लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेको छ। सार्वजनिक यातायातका साधन गुडेसँगै ट्राफिक प्रहरीको व्यस्तता पनि बढेको छ।
कोरोना भाइरस संक्रमणको जोखिममा पनि ट्राफिक प्रहरीले अग्रपंक्तिमा खटिएर जनताको सेवा गरिरहेका छन्।
यस्तो अवस्थामा सवारी चालकको लाइसेन्स वा अन्य कागजपत्र तथा मापसे जाँच गर्दा चालकको नजिकै जानुपर्ने हुनाले ट्राफिक प्रहरी संक्रमणको उच्च जोखिममा रहेका हुन्छन्।
संक्रमणको जोखिमबाट जोगिनका लागि ट्राफिक प्रहरीले के–कसरी काम गरिरहेका छन् त? सुरक्षाका के–के उपाय अपनाइरहेका छन्? यी विषयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वामदेव गौतमलाई हामीले सोधेका थियौँ।
प्रवक्ता गौतमले स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार मास्क, पञ्जा, फेससिल्ड, आवश्यकता अनुसार पिपिई लगायतका सुरक्षा अपनाउँदै उच्च मनोबलका साथ ट्राफिक प्रहरी ड्युटीमा खटिएको जानकारी दिए।
उनले ट्राफिक प्रहरीलाई सुरक्षित राख्नका लागि सुँघेर मापसे जाँच गर्ने कार्य बन्द गरी सामाजिक दूरी कायम राख्दै कुराकानी र हाउभाउबाट जाँच गरिरहेको जानकारी दिए।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियर कार्यक्षेत्रमा काम गर्दा अन्य मानिसबाट कम्तीमा एक मिटरको दूरी कायम गर्नु, नियमित रूपमा हात धोइरहनु, खोक्दा वा हाच्छ्युँ गर्दा अरु व्यक्तिबाट अलि टाढा गएर रुमाल, टिस्यु पेपर वा कुहिनोले मुख छोप्न आवश्यक हुने बताउँछन्।
महानगरीय ट्राफिक महाशाखाका अनुसार उपत्यकाभर १५ सय ट्राफिक प्रहरी कार्यरत छन्। महाशाखाका प्रवक्ता गौतम हालसम्म कसैलाई पनि संक्रमण नभएको बताउँछन्। जोखिमपूर्ण स्थानमा काम विशेषले गएका, घरबिदामा उपत्यकाबाहिर गएर फर्किएका प्रहरीलाई निश्चित अवधि क्वारेन्टाइनमा राख्ने अनि पिसिआर परीक्षण गरेर मात्र काममा फर्काउने गरेको बताए।
सर्वसाधारणले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्यको मापदण्डमा अपनाएर यात्रा गर्न, सवारी चालकले पनि व्यक्तिगत सुरक्षाका लागि मास्क, पन्जा, फेस सिल्ड लगाउने र यात्रुलाई पनि स्यानिटाइजर लगाएर मात्र गाडीमा बसाल्ने जस्ता नियम पालन गर्न महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता वामदेव गौतमले आग्रह गरे।