काठमाडौं - पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा कोरोनाको लक्षण देखिन थालेको छ । संक्रमितमा लक्षण देखिनु समस्या र संक्रमित दुवै बढ्ने संकेत रहेको विज्ञहरु बताउँछन्।
कोरोना संक्रमित मृतकको संख्या हालसम्म ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । नेपालमा संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । जसमध्ये ५ हजार बढी सक्रिय संक्रमित छन् ।
देशभरका अस्पतालको तथ्यांक अनुसार नेपालमा हाल २१ जना कोरोना संक्रमित आइसियुमा भर्ना भई उपचाररत छन्। हालसम्म कुनै पनि संक्रमित अस्पतालको भेन्टिलेटरमा छैनन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा धेरै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छ। शुक्रराज अस्पतालमा मात्रै ८ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
शुक्रराज अस्पतालपछि वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा संक्रमितको संख्या धेरै छ । नारायणी अस्पतालमा मात्रै हाल ५ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए। हाल त्यहाँ ६२ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको उनले बताए।
लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका दुई जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ। अस्पतालमा ३ जना संक्रमित आइसोलेसनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजेन्द्र प्रसाद खनालले जानकारी दिए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा दुई जना संक्रमित आइसीयुमा छन्।
यस्तै, धुलिखेल अस्पताल धुलिखेल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल, जनकपुर प्रादेशिक अस्पतालमा १÷१ जना संक्रमित आइसियुमा उपचाररत छन्।