काठमाडौं - आजभन्दा करीब तीन महिना अघि नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भयो। त्यो दिन थियो, वैशाख ३० गते।
वैशाख ३० गते कपिलवस्तुको तौलिहवास्थित एक अस्पतालमा कार्यरत एक नर्समा कोरोना पुष्टि भएको थियो। त्यसको भोलिपल्टै वैशाख ३१ गते पनि नर्समा कोरोना भेटियो। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना देखिएको थियो।
त्यो बेला कोरोनाको संक्रमण मात्र २१ जिल्लामा पुगेको थियो। यहीबाट स्वास्थ्यकर्मीलाई कोरोना देखिने शिलशिला पनि सुरु भएको थियो।
नेपालमा पहिलो संक्रमित भेटिएको करीब तीन महिनापछि नै नेपालमा स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए। साढे ६ महिनाको अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या करीब २२ हजार नजिक पुगेको छ। जसमध्ये २ सय बढी त स्वास्थ्यकर्मी मात्र छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बिहीबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा ८० बढी स्वास्थ्य संस्थाका २ सय २१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
कोरोनाबाट सबैभन्दा बढी मेडिकल डाक्टर प्रभावित भएको देखिन्छ। त्यसपछि नर्सिङ स्टाफ, पारामेडिक्स र अन्य प्रभावित भएको महाशाखाको तथ्यांकले देखाउँछ।
२ सय २१ मध्ये मेडिकल डाक्टर ५१, नर्सिङ स्टाफ ४९, पारामेडिक्स ४४, ल्याब असिस्टेन्ट र ल्याब टेक्निसियन गरी २१, अन्य २५ जना सक्रमित भएका छन्। बाँकी ३१ जनाको बारेमा भने महाशाखाले केही उल्लेख गरेको छैन।
महाशाखाका अनुसार कपिलवस्तु अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, धनकुटा अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँके, जनकपुर प्रादेशिक अस्पताल, कोशी अस्पताल विराटनगर, डडेल्धुरा अस्पताल, धनगढी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना देखिएको छ।
यस्तै, काठमाडौं मेडिकल कलेज सिनामंगल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भेरी अस्पताल, शहिद गंगालाल राष्ट्रिय ह्रदय रोग केन्द्र, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, प्रादेशिक अस्पताल सुर्खेत, बन्दीपुर अस्पताल तनहुँ, मनमोहन ममोरियल अस्पताल स्वयम्भू, बाजुरा अस्पताल, दुल्लु अस्पताल दैलेख लगायत ८० बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
नेपालगञ्ज मेडिकल कलेज, बलम्बुस्थित एपीएफ अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हालसम्म कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना देखिएको छैन्।
कुन स्वास्थ्य संस्थाका कति स्वास्थ्यकर्मी संक्रमित ?
नारायणी अस्पताल वीरगञ्ज – ३८ जना स्वास्थ्यकर्मी
जनकपुर प्रादेशिक अस्पताल – २२ जना स्वास्थ्यकर्मी
कोशी अस्पताल विराटनगर – १६ जना स्वास्थ्यकर्मी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – ८ जना स्वास्थ्यकर्मी
विराटनगर अस्पताल – ७ जना स्वास्थ्यकर्मी
पर्वत अस्पताल – ७ जना स्वास्थ्यकर्मी
पर्सा डिष्ट्रिक हेल्थ – ६ जना स्वास्थ्यकर्मी
ह्याम्स अस्पताल काठमाडौं – ६ जना स्वास्थ्यकर्मी
धनकुटा अस्पताल – ५ जना स्वास्थ्यकर्मी
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ – ५ जना स्वास्थ्यकर्मी
सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत – ५ जना स्वास्थ्यकर्मी
अल्का अस्पताल ललितपुर – ५ जना स्वास्थ्यकर्मी
काठमाडौं मेडिकल कलेज सिनामंगल – ४ जना स्वास्थ्यकर्मी
त्रिवि शिक्षण अस्पताल काठमाडौं – ३ जना स्वास्थ्यकर्मी
दुल्लु अस्पताल दैलेख – ३ जना स्वास्थ्यकर्मी
बयोधा अस्पताल बल्खु काठमाडौं – ३ जना स्वास्थ्यकर्मी
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर – २ जना स्वास्थ्यकर्मी
नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन – २ जना स्वास्थ्यकर्मी
भेरी अस्पताल – २ जना स्वास्थ्यकर्मी
कपिलवस्तु अस्पताल – १ जना स्वास्थ्यकर्मी लगायत।
उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि यी स्वास्थ्य संस्थाहरुमा सेवा प्रभावित भएका छन्। कतिपय अस्पतालमा त केही सेवा समेत बन्द गर्नु परेको बाध्यात्मक स्थिति छ।
विभिन्न सुरक्षात्मक सावधानी अपनाउँदा अपनाउँदै पनि देशभरका स्वास्थ्यकर्मी नै असुरक्षित देखिन्छन्। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मी पनि यसबाट अछुतो रहेका छैनन्।
सबैभन्दा धेरै नारायणी अस्पतालमा ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा पनि २२ र कोशी अस्पताल विराटनगरमा १६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्।
संक्रमितहरुको उपचारमा दिनरात खटिने स्वास्थ्यकर्मी नै संक्रमित भएपछि यी अस्पतालहरुमा के कसरी सेवा सञ्चालन भइरहेका छन् त ?
नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मी
कोरोनाको हटस्पद बनेको जिल्ला हो, पर्सा। यहाँ दैनिकजसो धेरै संख्यामा संक्रमितहरु भेटिने गर्छन्। यो बेला नारायणी अस्पतालमा बिरामीको चाप थेगी नसक्नु छ। तर यहाँकै ३८ जना स्वास्थ्यकर्मी संक्रमित हुन पुगेका छन्।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा मदन उपाध्यायका अनुसार पारामेडिक्स १० जना, डाक्टर ९ जना, नर्सिङ स्टाफ ८, प्रशासनका र एम्बुलेन्स ड्राइभर १/१, कार्यालय सहयोगी ५ र सफाई कर्मचारी ४ गरी ३८ जनामा संक्रमण देखिएको हो। अधिकांश स्वास्थ्यकर्मी यही श्रावण महिनामा संक्रमित भएको अस्पतालले जनाएको छ।
अस्पतालका करीब २५ प्रतिशत स्वास्थ्यकर्मी पोजेटिभ र बाँकी क्वारेन्टाइनमा भएपछि सेवा सञ्चालन गर्न समस्या भएको मेसु डा उपाध्यायले बताए। उपचारमा खटिने स्वास्थ्यकर्मी नै आईसोलेसन र क्वारेन्टाइनमा भएपछि अहिले १० जना स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको उनले बताए।
‘अस्पतालका करीब २५ प्रतिशत स्वास्थ्यकर्मी पोजेटिभ र बाँकी ७५ प्रतिशत क्वारेन्टाइनमा भएपछि अस्पतालमा के भएको होला?’ उनी प्रश्न गर्छन्, ‘त्यसैले हाल १० जना स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखेका छौं।’
स्वास्थ्यकर्मीको अभाव भएपछि हाल नारायणी अस्पतालमा इमरजेन्सी बाहेक अन्य सेवा बन्द छन्। जसले गर्दा सेवा सञ्चालन गर्न निकै अप्ठ्यारो भएको उनले बताए।
उनले भने, ‘स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अहिले अस्पतालमा इमरजेन्सी बाहेक अन्य सेवा बन्द छन्। हामीलाई अहिले सञ्चालन गर्न पनि निकै अप्ठ्यारो छ।’
अभाव र दबाबमा सेवा दिइरहेको छु : डा जामुन प्रसाद सिंह
जनकपुर प्रादेशिक अस्पतालमा हालसम्म २२ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए। दुई चिकित्सक सहित २२ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि यस अस्पतालको सेवा प्रभावित भएको छ।
संक्रमितलाई आइसोलेसन र शंकास्पद स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले सेवा सञ्चालनमा समस्या भएको धनुषा जिल्ला कोभिड १९ म्यानेजमेन्ट सेन्टरका संयोजक डा जामुन प्रसाद सिंहले बताए। उनका अनुसार गएको एक सातामा यी २२ स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।
शंकास्पद स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनको व्यवस्थापन गर्नु हाल ठुलो चुनौती भएको उनले बताए।
‘कन्ट्याक ट्रेसिङ गर्दा करीब डेढ सयलाई राख्नुपर्ने भएकाले होटलको व्यवस्थापन गर्न निकै समस्या भएको छ। उनीहरु घरमा बस्न मानेका छैनन्। सबैलाई होटलमा व्यवस्थापन गर्न निकै समस्या छ।’ उनले भने।
डायलासिस गर्ने आएका सात जना बिरामीलाई समेत कोरोना देखिएपछि यस अस्पताललाई झन् समस्या भएको छ। कारण, त्यहाँ कोरोना संक्रमितका लागि भनी छुट्टै डायलासिस गर्ने व्यवस्थापन गरिएको छैन। त्यसैले उनीहरुलाई घण्टौं लगाएर हप्तामा दुई पटक धरान लग्नुपर्ने बाध्यता रहेको उनले बताए।
उनी भन्छन्, ‘धरानमा बिरामी राख्ने ठाउँ छैन भन्छन्। हामीसँग संक्रमितका लागि भनेर छुट्टै डायलासिस गर्ने व्यवस्थापन गरिएको छैन। त्यसैले घण्टौ लगाएर उनीहरुलाई धरानमा डायलासिस गर्दै ल्याउनुपर्ने समस्या छ।’
त्यहाँका स्थानीयबाट पनि कुनै किसिमका सहयोग नभएको उनी बताउँछन्। बस्तीबाट गाडी किन लगेको, आइसोलेसनको झ्याल किन खालेको भन्दै स्थानीयले विरोध गर्छन्। यतिसम्म की त्यहाँको वडाध्यक्षले समेत फोन गरेर थर्काउने गरेको उनले बताए। कर्मचारीलाई सेवामा खटाउन पनि निकै समस्या हुने गरेको उनको अनुभव छ।
उनले भने, ‘बस्तीबाट गाडी किन लगेको, झ्याल किन खोलेको भन्दै स्थानीय र वडाध्यक्षले थर्काउँछन्। कर्मचारीलाई काममा खटाउन पनि निकै समस्या छ। भएका स्वास्थ्यकर्मी पनि संक्रमित हुँदा सेवा सञ्चालन गर्न निकै समस्या भइरहेको छ।’
स्थानीयको विरोधकै बीच जनकपुर प्रादेशिक अस्पतालले सिटिईभिटीको कलेज, गनगुली आयुर्वेद कलेज र जनकपुर नर्सिङ कलेज गरी तीन वटा आइसोलेसन सेन्टरेको स्थापना गरेको थियो। यी तीन वटै आइसोलेसन सेन्टरमा गरी २ सय ४२ शय्या छन्।
स्वास्थ्यकर्मी संक्रमित हुँदा कोशी अस्पतालमा जनशक्तिको अभाव
लकडाउनको अन्त्यसँगै देशभर कोरोना संक्रमितको संख्या बढ्दै गयो। त्यही दिनदेखि कोशी अस्पताल विराटनगरमा पनि स्वास्थ्यकर्मीमा कोरोना देखिन थाल्यो।
श्रावण १० यस अस्पतालमा पहिलो पटक स्वास्थ्यकर्मी संक्रमित भए। त्यसपछि गएको ११ दिनमा १६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड डा चुमनलाल दासले बताए।
उनका अनुसार संक्रमित हुनेमा ८ जना नर्सिङ स्टाफ, १ जना डाक्टर, २ जना पारामेडिक्स, २ प्रशासनिक र ३ जना सरसफाईका कर्मचारी छन्।
साउन १० गते २ जना, १४ गते २ जना, १६ गते २ जना, १८ गते ३ जना, २० गते ३ जना र २१ गते ४ जना स्वास्थ्यकर्मीमा कोरोना भेटिएको उनले जानकारी दिए।
स्वास्थ्यकर्मीलाई कोरोना हुँदा सेवा सञ्चालन गर्न निकै समस्या भएको उनले बताए। स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जाने हो भने अस्पतालमा जनशक्तिको अभाव हुने हो की भन्ने उनलाई ठुलो चिन्ता छ।
‘स्वास्थ्यकर्मीलाई कोरोना देखिदा ठुलै समस्या भएको छ। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राख्नुपर्छ’ उनले भने, ‘भएका जनशक्ति आईसोलेसन र क्वारेन्टाइनमा रहँदा सेवा प्रभावित भएको छ। यस्तै हुने हो भने जनशक्तिको अभाव हुन्छ। सेवा कसरी सञ्चालन गर्ने भन्ने चिन्ता लाग्छ।’
हाल एक्सपोजर कम गराएर थोरै जनशक्तिलाई प्रयोग गरी सेवा दिइरहेको उनले जानकारी दिए।
उनी भन्छन्, ‘स्वास्थ्यकर्मी एक्सपोजर हुने डर हुन्छ। त्यसैले एक्सोपजर कम गराएर थोरै जनशक्तिको प्रयोग गरेर सेवा दिइरहेका छौं। अझै पनि कन्ट्याक ट्रेसिङ हुँदैछ। कति जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्नुपर्ने हो थाहा छैन।’
कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालमा १० शय्याको आइसोलेसनको व्यवस्था गरेको छ। कोभिड अस्पतालमा भने १० आईसियु, १० रिकभरी बेड र ५ भेन्टिलेरको व्यवस्था गरिएको उनले बताए।