कोरोना भाइरस संक्रमण हुने जोखिम न्यूनीकरण गर्न सरकारले गत चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो। त्यसयता १ सय १० दिन सार्वजनिक यात्रुबाहक सवारीसाधन पनि चलेनन्। असार २६ गते सरकराले काठमाडौं उपत्यका र अन्य जिल्लाभित्र यात्रुबाहक सवारी साधन चलाउन दिने निर्णय गरेको छ।
सुरक्षाका मापदण्ड अपनाएर जिल्लाभित्र ट्याक्सी तथा बस सञ्चालन गर्न दिने सरकारको निर्णय भएसँगै आइतबारदेखि काठमाडौं उपत्यकामा बस गुड्न थालेका छन्।
तर, व्यवसायीले भने स्वास्थ्य सुरक्षाका सुनिश्चिता गर्नुपर्ने माग गरेका छन्। उनीहरुले चालक, सहचालकको कोरोना बिमा हुनुपर्ने, पिसिआर जाँचको व्यवस्थामा अन्योल रहेको भन्दै सरकारले प्रष्ट पार्न आग्रह गरेका छन्। यही विषयमा अन्योल रहेको भन्दै अधिकांश यातायात व्यवसायीले अझै पनि सवारी साधन चलाउन आनाकानी गरिरहेका छन्। केही व्यवसायीले भने सुरक्षाका उपाय अपनाएको भन्दै सवारी चलाउन थालेका पनि छन्।
सरकारले लकडाउनपछि सुरक्षित रुपमा यातायातका साधन सञ्चालन गर्न के तयारी गरेको छ त? यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार विभागले स्वास्थ्य मन्त्रालयले नै जारी गरेको सुरक्षा निर्देशिकालाई आधार बनाएर सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धी निर्देशिका बनाइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी सार्वजनिक सवारी साधन सञ्चालन गर्न सरकारले अनुमति दिनुलाई कोरोनाको जोखिम सकिएकै रुपमा बुझ्न नहुने बताउँछन्। उनले यात्रु र चालक दुवैले सुरक्षाका मापदण्ड पालना गरेर मात्र यात्रा गर्नुपर्ने बताए।
सरकारले सार्वजनिक सवारीसाधन चलाउन अनुमति दिए पनि चालक र सहचालकहरुका गुनासा भने फरक छन्।
कोरोना संक्रमणको जोखिमलाई विचार गरेर गाडी चलाउने तयारी अधिकांश व्यवसायीले पूरा गर्न नसकेको बताउँछन् काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चालकका रुपमा काम गर्दै आएका विवश बानियाँ।
सहचालक भुपेन्द्र घिमिरे पनि स्वास्थ्य सुरक्षाका सबै उपाय अहिले सञ्चालनमा आइरहेका सबै सार्वजनिक सवारीका साधनले पूरा गर्न नसकेको बताउँछन्।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा जोस भ्यान्देलियरका अनुसार लकडाउन खुकुलो बनाइनुको अर्थ कोरोना भाइरस संक्रमण सुरु हुनुअघिको जस्तो सामान्य अवस्था होइन। हाम्रो वरिपरि अझै कोरोना भाइरस रहिरहेकाले पुनः यसको संक्रमण फैलन सक्ने उनले बताए।
अहिलेको अवस्थामा थप सचेत हुँदै दुरी कायम गर्न, भिडभाडमा नजान, मास्क प्रयोग गर्न, बारम्बार साबुनपानीले हात धुन र खोक्दा वा हाछ्यूँ गर्दा कुहिनोले नाकमखु छोप्न सुझाव दिन्छन् डा भ्यान्देलियर।
लकडाउन कायम रहँदासम्म सार्वजनिक सवारीका बसमा ५० प्रतिशतसम्म थप भाडा लिएर कूल सिट क्षमताको आधामात्र हुने गरी संचालन गर्न सरकारले अनुमति दिएको छ। ट्याक्सीका हकमा भने एकै परिवारको भए चार जनासम्म र फरक फरक परिवारका भए दुई जनामात्र चढ्न पाउने नियम बनाएको छ। यात्रुबाहक बसमा सिटबीच सामाजिक दूरी कायम हुने गरी बस्ने व्यवस्था गरेर चलाउन भनिएको छ।
सरकारको यो निर्णयको समर्थन र विरोध दुवै भइरहेको छ। अझै कोरोनाको त्रास बाँकी नै रहेको भन्दैकेही मानिसहरुले सार्वजनिक सवारी साधन सञ्चालन गर्न हतार गर्न नहुने बताइरहेका छन् भने केही मानिसहरुले लकडाउनले धेरै मानिसको जनजीवन कष्टकर भइरहेकोले अब कोरोनासँगै बाँच्न सिक्नुपर्ने बताउँदै आएका छन्।
तरपनि हामी संक्रमणबाट जोगिनका लागि सचेतता अपनाउन आवश्यक छ। अरुबाट आफूलाई संक्रमण नहोस् र अरुलाई पनि आफूबाट संक्रमण नहोस् भनेर सर्तक रहनुपर्ने बताउँछन् स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारी।