छ। अहिले न्यून जनशक्ति पनि छैन। त्यसैले अहिले जनशक्तिको व्यवस्थापन नै महत्वपूर्ण कुरा हो। त्यसमा अब संघीय सरकारले या प्रदेश सरकारले भए पनि व्यवस्थापन गरिदिनुपर्छ।