काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार हुने विभिन्न अस्पतालमध्ये एक हो, बलम्बुस्थित नेपाल एपिएफ अस्पताल।
हाल यो अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालको नामले समेत चिनिन्छ। यस अस्पतालमा पहिलो संक्रमित गत जेठ १ गते भर्ना भएका थिए। तर यसअघि नै यो अस्पतालले पूर्वतयारी भने सुरु गरिसकेको थियो।
कोभिड–१९ युनिफाइड अस्पताल हुनुअघि यस अस्पतालले कोरोना संक्रमितको उपचारका लागि ६ शय्याको आइसोलेसन र २ आइसियुको व्यवस्था गरेको थियो।
कोरोना संक्रमितको उपचारका लागि यस अस्पतालले १ सय २० शय्याको आइसोलेसन र २० आइसियु शय्याको व्यवस्था गरेको छ।
अस्पतालले संक्रमितको उपचारका लागि चिकित्सक सहित २७ जना स्वास्थ्कर्मीको तीन वटा कोरोना ट्रिटमेन्ट टिम खटाउने गरेका छन्। त्यही टिममध्येकी एक हुन्, सुनिता श्रेष्ठ। हाल उनी सिनियर सिस्टरको रुपमा एपिएफ अस्पतालमा कार्यरत छिन्।
उनी यो अस्पतालमा काम गरेको १५ वर्ष पुगिसकेको छ। अनि कोरोनाको उपचारमा खटिएको करिब तीन महिना। कोरोना संक्रमितलाई निको बनाउन उनी दिनरात खटिन्छिन्। एपिएफ अस्पतालमा पुग्दा उनी कोरोना संक्रमितको उपचारका लागि आइसोलेसनमा जान तयार हुँदै थिइन्।
मनमा थुप्रै प्रश्न अनि डर
अहिले त सुनितालाई कोरोना संक्रमितको उपचार गर्न कुनै डर छैन। तर डर नै नभएको भने होइन। चीनमा कोरोनाले महामारीको रुप लिँदै गर्दा र नेपालमा पहिलो संक्रमित भेटिँदा उनको मनमा ठूलै डर थियो।
त्यो बेला कोरोना भाइरस के होला, कस्तो होला लगायत थुपै प्रश्न अनि डर उनको मनमा थियो।
उनी भन्छिन्, ‘चीन सहित अन्य देशमा कोरोना देखिँदा यो के होला, कस्तो होला भन्ने डर थियो। तर अहिले सबै बुझेकाले त्यस्तो डर लाग्दैन।’
कोरोना संक्रमितको उपचारका लागि उनीहरुलाई अस्पतालले विभिन्न तालिम समेत दिएको थियो। कोरोना कसरी सर्छ, कसरी उपचार गर्ने, व्यवस्थापन लगायतका विषयमा अस्पतालले दिएको तालिमले गर्दा उपचारमा सहज भएको उनी बताउँछिन्।
भयावह रुप लिँदै गरेको कोरोनासँग जोसुकै त्रसित थिए। त्यो त्रास उनको मनमा पनि थियो। त्यसैले सुरुवाती दिनमा संक्रमितको उपचारका लागि भित्र जान नपरे हुन्थ्यो, मलाई पनि कोरोना लाग्छ की भन्ने डर उनको मनमा पनि थियो।
‘बाहिर त्यति सावधानी अनाउँदाअपनाउँदै पनि स्वास्थ्यकर्मीको मृत्यु भएको थियो,’ उनले भनिन्, ‘मलाई पनि कोरोना लाग्छ की भन्ने डर हुन्थ्यो। आइसोलेसन भित्र कसरी जाने होला भन्ने लाग्थ्यो।’
एक/एक महिनामा घर जान्छु
सुनिता अस्पतालको नियम अनुसार १४ दिनसम्म संक्रमितको उपचारमा खटिनुपर्छ। त्यसपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्छिन्। यो अवधिभर अर्को २७ जनाको टोली उपचारमा खटिने हुँदा उनी घर जान पाउँछिन्।
उनको घर भक्तपुरमा हो। उनको दुई सन्तान पनि छन्। भन्छिन्, ‘मेरो १४ दिनको ड्युटी हुन्छ। १४ दिन क्वारेन्टाइनपछि टेस्ट रिपोर्ट नेगेटिभ आयो भने मात्र म घर जान पाउँछु।’
परिवारबाट समर्थन पाए पनि सुरुवाती दिनमा बुझाउन गाह्रो भएको अनुभव उनले सुनाइन्।
महिनावारीको सहज व्यवस्थापन गर्नुपर्छ
महिला स्वास्थ्यकर्मीलाई महिनाभर सक्रिय हुन त्यति सहज छैन। किनकी प्रत्येक महिना महिलालाई महिनावारी व्यवस्थापन गर्नुपर्ने हुन्छ। अधिकाशंजसो महिलालाई महिनावारी भएको समयमा पेट दुख्नेदेखि लिएर विभिन्न स्वास्थ्य समस्या हुन्छन्।
उनी पनि संक्रमितको उपचारमा खटिरहँदा महिनावारी भएको चौथो दिन थियो। महिनावारीकै कारण भने सेवामा खटिन खासै समस्या नहुने उनी बताउँछिन्।
भन्छिन्, ‘यो नियमित प्रक्रिया हो। यसलाई समस्याको रुपमा लिनु हुँदैन जस्तो लाग्छ मलाई। किनभने यसलाई एउटा बानी जसरी लिनुपर्छ होला।’
उपचारमा खटिएका कुनै महिला स्वास्थ्यकर्मीलाई महिनावारीको समयमा दुखाइ या कुनै किसिमको समस्या भए आराम गर्न समय दिने या उपचार गर्ने गरेको उनले बताइन्।
जोखिम टरेको छैन, सावधानी अपनाऔं
कोरोनाको जोखिम बढ्दैछ, त्योभन्दा पनि मानिसको भीडभाड बाक्लिँदै गएको छ। मास्कको प्रयोग गरे पनि मानिसहरुले सामाजिक दूरी कायम गरेको देखिँदैन। उनलाई पनि यही कुराले चिन्तित बनाएको छ।
उनको आग्रह छ, ‘जोखिम टरिसकेको छैन। सावधानी अपनाउन अति नै आवश्यक छ। हेलचेक्र्याईं गर्नु हुँदैन।’
अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन उनको सुझाव छ। मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र सामाजिक दूरी कायम गर्न सके कोरोना संक्रमणको जोखिमबाट बच्न सकिने उनले बताइन्।