काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिन थालेका छन्।
कोरोना संक्रमितको उपचारका लागि तोकिएका उपत्यकाका १० सरकारी अस्पतालमा २ हजार ८६८ जनरल बेड, ३५१ आइसोलेसन बेड, १६३ आइसियु बेड र ८७ भेन्टिलेटर रहेकोमा अधिकांश बेड भरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी, उपत्यकाका निजी अस्पताल र मेडिकल कलेजहरुमा ३ हजार ५०३ जनरल बेड, १९४ आइसोलेसन, २९१ आइसियु बेड मात्र कोरोना उपचारका लागि छुट्याइएको छ। यी अस्पतालमा १३६ भेन्टिलेटर छन्।
मन्त्रालयका अनुसार १० सरकारी र १० निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार भइरहेको छ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले यसअघि नै अस्पतालमा बेड अभाव हुनसक्ने भन्दै सचेत हुन आग्रह गरिसकेको छ। लकडाउन अन्त्य भएपछि उपत्यकामा आउने मानिसको संख्या बढेसँगै संक्रमितको संख्या पनि बढिरहेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार स्वास्थ्यका मापदण्ड राम्ररी पालना नहुँदा संक्रमण बढ्दै गइरहेको छ। ‘हामीले करिब ७ महिनादेखि कोरोना संक्रमणबाट बच्ने उपायबारे भन्दै आएको छौँ,’ उनले भने, ‘सबैलाई जानकारी पनि छ। तर त्यसको प्रभावकारी पालना नहुँदा समस्या बढिरहेको छ।’
उनले कोभिडभन्दा पहिलेको झैं स्थिति नभएकाले सबैलाई अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन, सामाजिक दूरी कायम राख्न, मास्क प्रयोग गर्न र हातको सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयले सोमबार मध्याह्न ४ बजेसम्म दिएको तथ्यांकअनुसार उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८० पुगेको छ।
मन्त्रालयले उपत्यकामा सरकारी तथा निजी अस्पतालहरुमा ६ हजार ३७१ जनरल बेड रहेको, ५४५ आइसोलेसन बेड, ४५४ आइसियु बेड र २१४ भेन्टिलेटर तयारी अवस्था राखिएको जनाएको छ।
कोरोना संक्रमितको उपचार भइरहेका उपत्यका अस्पतालमा रहेका बेड र आइसियुको विवरण यस प्रकार छः