बुधबार दिउसो ३ बजे बलम्बुस्थित नेपाल एपिएफ अस्पतालको आइसोलेसन वार्डको ठिक बाहिर एक जना चिकित्सक व्यक्तिगत सुरक्षा सामग्री अर्थात् पिपिई लगाउँदै छन्।
उनी सहित एक नर्स पनि पिपिई लगाएर तयार हुँदै छिन्।
आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितको उपचारका लागि चिकित्सक र नर्स तयार हुँदै गरेको दृश्य हो यो। यो दृश्य काठमाडौंको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालको हो। हाल यो अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालको नामले समेत चिनिन्छ।
यो अस्पतालमा हाल ३३ जना संक्रमित उपचाररत छन्। यी ३३ जना संक्रमितको उपचार तथा स्वास्थ्य परीक्षण दैनिक यसरी नै हुने गर्छ।
सुरुवाती दिनमा संक्रमितको संख्या बढ्दै गएपछि यस अस्पतालले पनि पूर्वतयारी अघि बढाएको थियो। कोभिड–१९ युनिफाइड अस्पताल हुनुअघि यस अस्पतालले कोरोना उपचारका लागि ६ शय्याको आइसोलेसन र २ आइसियुको व्यवस्था गरेको थियो।
आइसोलेसन वार्ड भित्र जो कोही जान पाउँदैनन्। त्यहाँ जान व्यक्तिगत सुरक्षा कवच पिपिई अनिवार्य लगाउनुपर्छ। स्वास्थ्यखबरका फोटो पत्रकार निमेषजंग राईले पनि पूर्ण सावधानी अपनाउँदै पिपिई सहित यो दृश्य कैद गरेका हुन्। आइसोलेसन वार्डभित्र कैद गरिएका यी दृश्यहरु हेरौंः
कोरोना संक्रमितको उपचारका लागि यस अस्पतालले १ सय २० शय्याको आइसोलेसन छुट्याएको छ। गम्भीर खालका संक्रमितको उपचार लागि भने २० वटा आइसियु शय्याको व्यवस्था गरिएको छ।
यस अस्पतालमा कोरोना संक्रमितको उपचार हुन थालेको साढे दुई महिना भयो। यो अवधिमा हालसम्म १ सय २८ जना संक्रमित उपचारपछि डिस्जार्च भएका छन्। अस्पतालले संक्रमितको उपचारका लागि चिकित्सक सहित २७ जना स्वास्थ्यकर्मीको तीन वटा कोरोना ट्रिटमेन्ट टिम खटाउने गरेका छन्।
२७ जनाको एक टोली लगातार १४ दिनसम्म उपचारमा खटिन्छ अनि १४ दिन क्वारेन्टाइनमा बस्छ। त्यो टोली १४ दिन क्वारेन्टाइनमा रहेको बेला अर्को २७ जनाको टोली पुनः उपचारमा खटिने गर्छ।
कोरोना संक्रमितको उपचारमा खटिँदा आफूहरुले पूर्ण सावधानी अपनाउने गरेको अस्पतालकी सिनियर सिस्टर सुनिता श्रेष्ठ बताउँछिन्।
संक्रमितको उपचारपछि पनि लगाइएको पिपिई पूर्ण सावधानीपूर्वक निकालेर नष्ट गरिन्छ।
प्रत्येक वार्डमा सिसी टिभी जडान गरिएको छ। अस्पतालले उक्त क्यामेराद्वारा बिरामी तथा वार्डमा भएका गतिविधि २४ सैं घन्टा निरन्तर अनुगमन गर्ने गर्छ।
देशभर कोरोना संक्रमितको संख्या घट्दै गएका बेला यस अस्पतालमा पनि संक्रमितको संख्या घट्दै गएको छ।
भिडियो :
सबै तस्बिर र भिडियो : निमेष जंग राई