काठमाडौं- नेपालमा आजभन्दा ठिक ६ महिनाअघि पहिलो कोरोना संक्रमित भेटिएका थिए। ६ महिनाको अवधिमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगिसकेको छ।
शुरुमा संक्रमितको संख्या बढ्दै गएपछि हरेकको मनमा कोरोनाको ठूलै त्रास थियो। मानिसहरु घरबाट बाहिर निस्कन पनि धेरै पटक सोच्ने गर्थे। लकडाउन खुला भएपछि मानिसहरुको चहलपहल पनि सामान्य जस्तै बन्न थालिसकेको छ। भीडभाड बाक्लिँदै गएको छ।
६ महिना अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट नेपाल फर्किएका एक पुरुषमा कोरोना भेटिएको घोषणा गर्यो। माघ ९ गते संक्रमण पुष्टि भएपनि मन्त्रालयले त्यसको भोलिपल्ट माघ १० गते मात्र सार्वजनिक गरेको थियो। यो बेलासम्म नेपालका अधिकांश मानिस कोरोना भाइरसबारे खासै जानकार थिएनन्। चीनमा कोरोनाले महामारीको रुप लिँदै गएपछि त्यसको असर नेपालमा पनि विस्तारै पर्न थाल्यो।
चीनको वुहानमा संक्रमित र मृतकको संख्या तीव्र गतिले बढ्दै गएपछि नेपाली अभिभावकहरू सरकारलाई गुहान थाले। जसरी पनि आफ्ना सन्तानलाई उद्धार गर्नुपर्ने माग गर्दै अभिभावकहरु मन्त्रालयमा धर्ना दिन सम्म पुगे।
फागुन ३ गते चीनबाट १ सय ७५ जना नेपालीलाई उद्धार ल्याइएको थियो। उनीहरु सबैलाई क्वारेन्टाइनका लागि राखिएको थियो, भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा।
पहिलो संक्रमित भेटिएको ठिक दुई महिनापछि चैत १० गते दोस्रो संक्रमित भेटिए। फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीमा मन्त्रालयले कोरोना पुष्टि गरेको थियो।
उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन्। त्यो बेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन। यद्यपि उनी होम क्वारेन्टाइनमा थिइन्। मन्त्रालयका अनुसार उनी काठमाडौं निवासी हुन्। दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको थियो।
चैत १२ गते अर्को एक व्यक्तिमा कोरोना भेटियो। उनी कोरोना संक्रमित तेस्रो व्यक्ति थिए। उनी धादिङका ३२ वर्षका पुरुष हुन्। उनी चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट भित्रुवन विभानस्थल उत्रिएका थिए।
चैत १२ गतेसम्म कोरोनाको आशंकामा नेपालमा ६ सय ८७ जनाको पिसिआर परीक्षण भएको थियो।
काठमाडौं बाहिर पहिलो संक्रमित
चैत १४ गते काठमाडौं उपत्यका बाहिर पहिलो पटक संक्रमित भेटिए। उनी कोरोना संक्रमण पुष्टि हुने चौथो व्यक्ति हुन्। मन्त्रालयका अनुसार उनी दुबईबाट फर्किएका ३४ वर्षका पुरुषमा कोरोना भेटिएको थियो। उनी धनगढीका थिए। त्यसको भोलिपल्टै चैत १५ गते नेपालमा पाँचौं संक्रमित भेटिए। उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल फर्किएको मन्त्रालयले जनाएको छ। उनी बागलुङकी १९ वर्षीय युवती हुन्।
संक्रमितको संख्या बढ्दै गएपछि सरकारले चैत १६ गते लकडाउनको अवधि एक साता लम्व्याउने निर्णय गरेको थियो। चैत २० गते नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको थियो। उनी चैत ४ गते कतार एयरबाट नेपाल फर्किएका व्यक्ति हुन्। उनी पनि बागलुङकी हुन्।
संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको त्यो दिन
नेपाल कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको दिन थियो, चैत २२ गते। चैत २२ गते नेपालमा एकै पटक तीन जनामा कोरोना संक्रमण समेत पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार संक्रमण देखिएका तीन जना सुदूरपश्चिम प्रदेशका थिए। संक्रमितमध्ये दुई भारतबाट आएका र एक जनामा स्थानीय संक्रमण देखिएको मन्त्रायले जनाएको छ।
स्थानीय संक्रमण भएको व्यक्ति चौथौ संक्रमितको भाउजू थिइन्। ३४ वर्षीया उनी नेपालमा कोरोना भाइरसको स्थानीय संक्रमण देखिने पहिलो व्यक्ति हुन्। कैलालीका २९ भारतबाट फर्किएका वर्षीय पुरुष र कञ्चनपुरका ४१ वर्षीय अर्को पुरुषमा संक्रमण देखिएको हो।
संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको अवधि पुनः थप गर्यो। चैत २४ गते सरकारले बैसाख ३ गतेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको थियो।
चैत ३० गते पनि नेपालमा एकै दिन तीन जनामा कोरोना पुष्टि भएको थियो। मन्त्रालयका अनुसार उनीहरु सबै जना भारतबाट फर्किएका वीरगञ्जका नेपालीहरु थिए।
भारतबाट आएका उनीहरु वीरगञ्ज २ छप्कैयास्थित जामे मस्जिदमा बस्दै आएका थिए। उनीहरुसँगै २४ जना वीरगञ्ज आएका थिए। २४ जनामध्ये ३ जनामा कोरोना संक्रमण देखिएको थियो।
बैसाख १ गते कैलाली र रौतहटमा एक/एक जनामा कोरोना पुष्टि भयो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो। रौतहटको क्वारेन्टाइनमा रहेका युवामा कोरोना देखिएको थियो।
त्यसको भोलिपल्दै बैसाख २ गते काठमाडौंमै संक्रमित भेटिए। पेप्सीकोलाको टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएको थियो। लन्डनबाट फर्किएका एकै परिवारका तीनमध्ये दुई जनामा कोरोना पुष्टि भएको थियो। यो सँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको थियो।
बैसाख ५ गते नेपालमा एकैपटक १४ जनामा संक्रमण भेटियो। योसँगै नेपालमा संक्रमितको संख्या ३० पुग्यो। १४ मध्ये १२ जना उदयपुर र २ चितवनका थिए।
बैसाख ६ गते १ र ९ गते १० जनामा संक्रमण भेटिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ पुग्यो। बैसाख १० गते थप ३ जनामा कोरोना भेटियो र संक्रमितको संख्या ४५ पुग्यो।
यो हिसाबले पहिलो कोरोना देखिएको तीन महिनामा ४५ जना संक्रमित भेटिएको मन्त्रालयको तथ्यांक छ। दैनिक २/३ जना कोरोना संक्रमित भेटिनु यो बेलासम्म सामान्य नै भइसकेको थियो।
भक्तपुरमा भेटिएको पहिलो संक्रमित
बैसाख ३० गते भक्तपुरमा पहिलो पटक कोरोना देखिएको थियो। मन्त्रालयका अनुसार भक्तपुरका २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुषमा कोरोना देखिएको हो। यो बेलासम्म नेपालमा संक्रमितको संख्या २ सय १७ पुगेको थियो। यही दिन नै एकैदिन ८३ जना संक्रमित भेटिएका थिए।
पहिलो पटक स्वास्थ्यकर्मी संक्रमित
बैसाख ३० गते नै नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको थियो। कपिलवस्तुको तौलिहवास्थित एक अस्पतालमा कार्यरत एक नर्समा कोरोना भएको मन्त्रालयले पुष्टि गर्यो।
त्यसको भोलिपल्टै बैसाख ३१ गते पनि एक नर्समा कोरोना भेटियो। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया नर्सलाई कोरोना देखिएको हो। यसअघि उनी संक्रमितको उपचारमा सक्रिय थिइन्।
बैसाख ३१ सम्म आईपुग्दा कोरोना संक्रमण २१ जिल्लामा पुगिसकेको थियो।
पहिलो पटक संक्रमितको मृत्यु
नेपालमा पहिलो पटक संक्रमितको मृत्यु जेठ २ गते भएको थियो। सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरीको संक्रमणका कारण मृत्यु भएको थियो।
धुलिखेल अस्पतालमा मृत्यु भएकी ती सुत्केरीले गत बैसाख २३ गते त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। उनी २५ गते डिस्जार्च भएर घर सिन्धुपाल्चोक फर्किएकी थिइन्। तर श्वासप्रश्वासमा समस्या आएपछि उनलाई स्थानीय अस्पतालमा लगिएको थियो। समस्या जटिल भएपनि उनलाई धुलिखेल अस्पताल लगिएपनि अस्पताल पुग्नै लाग्दा मृत्यु भएको थियो।
त्यसको दुई दिनपछि बाँकेमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भयो। योसँगै नेपालमा मृतकको संख्या दुई पुगेको थियो। उनको क्वारेन्टाइनमा रहेकै बेला मृत्यु भएको थियो।
मन्त्रालयका अनुसार बाँके नरैनापुर ५ का २५ वर्षका पुरुषको मृत्यु भएको थियो। उनी बैसाख ३० गते भारतबाट नेपाल आएका थिए। उनलाई राति देखि नै ज्वरो आउने र झाडापखालाको समस्या थियो।
संक्रमितको संख्या बढ्दै जाँदा चार महिना अर्थात् जेठ १० गते आईपुग्दा नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको थियो।
संक्रमितको संख्या १ सय बढी
जेठ १४ गते नेपालमा एकै दिन एक सय १४ जना संक्रमित भेटिए। एकैपटक यति धेरै संख्यामा संक्रमित थपिएको यो नै पहिलो पटक थियो। यो सँगै जेठ १४ गते संक्रमितको संख्या ८ सय ८६ पुग्यो।
जेठ १४ सम्म आईपुग्दा नेपालमा चार जनाको मृत्यु र १ सय ८३ जना उपचारपछि डिस्जार्च भइसकेका थिए। यसको भोलिपल्दै जेठ १५ मा १ सय ५६, जेठ १६ मा १ सय ७०, जेठ १७ मा १ सय ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।
यसपछि कोरोना संक्रमितको संख्या दैनिकजसो नै एक सयभन्दा बढी संक्रमितको संख्या पुग्न थाल्यो। जेठ १९ गते संक्रमितको संख्या ह्वात्तै बढ्दै एकै दिन २ सय २६ जना भेटिए। जेठ २० मा २ सय ८८, जेठ २१ मा २०१, जेठ २२ मा ३३४ जना संक्रमित भेटिए।
बढ्दै गएको कोरोना संक्रमितको संख्या असार अन्तिमबाट घट्न थालेको देखिन्छ। मन्त्रालयको तथ्यांकअनुसार असार २७ गते ७० जना संक्रमित भेटिएका थिए। करीब डेढ महिनापछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय तल झरेको थियो।
नेपालमा कोरोना देखिएको ६ महिनाको अवधिमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। ४५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगको छ।
सरकारले कोरोनाको आशंकामा यो ६ महिनाको अवधिमा ३ लाख ३५ हजार ८२ जनाको पिसिआर परीक्षण गरेको छ।