काठमाडौं - वीरगञ्जमा साउन ६ गते ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भयो। गण्डक अस्थायी कोभिड १९ अस्पतालमा उपचाररत उनी अस्पताल भर्ना भएकै दिन मृत्यु भएका थिए।
उनी अस्पताल भर्ना हुनुको कारण थियो, श्वासप्रश्वासमा समस्या। अस्पतालका अनुसार ती पुरुषमा कुनै पनि पुरानो दीर्घरोगको समस्या थिएन। श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते बिहान अस्पताल भर्ना भए र साँझ उनको मृत्यु भयो।
000
त्यसको तीन दिनपछि वीरगञ्जमै एक ८५ वर्षीय कोरोना संक्रमित महिलाको पनि मृत्यु भयो। उनमा निमोनियाको समस्या देखिएको थियो।
निमोनिया भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएकी थिइन्। त्यसको भोलिपल्टै साउन ९ गते उनको मृत्यु भयो। अस्पतालका अनुसार ती महिला मुटुरोगीका बिरामी थिइन्।
000
कोरोना संक्रमित यी दुई मृतकमा मात्र होइन पछिल्लो समय कोरोना पोजिटिभ भेटिएका धेरैमा विभिन्न लक्षण देखिन थालेको छ। विगतका दिनमा नेपालमा भेटिने अधिकांश संक्रमित लक्षण विहीन हुने गर्थे। तर पछिल्लो समय भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षण देखिन थालेको छ।
लकडाउनको अन्त्यसँगै मानिसको भीडभाड बाक्लिदै गएको छ। सार्वजनिक सवारी साधन होस् या निजी, कुनै पनि सामाजिक दूरी कायम गरेको कमै मात्र देखिन्छ। यस्तो अवस्थामा लक्षण भएका संक्रमित फेला पर्नु झन् खतरा भएको विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार लक्षण भएका संक्रमितबाट अन्य व्यक्तिमो कोरोना सर्ने जोखिम पनि बढी हुन्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे पनि यो कुरालाई स्वीकार गर्छन्। उनका अनुसार अहिले भेटिने गरेका संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ।
‘पछिल्लो समय नेपालमा भेटिएका नयाँ संक्रमितहरुमा लक्षण देखिन थालेको छ,’ उनले भने, ‘पर्सामा भेटिएका केही संक्रमितमा पनि ज्वरो आउने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखियो।’
डा पाण्डे संक्रमितमा लक्षण देखिनु भनेको थप समस्या र भोलिको दिनमा संक्रमित बढेर जाने संकेत गर्छन्।
उनी भन्छन्, ‘संक्रमितमा लक्षण देखिनु भनेको समस्या र संक्रमितको संख्या बढेर जाने संकेत पनि हो। आगामी दिनमा अस्पताल र शय्याको संख्या थप्नुपर्ने र व्यवस्थित गर्नुपर्ने अवस्था आएको छ।’
हालसम्म समुदायस्तरमा कोरोना फैलिनसकेको उनले जानकारी दिए। यद्यपि स्थानीय स्तरमा कोरोना फैलिएको भने हुन सक्ने उनको भनाई छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारी संक्रमितमा लक्षण देखिनु चिन्ताको विषय भएको बताउँछन्।
लकडाउन खुलिसकेको अवस्थामा अझ बढी सावधानी अपनाउनुपर्ने उनले बताए। हाल समुदायस्तरमा कोरोला फैलिनसकेको उनले जानकारी दिए। यद्यपि लापरबाही बढ्दै गए समुदायस्तरमा कोरोना फैलिने जोखिम रहेको उनी बताउँछन्।
‘संक्रमितमा लक्षण देखिनु भनेको चिन्ताको विषय हो,’ उनले भने, ‘त्यसकारण अब थप सचेत हुनुपर्छ। अहिलेसम्म समुदायस्तरमा कोरोना फैलिसक्यो भनेर मन्त्रालयले भनेको छैन। तर जोखिम बढ्दो छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले टेकु अस्पतालमा भर्ना भएका करीब ३० प्रतिशत संक्रमितमा लक्षण देखिएको बताउँछन्।
हाल लक्षण देखिएका संक्रमितमा कोरोनाको मात्र नभई अन्य संक्रमण र रोग पनि भएको उनको भनाई छ।
‘लक्षण देखिएका संक्रमितलाई हेर्ने हो भने कोरोनाको मात्र भन्दा पनि अन्य संक्रमण र रोग भएको पनि देखिन्छ। कोरोनाको मात्र लक्षण देखिएका संक्रमित सायद कमै होलान्,’ उनले भने।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले क्वारेन्टाइनको व्यवस्थापनमै ध्यान दिनुपर्नेमा उनको जोड छ। जोखिमपूर्ण क्षेत्रबाट आएका व्यक्तिलाई अनिवार्य रुपमा १४ दिनसम्म जसरी पनि क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताए।
उनले भने, ‘कोरोना नियन्त्रणका लागि क्वारेन्टाइन सबैभन्दा महत्वपूर्ण क्षेत्र हो। जोखिमपूर्ण क्षेत्रबाट आएका व्यक्तिलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राख्नैपर्छ।’
लकडाउन खुलेपछि कोरोना संक्रमणको जोखिम बढेको बताउँदै उनले अब झन् सर्तक हुनुपर्ने बताए।
‘मानिसहरु अहिले हेलचक्र्याई गरेर बाहिर निस्किरहेका छन्। तर अहिले नै निस्फिक्री हुने बेला भइसकेको छैन। अब त झन् सावधानी अपनाउनुपर्छ,’ उनले भने।
उनका अनुसार मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने, भीडभाड गर्ने, सार्वजनिक यातायातको निगरानी नगर्ने हो भने कोरोना समुदाय स्तरमा फैलन सक्छ।
दीर्घरोगी र वृद्धवृद्धामा जोखिम बढी हुने भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन डा बाँस्तोलाको सुझाव छ।