काठमाडौं- गत बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक सेवा विभागमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो। ४ नर्सिङ स्टाफ र दुई चिकित्सकसहित ६ जनामा कोरोना देखिएपछि अस्पतालको आकस्मिक विभागको सेवा बन्द छ। आकस्मिक विभाग नै बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन्।
सोमबार बिहानदेखि आकस्मिक विभागको सेवा सुरु गर्ने तयारी भएको अस्पतालका कार्यकारी निर्देशक डा. रोहित पोखरेलले बताए। यसअघि आइतबार साँझबाटै सेवा सुरु गर्ने अस्पतालको तयारी थियो। ‘आज बेलुकी देखि सेवा सुरु गर्ने तयारी थियो। तर जनशक्तिको कमी र सरसफाई बाँकी भएकाले आइतबार संभव भएन। सोमबारदेखि सञ्चालन गछौं,’ डा पोखरेलले भने।
त्रिवि शिक्षण अस्पतालमा हालसम्म ३६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भइसकेको छ। दुई डाक्टरसहित ३६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले बताए।
यसरी स्वास्थ्यकर्मीहरू नै कोरोना संक्रमित भएर स्वास्थ्य सेवा प्रभावित भएको शिक्षण अस्पतालमा मात्र होइन। थुप्रै अस्पतालका स्वास्थ्यकर्मी संक्रमित भएकाले सेवा प्रभावित भइरहेको छ। काम गर्ने शैली र व्यवस्थापन चुस्त नबनाए भयावह अवस्था आउन सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।
सेवा प्रभावित भएका स्वास्थ्य संस्था
करिब सात महिनाको अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या करिब २७ हजार नजिक पुगेको छ। जसमध्ये ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ८० भन्दा बढी स्वास्थ्य संस्थाका ३ सय ६८ स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
पछिल्लो केही दिनयता दैनिक रूपमा कुनै न कुनै अस्पतालका स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन्। बिरामीको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि स्वास्थ्य सेवा प्रवाहमा असर पुगेको छ।
भरतपुर अस्पताल, चितवन
भरतपुर अस्पतालमा आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि तीन दिनसम्म आकस्मिक सेवा बन्द भयो। साउन २९ गते साँझ ८ बजेदेखि बन्द भएको आकस्मिक सेवा साउन ३१ गते साँझबाट मात्र सञ्चालनमा आएको थियो। अस्पतालमा हाल कुनै पनि सेवा बन्द छैन।
आइतबार मात्र भरतपुरमा अस्पतालका थप ७ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भयो। अस्पतालका अनुसार मेडिकल सुपरिटेन्डेन्ड सहित ५ चिकित्सक र २ जना नर्सिङ स्टाफमा कोरोना संक्रमण भएको छ। सोमबारदेखि अस्पतालको सेवा सुरक्षित रुपले सञ्चालन गर्ने विषयमा छलफल भइरहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।
नारायणी अस्पताल वीरगञ्ज
कोरोनाको हटस्पट बनेको पर्सामा पनि स्वास्थ्य सेवा प्रभावित भएको छ। नारायणी अस्पताल वीरगञ्जका ७० जना स्वास्थ्यकर्मी संक्रमित भएपछि इमजरेन्सी, आइसियू र आइसोलेसनबाहेक अन्य सेवा बन्द भएका छन्।
स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा सञ्चालन गर्न समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए। उनका अनुसार नारायणी अस्पतालमा अन्य सेवा बन्द भएको तीन साता भएको छ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुने स्वास्थ्य संस्थाको सूचीमा चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि परेको छ। शनिबार थप पाँच जना नर्समा कोरोना देखिएपछि अस्पतालले सूचना नै जारी गरेर सेवा बन्द गर्नु परेको बताएको छ। त्यहाँ आकस्मिक बाहेकका सेवा बन्द छन्।
अस्पतालमा हालसम्म १० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसमध्ये ७ जना नर्स र ३ जना कार्यालय सहयोगी रहेको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले बताए। अस्पताललाई निर्मलीकरण र स्वास्थ्यकर्मीको स्क्रिनिङ गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरिएको उनले बताए।
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुनुमा केही कर्मचारी भने प्रशासनको व्यवस्थापकीय कमजोरी मान्छन्। अस्पतालले सतर्कता र सावधानी नपआउँदा नै स्वास्थ्यकर्मी सुरक्षित नभएको उनको भनाइ छ। उनले भने, ‘अस्पतालको व्यवस्थापन राम्रो छैन। कुनै सिस्टम छैन। प्रशासनको व्यवस्थापकीय कमजोरीका कारण नै स्वास्थ्यकर्मी संक्रमित भए।’
धुलिखेल अस्पताल
धुलिखेल अस्पतालमा गत बिहीबार एक जना नर्समा कोरोना संक्रमण भएको भेटियो। त्यसपछि बिहिबारदेखि नै अस्पतालको ओपिडी सेवा तीन दिनसम्म बन्द पर्यो। तीनसम्म बन्द गरेको ओपिडी सेवा आइतबारदेखि सुरु भएको अस्पतालका सूचना अधिकारी डा सुमन ताम्राकारले बताए। उनका अनुसार हालसम्म धुलिखेल अस्पतालमा एक जना स्वास्थ्यकर्मीमा मात्र कोरोना देखिएको हो।
वीर अस्पताल
वीर अस्पतालमा हालसम्म ६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यहाँ सबै सेवा निरन्तर रहेको अस्पतालले जनाएको छ। बिहीबार वीर अस्पतालको आकस्मिक विभागमा कार्यरत एक नर्समा कोरोना पुष्टि भएको थियो। उनलाई अस्पतालबाट कोरोना संक्रमण नभएकाले सेवा बन्द गरिएन। उनलाई श्रीमानबाट कोरोना सरेको हुन सक्ने अस्पतालले जनाएको थियो।
सेवा दिने प्रणाली परिवर्तन गर्नुपर्छ : विज्ञ
स्वास्थ्यकर्मी संक्रमित हुँदै गए अवस्था भयावह हुने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। कोरोना महामारीपछि अस्पतालले दिने सेवा र प्रक्रिया व्यवस्थित र परिवर्तन नहुँदा स्वास्थ्यकर्मी संक्रमित हुँदै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्व निर्देशक डा बाबुराम मरासिनी बताए।
‘चैत १० गतेभन्दा अघिको काम गर्ने तरिका र प्रक्रिया अहिले पनि उस्तै छ। परिवर्तन गर्न सकेका छैनौं। लकडाउन अघिकै प्रणालीमा रहेर सेवा सञ्चालन गर्ने हो भने जोखिम सधैं रहन्छ,’ उनले भने। उनका अनुसार कोरोना महामारी र लकडाउनपछि अस्पतालले दिने सेवामा परिवर्तन हुनुपर्ने थियो, तर त्यसो हुन सकेको छैन।
'स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको सेवा कसरी व्यवस्थित हुन्छ? सेवा बन्द भएका ठाउँमा कि त स्वास्थ्य मन्त्रालयले खटाउन सक्नुपर्यो,' उनले भने।
तीन तहका सरकारबीच समन्वय नहुँदा पनि समस्या भएको उनको बुझाइ छ। नारायणी अस्पतालको सेवा बन्द हुनुलाई पनि उनी यसैको परिणाम मान्छन्। नारायणी अस्पतालमा सेवा प्रभावित हुन नदिन संघीय वा प्रादेशिक सरकारले स्वास्थ्यकर्मी खटाउनुपर्ने उनी बताउँछन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा हुने भीड व्यवस्थापन गर्न आवश्यक रहेको उनले बताए। उनका अनुसार पहिले नै अस्पतालहरू व्यवस्थापन प्रक्रियामा जानुपर्ने थियो।
‘बाहिरी मुलुकका कतिपय अस्पतालमा तपाईं सिधै गएर जचाउन पाउनु हुन्न। पहिले अपोइन्मेन्ट लिएर मात्र जानुपर्छ। यहाँ पनि पहिले नै अपोइन्मेन्ट सिस्टम बनाउनुपर्छ। तब मात्र बिरामीको भीड कम गर्न सकिन्छ,’ उनले भने।
अस्पतालले समय र भीड व्यवस्थापनमा जोड दिनुपर्ने उनले बताए। अस्पतालले बिरामीको उपचारका लागि निश्चित कोटा र संख्या निर्धारण गर्नुपर्ने उनको भनाइ छ। अब पनि सरकारले यस तर्फ ध्यान नदिए स्वास्थ्य संस्था सबैमा संक्रमण हुने जोखिम अत्यधिक रहेको उनी बताउँछन्।
सरकार प्राविधिक कुरामा मात्र केन्द्रित भएको तर व्यवस्थापनमा ध्यान नदिँदा संक्रमण फैलिदै गएको उनको भनाइ छ। सेवा व्यवस्थापन नभएसम्म स्वास्थ्यकर्मी सुरक्षित नहुने र महामारी नियन्त्रण गर्न नसकिने उनी बताउँछन्।
सरकारले टेली मेडिसिनलाई पनि प्राथमिकता दिनुपर्नेमा उनको जोड छ। उनका अुनसार टेलीमेडिसिनलाई प्राथमिकता दिनसके अधिकांश बिरामीले चिकित्सकलाई विभिन्न प्रविधिबाटै सम्पर्क गर्न सक्छन्।
अस्पतालमा अचानक रुपमा सेवा नरोकिने ग्यारेन्टी हुनुपर्ने नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा भगवान् कोइराला बताउँछन्। ननकोभिड सेवा दिने अस्पतालमा पनि कोभिडकै जस्तो आवश्यक न्यूनतम सुरक्षा उपलब्ध गराए सेवा सहज रुपले सञ्चालन हुने उनले बताए। ‘अचानक नै अस्पतालभित्र आएर कोभिड पोजेटिभ देखिए सबै जना क्वारेन्टाइन, आइसोलेसन जानुपर्छ। ननकोभिड सेवा दिने अस्पतालमा पनि कोभिडकै जस्तो आवयश्क न्यूनतम सुरक्षा उपलब्ध गराइयो भने ननकोभिड सेवा सजिलोसँग सुचारु हुन्छ,’ उनले भने।
यो पनि :