लकडाउन खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढिरहेको छ। मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद, गुरुद्वारा, चर्च सबै धार्मिक स्थलमा पनि भीडभाड देखिन थालेको छ। यस्तो अवस्थामा कोरोना भाइरस सर्ने जोखिम पनि उत्तिकै रहन्छ। आजको कार्यक्रममा धार्मिक स्थलमा जाँदा हुने जोखिम, जोगिने उपायबारे चर्चा गर्नेछौँ।
चैत १० गतेदेखि घरभित्रै बसिरहेका मानिसहरुले विस्तारै आफ्नो जीवनचर्या सुरु गर्न थालेका छन्। घरमै धार्मिक कार्य तथा पूजापाठ गरिरहेका मानिसहरु फेरि धार्मिक स्थलमा जाने क्रम बढ्न थालेको छ।
धार्मिक स्थलमा धेरै मानिस एकै पटक जम्मा हुने र धेरैतिर जाने हुँदा संक्रमण एकै पटक धेरैलाई फैलने खतरा रहन्छ। दक्षिण कोरियामा पनि चर्चबाट कोरोना भाइरस एकै पटक धेरैलाई फैलिएको थियो।
कोरोना भाइरसको संक्रमण सुरु भएसँगै हामीले आफ्नो जीवनशैलीलाई नवसामान्यीकरण गर्दै अगाडि बढ्नुपर्ने हुन्छ।
विश्व हिन्दु महासंघ नेपालकी महासचिव अस्मिता भण्डारीले मानिसको स्वास्थ्य पहिलो प्राथमिकता भएकाले सकेसम्म घरमै पूजापाठ गर्न सुझाव दिइन्। उनले मन्दिर जानैपर्ने भएमा सुरक्षित रहँदै सामाजिक दूरी कायम गर्न पनि आग्रह गरिन्।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरका अनुसार लकडाउन खुकुलो बनाइनुको अर्थ कोरोना भाइरसको संक्रमण आउनुभन्दा अघिको जस्तो सामान्य अवस्था होइन। उनले हाम्रो वरिपरि अझै पनि कोरोना भाइरस रहिरहेकाले पुनः यसको संक्रमण फैलन सक्ने बताए।
उनले अहिलेको अवस्थामा थप सचेत हुँदै अन्य मानिससँग दूरी कायम गर्न, भीडभाडमा नजान, मास्क प्रयोग गर्न, बारम्बार साबुनपानीले हात धुन र खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनोले नाकमुख छोप्न सुझाव दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी लकडाउन खुकुलो भए पनि जोखिम कम नभएको बताउँछन्।
संक्रमणबाट जोगिनका लागि सचेतता अपनाउन आवश्यक छ। अरुबाट आफूलाई संक्रमण नहोस् र अरुलाई पनि आफूबाट संक्रमण नहोस भनेर सतर्क रहन उनले अनुरोध गरे।